छिचिमिराहरू निस्केर उड्दैमा देवल ढल्न सक्दैन

नेपालबाट राजतन्त्र कुनै व्यक्ति, गुट वा नेताको इच्छाले मात्र समाप्त भएको होइन, ३ करोड जनताले निर्वाचन गरेको नेपालको संविधान सभाको ऐतिहासिक बैठकको निर्णय अनुसार नेपालको राजतन्त्रलाई उन्मूलन गरिएको हो र गणतन्त्र नेपालको घोषणा गरिएको हो । यो नेपालको जन निर्वाचित संविधान सभाले गरेको ऐतिहासिक निर्णय हो ।
यो ऐतिहासिक निर्णय विदेशीको इसारा बमोजिम पैसा र प्रलोभनबाट खडा गरिएको वा गरिने भीडको असंवैधानिक, जनविरोधी, युग विरोधी र लोकतन्त्र विरोधी प्रलापहरूबाट बदलिने वाला छैन । यो नेपाली जनताले नेपाल राष्ट्रको दीर्घ भविष्यलाई समेत विचार गरेर गरेको निर्णय हो ।
अब नेपालमा जहिले सम्म नेपाल राज्य रहने छ, त्यस बेला सम्म गणतन्त्र रहने छ । यसलाई कुनै स्वदेशी विदेशी षडयन्त्र र प्रपञ्चबाट कसैले हल्लाउन सक्तैन । यो गणतन्त्र आज पुँजीवादी गणतन्त्रका रूपमा छ, यो अझ अघि बढेर समाजवादी गणतन्त्रमा रूपान्तरण हुनेछ ।
तर इतिहासले कूडा करकट बनाएर फ्याँकी सकेका तत्त्वहरूलाई कुनै मतिभ्रष्ट, स्वार्थी र विदेश परस्त शक्तिहरूको क्षणिक वितण्डाबाट पुनर्स्थापना गर्नु सम्भव छैन । गणतन्त्र नेपाल हिमशैल सगरमाथा झैँ अडिग र अटल भएर रहने छ । छिचिमिराहरू निस्केर उड्दैमा जसरी देवल ढल्न सक्दैन, केही मतिभ्रष्ट युग विरोधी तत्त्वहरूको सल्वलाहटबाट यो ३ करोड नेपालीको रगत पसिनाबाट सृजित गणतन्त्रको देवल पनि डग्मगाउँन सक्दैन।
सम्पूर्ण गणतन्त्रवादीहरू, कम्युनिस्ट क्रान्तिकारीहरू, वामपन्थीहरू, समाजवादीहरू, क्रान्तिकारी लोकतन्त्रवादीहरू तथा समस्त देशभक्तहरू ! गणतन्त्रका निम्ति निरन्तर २००६ साल देखि संघर्ष गर्दै आउनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू ! तपाई हामीले यो देशमा गणतन्त्र घोषणा गरेको १६ वर्ष भएको छ ।
यो लामो अवधिमा देशमा व्यवस्था मात्र होइन जनताको सामाजिक–आर्थिक अवस्थालाई नै बदल्न सक्नु पर्ने थियो । क्रान्तिकारी भूमिसुधार, कृषि क्रान्ति, कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गर्नुपर्ने थियो, भूमिहीन र गरिब किसानलाई जमिनका मालिक बनाउनु पर्ने थियो । शिक्षा, स्वास्थ्यमा आमूल परिवर्तन गर्नुपर्ने थियो । राष्ट्रिय औद्योगिकीकरण लहर सिर्जना गर्नुपर्ने थियो । देशमा व्यापक रूपले रोजगारी सृजना गर्नुपर्ने थियो । युवाहरूलाई स्वदेशमै काम पाउने व्यवस्था गर्नुपर्ने थियो । भ्रष्टाचारलाई जरैदेखि उखेल्न राष्ट्रव्यापी अभियान चलाउनु पर्ने थियो । देशको सिमानाको रक्षा गर्न दृढ हुनुपर्ने थियो । राष्ट्रियता माथि भइरहेका गलत क्रियाकलाप विरुद्ध दृढ भएर उभिनु पर्ने थियो । प्रतिगमनका आधारहरूलाई जरै देखि उन्मूलन गर्नुपर्ने थियो ।
तर गणतन्त्रवादी शासकहरूका तर्फबाट उपरोक्त कामहरू केही पनि हुन नसक्नुका कारणले आज जनतामा असन्तोष, विरोध, निराशा र आक्रोश फैलिएको छ । यी ठुला पार्टीका शासकहरू प्रति अहिले जनता क्रुद्ध बनेको स्थिति छ । यही कुराबाट फाइदा उठाउँदै राजतन्त्रवादीहरू हिजोका हत्यारा र जल्लादहरूलाई “फूलको वर्षा” गरेर “पवित्र घोषित” गर्दै पुनः वंशगत शासन ल्याउन सकिन्छ कि भनेर सडकमा निस्कन थालेका छन् । नेपाली जनताले सुखानी हत्याकाण्ड, इभाङ हत्याकाण्ड, भिमान हत्याकाण्ड र खोकु छिन्ताङ हत्याकाण्डलाई बिर्सेका छैनन् । पिस्कर हत्याकाण्ड बिर्सेका छैनन् । पोखरामा भएको नमिता, सुनिता हत्याकाण्ड त झनै बिर्सेका छैनन् ।
पञ्चायतकालमा देशै भरि भएका यी हत्याकाण्डका नाइके त्यस बेलाका राजा र अधिराजकुमारहरू हैनन् र ? । दरबार हत्याकाण्डका मतियारहरू यिनीहरू आफै होइनन् ? १९ माघको सत्ता पलट गरेर देशलाई कालरात्रि तिर जबरजस्ती धकेल्ने तानाशाही यिनै ज्ञानेन्द्र शाह होइनन् र ? त्यस बेलाको संविधानलाई कुल्चिने र देशमा तानाशाही लाद्ने यिनै होइनन् र ? आज पूर्वपञ्च र केही मतिभ्रष्ट बुद्धिजीवीहरूको एउटा सानो झुण्डले “फूलको वर्षा” गर्ने बित्तिकै ती तानासाहहरू आज “लोकप्रिय” बन्न सक्छन् ? तिनै अत्याचारले चरम सीमा छुन थालेपछि राजतन्त्र उन्मुलन गरेको होइन र ? के आमाको गर्भबाट जन्मी सकेको बच्चालाई फेरी पेटमा नै फर्काउन सम्भव हुन्छ ? किमार्थ सम्भव हुँदैन र सम्भव छैन ।
त्यसैले देश र प्रवासमा समेत रहनु भएका समस्त गणतन्त्रवादी मित्रहरू ! कुनै पनि तानासाहहरूका निम्ति संविधान कागजको खोस्टो मात्र हुन्छ । पूर्वराजा ज्ञानेन्द्रको निम्ति आजको संविधान पनि त्यस्तै भएको छ । राजतन्त्रवादीहरूका यी उद्दण्डतापूर्ण हरकतहरू, संविधान विरोधी, गणतन्त्र विरोधी र धार्मिक समानता विरोधी प्रचारहरूको दृढतापूर्वक खण्डन गरौँ, वर्तमान गणतन्त्र र त्यसलाई समाजवादी गणतन्त्रमा रूपान्तरण गर्नुपर्ने आवश्यकता र औचित्यको पुष्टि गरौँ, राजतन्त्रवादीहरूलाई विदेशीहरूले दिइरहेको टेको पुडोको भण्डाफोर गरौँ, गणतन्त्र स्थापना पछि जनताको अवस्थामा सुधार गर्न नसकेको प्रति जो जिम्मेवार छन् उनीहरूले जनता समक्ष आत्मालोचना गरौँ ।
क्रान्तिकारी भूमिसुधार, कृषि क्रान्ति, राष्ट्रिय औद्योगीकरण, शिक्षा, स्वास्थ्यमा व्यापक परिवर्तन, रोजगारीको विकास, राष्ट्रियतालाई सुदृढ गर्ने लगायतका आर्थिक–सामाजिक सुधारका योजना र कार्यक्रम तत्काल घोषणा गरौँ, राजतन्त्रवादीहरूका वितण्डाहरूको देशव्यापी रूपमा विरोध, आलोचना र खण्डन गरौँ, यस्ता वितण्डाहरूका पछाडि विदेशीहरूको खेल कसरी चलिरहेको छ, त्यसको सतथ्य व्यापक भण्डाफोर गर्दै वर्तमान गणतन्त्रको रक्षा गरौँ, त्यसलाई यो भन्दा अघि बढेर समाजवादी गणतन्त्रको दिशामा विकास गर्न कम्मर कसेर लागौँ र देशव्यापी रूपमा राजतन्त्रवादी, वंशतन्त्रवादी र पुनर्रुत्थानवादीहरूका विरुद्ध राष्ट्रव्यापी विरोध र भण्डाफोरको लहर सृजना गरौँ । यसरी नेपाली इतिहासको रथलाई वैज्ञानिक समाजवादतिर अघि बढाऔँ ।
यथास्थितिवादले राजतन्त्रका संविधान विरोधी क्रियाकलापलाई मात्र पनि रोक्न सक्दैन । राजतन्त्रवाद र यथास्थितिवादको एक मात्र विकल्प वैज्ञानिक समाजवाद नै हो । २००६ साल देखि नै गणतन्त्र, जनवाद र समाजवादको झण्डा उचालेर अघि बढ्दै आएका सम्पूर्ण वामपन्थी क्रान्तिकारी मित्रहरू ! देश र जनताको भविष्यलाई नयाँ धरातलबाट सोच्ने बेला आयो । हामीहरू विगतको समीक्षा गरौँ, हिजो भएका कमीकमजोरीहरू हटाऔँ, समाजवाद प्राप्तिको कार्यदिशाका आधारमा सम्पूर्ण सच्चा वामपन्थी शक्तिहरू, देशभक्तहरू र गणतन्त्रवादीहरूलाई एकताबद्ध बनाऔँ, राजतन्त्रवाद र यथास्थितिवादको विरोध र भण्डाफोर गर्दै समाजवादको दिशा तिर दृढता पूर्वक अघि बढौँ र देश तथा जनतालाई अघि बढाऔँ । आज समयले हामीलाई यही दिशामा अघि बढ्न ललकारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोनाल्डोले उम्मेदबारी त्यागेपछि ब्राजिलियन फुटबल महासंघको अध्यक्षमा रोड्रिग्स पुनःनिर्वाचित
-
‘चीनले संसारलाई चकित पार्ने विकास गरिसक्यो, छिमेकी भएर पनि हामीले फाइदा लिन सकेनौँ’
-
अमेरिकामा १२ अर्ब डलर लगानी गर्दैछ हुन्डाई
-
सार्वजनिक लेखा समिति सरकारको छाया बन्यो : मोदी
-
कुलमान हटाएकोमा सरकारले पश्चात्ताप गर्नुपर्नेछ : जनार्दन शर्मा
-
आर्थिक स्थायित्व र समृद्धिका लागि आगामी बजेट