आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

छात्रवृत्तिका लागि कम आवेदन पर्‍यो, प्रधानमन्त्रीद्वारा आह्वान

ढिला भएको कारण देखाउँदै चीन सरकारले भने थप आवेदन लिन मानेन
मङ्गलबार, १३ फागुन २०८१, १४ : ०१
मङ्गलबार, १३ फागुन २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छात्रवृत्तिका लागि कम आवेदन परेको भन्दै छिटो आवेदन दिन आह्वान गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाट लेख्दै उनले शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन कम परेको बताएका हुन् । 

आवेदन खुलाइएकोमा आवश्यक सङ्ख्या नपुगेका कारण अन्डरग्रेजुएट एमबीबीएस १ जना, पोस्ट ग्रेजुएट इन्जिनियरिङमा ७ जना, एग्रीकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आइटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जनाको सिट अझै खाली रहेको बताएका हुन् । 

ती सिटहरूमा छात्रवृत्तिको लागि छिटो भन्दा छिटो (एक दुई दिनभित्रै) आवेदन दिन समेत प्रधानमन्त्रीले अनुरोध गरेका छन् । तर, प्रधानमन्त्रीले आवेदन आह्वान गरेको सिटमा चीन सरकारले भने थप आवेदन लिन नमानेको पाइएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतका अनुसार चीन सरकारले विभिन्न ७१ सिटका लागि नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो । ती मध्ये ५१ सिटमा फुलफिल भएका छन् । बाँकी २० सिटमा आवेदन दिएरपनि अनलाइन फारम नभर्दा खाली भएको थियो । 

शिक्षा मन्त्रालयले बाँकी रहेका २० सिटका लागि पुनः आवेदन दिनका लागि माग गरेको थियो । तर, चीन सरकारले ढिला भइसकेकाले थप आवेदन लिन नसकिने प्रस्ट पारेको थियो । प्रधानमन्त्री ओलीले तिनै सिटका लागि आवेदन माग गर्दै पोस्ट गरेका हुन् । 

चीन सरकारले शैक्षिक वर्ष २०२५÷२६ का लागि ७१ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भन्दै नेपाल सरकारलाई पत्राचार गरेको थियो । सोही आधारमा शिक्षा मन्त्रालय अन्तर्गत छात्रवृत्ति शाखाले २०८१ पुस ७ गते आवेदन आह्वान गरेको थियो । आवेदन आह्वान गरेसँगै तोकिएको सिट अनुसार नै आवेदन परेर मन्त्रालयले छनौट समेत गरेको थियो । माघ २२ गते एक सूचना प्रकाशित गर्दै मन्त्रालयले छनौट भएकाहरूको सूची सार्वजनिक गरेको थियो ।

छनोट भएका उम्मेदवारहरूलाई सात दिनभित्रमा मार्फत अनलाइन फारम भरी मन्त्रालयमा समेत जानकारी गराउन भनेको थियो । तर, २० सिटका लागि आवेदन दिएकाहरूले न मन्त्रालयलाई जानकारी गराए न त अनलाइन फारम नै भरे । त्यसपछि त्यो सिटहरू खाली भएका हुन् । 

खाली भएका सिटहरूमा पुनः आवेदन भर्नका लागि सूचना आह्वान गर्न माग गरेको थियो । तर, नेपालस्थित चिनियाँ दूतावासले ढिला भइसकेको भन्दै थप समय दिन नसकिने प्रस्ट पारेको थियो । 

शिक्षा मन्त्रालयका अधिकारीहरूले त्यही सिटका प्रधानमन्त्रीले आवेदन दिन भनेको जनाए । शिक्षा मन्त्रालयको तर्फबाट पुनः आवेदनका लागि पहल गर्दा हुन नसकेको र प्रधानमन्त्रीको तर्फबाट पहल भए राम्रै हुने मन्त्रालयको एक अधिकारीको भनाइ छ । 

‘हामीले परराष्ट्र मन्त्रालय मार्फत पुनः आवेदनका लागि अनुरोध गरेका थियौँ । तर, पुनः आवेदनका लागि समय दिन नसकिने जवाफ आएको थियो । अब प्रधानमन्त्रीको तहबाट पहल भएर लिने रहेछ भने राम्रै भयो,’ ती अधिकारीले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप