बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
महिला यू–१९ एसिया कप क्रिकेट

पाकिस्तानलाई जिल्याउँदै नेपाल सेमिफाइनलमा, मंगलबार भारतसँग भिड्ने

सोमबार, ०१ पुस २०८१, १५ : १५
सोमबार, ०१ पुस २०८१

काठमाडौँ । नेपाली टोली एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको ‘सुपर–४’ चरण (सेमिफाइनल) मा प्रवेश गरेको छ । मलेसियामा जारी उक्त प्रतियोगिताको सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी पाकिस्तानलाई ६ विकेटले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । 

नेपाल प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ । उक्त समूहमा दुई चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान पनि छन् । पाकिस्तानी टोली आफूले खेलेको दुवै खेलमा पराजित भएकाले नेपाल अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको पहिलो दिन आइतबार खेलिएको खेलमा भारतले पाकिस्तानलाई नौ विकेटले हराएको थियो । भारत दुई अंकसहित पहिलो र नेपाल दुई अंकसहित दोस्रो स्थानमा छन् । नेपालले आफ्नो दोस्रो खेल मंगलबार भारतसँग खेल्ने छ । उक्त खेलमा विजयी भए नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गर्नेछ ।

टस जिती ब्याटिङको निर्णय लिएको पाकिस्तानले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १९ ओभरमा केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो । 

नेपालको जितमा कप्तान पूजा महतोले अविजित ४७ रनको योगदान गरिन् । उत्कृष्ट पाली खेलेकी कप्तान पूजाले ४७ बलको सामना गरी तीन चौका पनि हिर्काइन् । सोनी पाख्रिनले पनि टोलीको खातामा १३ रन थपिन् । उनले २० बलमा एक चौका प्रहार गरिन् ।

ओपनर सावित्री धामीले आठ रन बटुलिन् । सिमाना केसीले पनि टोलीका लागि १२ बलमा अविजित १२ रनको योगदान गरिन् । ओपनर साना प्रविनले पनि १५ बलमा एक चौकाको मद्दतले १० रन बनाइन् । नेपालले अतिरिक्त रूपमा पनि १५ रन पायो । 

त्यसअघि, पाकिस्तानका लागि ओपनर कोमल खानले सर्वाधिक ३८ रन बनाएकी थिइन् । उनले ४४ बलमा दुई चौका पनि प्रहार गरिन् । महाम एनिसले पनि टोलीको खातामा अविजित २९ रन थपिन् । उनले ३७ बलमा दुई चौका हिर्काइन् । 

राविल फरहानले १३ र कप्तान जुफिसान आयाजले १२ रन बनाए । फातिमा खान ६ रनमा अविजित रहिन् । नेपाली टोलीकी बलर पूजा महतोले दुई विकेट लिइन् । रचना कुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले पनि एक–एक विकेट हात पारे । 

आठ दिनसम्म चल्ने प्रतियोगितामा ६ वटा टोलीको सहभागिता रहेको छ । सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका रहेका छन् । प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको ‘सुपर–४’ चरणमा प्रवेश गर्नेछन् । प्रतियोगितामा वरीयता निर्धारणका लागि पनि खेल हुनेछ । 

प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन उपकप्तान, एलिसा कुमारी यादव, साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्ण विक, अनु कडायत र किरण कुमारी कुँवर छन् ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप