लुम्बिनीको कार्यव्यवस्था परामर्श समितिमा हेरफेर
मङ्गलबार, १६ पुस २०८१, २० : ३६

बुटवल । लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकले मंगलबार कार्यव्यवस्था परामर्श समिति पुनर्गठन गरेको छ ।
समितिमा एमालेबाट तुलसीप्रसाद चौधरी, यमुना रोका तामाङ, कांग्रेसबाट जमुना ढकाल र निमा गिरी, माओवादीबाट इन्द्रजित थारू, राप्रपाबाट मीनाकुमारी श्रेष्ठ, जनमतबाट सुमन शर्मा रायमाझी, नागरिक उन्मुक्तिबाट राजकुमार चौधरी, लोसपाबाट हेमा बेल्वासे र जसपा नेपालबाट भण्डारीलाल अहिर परेका छन् ।
लुम्बिनी प्रदेशसभा नियमावली नियम १४ (१) अनुसार सभामुखको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गर्न सक्ने व्यवस्था छ । सोहीअनुसार पहिलो बैठकमा सभामुख तुलाराम घर्ती मगरले कार्यव्यवस्था समिति हेरफेर गरेको जानकारी गराएका हुन् ।
चौथो अधिवेशन अन्त्य भएको साढे तीन महिनापछि लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशन सुरु भएको हो । दोस्रो बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।