सत्यराज आचार्य अब साहित्यकार ‘सराज’ पनि
सत्यराज आचार्य गायक तथा संगीतकारका रूपमा सर्वपरिचित छन् । फिल्म तथा म्युजिक भिडियोसमेत अभिनय गरेका उनको यो अर्को परिचय हो । गायक, संगीतकार र कलाकारपछि उनले फेरि अर्काे परिचय थपेका छन्, साहित्यकार ।
बुधबार महाशिवरात्रिको दिनबाट उनले साहित्यिक क्षेत्रमा पनि आफूलाई दर्ज गरे । हाइकु संग्रह ‘१४ फागुन’ लिएर बुधबार फागुन १४ कै दिन महाशिवरात्रिमा देखापरे ।
कृति ‘१४ फागुन’ महाशिवरात्रिको दिन पर्नु संयोग मात्र हो । तर, फागुन १४ नै पारेर भने सार्वजनिक गरिएको हो । किनभने १४ फागुन भजन शिरोमणि भक्तराज आचार्यले यो संसारबाट सदासदाका लागि बिदा लिएको दिन हो ।
कृति ‘१४ फागुन’ बुवाकै विषयमा लेखिएको हाइकु संग्रह भएकाले यसै दिन सार्वजनिक गरिएको लेखक आचार्य बताउँछन् ।
‘बुवा (भक्तराज) २०८० फागुन १४ गते बित्नुभएको थियो’, आचार्यले भने, ‘उहाँको वार्षिकी पूण्यतिथि पारेर मैले कृति ल्याएको हुँ ।’ कृतिको नाम ‘१४ फागुन’ पनि यसै दिनको सम्झनाका लागि राखिएको आचार्यले बताए ।
भक्तराजका जेठा छोरा हुन् सत्यराज । बुवाको निधनपछि उनको वियोगमा आफ्नो मनमा उब्जिएका भावना उनले कृति ‘फागुन १४’मा उतारेका हुन् । यो कृतिमा ९ च्याप्टरमा ८२ वटा हाइकु छन् । भक्तराजले यो धर्तीबाट ८२ वर्षको उमेरमा बिदा लिएकोले कृतिमा ८२ हाइकु राखिएको पनि उनले खुलाए । ‘१४ फागुन’ उनले बुवाको सम्झनामा ल्याएको भए पनि बुवाका अलवा अन्य विषयका केही हाइकु पनि छन्, जुन उनले पढ्नेलाई दिक्क नलागोस् भनेर समेटिको बताए ।
‘मैले कृतिमा मायाप्रीति, आँखाका, जीवन दर्शन र राजनीति केही हाइकुसमेत राखेको छु’, उनले थपे ।

हाइकु लेखनमा आफूलाई कवि विप्लव प्रतीकबाट प्रेरणा मिलेको उनले बताए । करिब एक बर्षअघि विप्लवसँग एउटा यात्रामा सँगै निस्किएका थिए उनी । त्यतिबेला विप्लव हाइकु संग्रह ‘शाडेनफ्रोएडा’को तयारीमा थिए । यात्रामा उनले त्यसको ड्राफ्ट देखे । उनले हाइकुको विषयमा सोधे, विप्लवसँग बुझे । विप्लवबाट नियमसमेत बुझेपछि उनले त्यहीँ एउटा लेखेर देखाए । विप्लवले उनको लेखनको प्रशंसा गरे । केही समयपछि विप्लवको ‘शाडेनफ्रोएडा’ विमोचमा उनलाई पनि निम्तो आयो । उनी गए । कार्यक्रमबाट घरमा फर्किएपछि उनलाई पनि हाइकु लेख्न मन लाग्यो । उनले विप्लवले बताएको नियमअनुसार लेख्न थाले ।
‘एक, दुई गर्दै त्यो रात मैले २०, २२ वटा हाइकु लेखेछु’, उनले भने, ‘लेख्दै राख्दै गर्दा १५० वटा भएछ ।’ तीमध्ये उत्कृष्ट ८३ मात्र कृतिमा समेटिएका उनले सुनाए । ‘म बाहिर कार्यक्रममा जाँदा प्लेनमा लेख्थे । भन्छन्, ‘फुर्सद भयो कि लेख्थेँ । संग्रहमै कुन हाइकु कहाँ र कतिबेला लेखेको उल्लेख गरेको छु ।’
उनले लेखेका १५० हाइकुबाट ‘१४ फागुन’ का लागि ८२ छान्ने काम कवि विप्लवले नै गरेका थिए ।
- बुवाकै विषयमा किन ?
सत्यराजलाई बुवा (भक्तराज)को विषयमा हाइकु लख्न मन लाग्नुको उनीसँग दुई वटा कारण छन् । बुवाको निधनपछि एक्लोपन, पीडा र छटपटी अनि भक्तराज भजन शिरोमणीका रूपमा सर्वप्रिय व्यक्ति ।
‘मलाई प्रत्येक पल बुवाविना बाँच्नै गाह्रो भएको थियो । उहाँका विभिन्न क्रियाकलाप सम्झना आउँथ्यो । अनेक् तर्कना खेल्थे’, उनी अगाडि भन्छन्, ‘आफूसँग सधैँ राख्न मात्र होइन, उहाँलाई रुचाउनेले पनि पुस्तक राखेर त्यही महसुस गरून् भन्ने सोचेँ ।’ बुवाको शोक हाइकुमार्फत शक्तिमा बदलेको उनी बताउछन् ।
- नयाँ नाम
गायन, संगीत र अभिनयमा सत्यराजलाई यही नामले चिन्छन् । साहित्य क्षेत्रका लागि भने उनले नयाँ नाम जुराएका छन् ‘सराज’ । यही नामबाट उनले कृति ‘१४ फागुन’ ल्याएका हुन् । साहित्यमा छोटो र सटिक नाम राख्ने परम्परा नै छ । उनले पनि त्यसै गरे । यसरी नाम बनाउँदा मीठो पनि सनिएको र मुल पहिचान पनि समेटिएको उनको बुझाइ छ ।
_uxvuus3l33_b6P20Ew7qo.jpg)
- वर्षमा एउटा साहित्य बाचा
करिब ३१ वर्षदेखि गीतसंगीतमा सक्रिय उनले ३ हजार बढी गीतमा स्वर दिइसकेका छन् । करिब एक हजार गीतमा शब्द तथा संगीत गरेका उनी करिब आधा दर्जन फिल्मका कलाकार पनि हुन् ।
‘१४ फागुन’बाट साहित्य यात्रा सुरु गरेका उनले अब गीतसंगीत, अभिनयको निरन्तरतासँगै कम्तीमा वर्षमा एउटा कृति ल्याउने बाचा गरेका छन् । त्यो हाइकु नै हुन्छ भन्ने छैन । कथा, गीत, गजल, उपन्यास जे पनि हुन सक्ने उनी बताउँछन् । ‘खासमा मेरो पहिलो गजलसंग्रह निकाल्ने योजना थियो’, उनले भने, ‘समयले हाइकुबाट सुरुवात गरायो ।’
हाइकुबाट यात्रा सुरु भए पनि एकदमै खुसी छन् उनी । अब भने अनौठो प्रेमकथामा उपन्यास लेख्ने उनको इच्छा छ ।
साहित्य यात्रा सुरुवातमै उनले रोमाञ्चित महसुस गरेका छन् । किनभने पहिलो कृति विमोचन कार्यक्रममा उनले १८ वटा हाइकु सुनाउन भ्याए । प्रत्येकमा ‘वान्समोर’, ताली र हुटिङ राम्रो थियो । जुन कहिल्यै बिर्सन नसक्ने उनी बताउँछन् ।
‘सुरुमा कार्यक्रममा मैले गीत गाउने भनिएको थियो । साहित्यको कार्यक्रममा साहित्य बाचन गरौँ भनेँ’, उनी थप्छन्, ‘मेरो उद्देश्य बाचनमार्फत पाठकले साहित्य बोकेर जाहोस् भन्ने थियो ।’ साहित्यमा कलम चलाएपछि पाठकको लोभ हुन थालेको उनले बताए ।
गीत, संगीत, अभिनय र अहिले साहित्य सबै विधालाई अगाडि बढाउन सकिन्छ छ र ? प्रश्नमा उनले उत्तर दिए, ‘म कलाका विभिन्न पाटोमा डुबुल्की मार्न चाहने एउटा पागलपन भएको कलाकार हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण