टिकट सकिएपछि सिड्नीमा नेपथ्यको थप शो
सिड्नी । कन्सर्टका लागि तोकिएको मितिभन्दा तीन साताअगावै अनलाइनबाट साढे पाँच हजार अर्थात् सम्पूर्ण टिकट बिक्री भएपछि नेपथ्य ब्यान्डले सिड्नी सहरका लागि उत्तिकै क्षमताको दोस्रो शो घोषणा गरेको छ ।
अस्ट्रेलियाको शृंखलाबद्ध यात्रामा रहेको नेपथ्य आगामी चैत १६ (मार्च २९) मा सिड्नीस्थित ‘होर्डन पभिलियन’ मा प्रस्तुत हुँदै थियो । अब भने अर्को दिन अर्थात् चैत १७ (मार्च ३०) मा पनि नेपथ्य त्यसै हलमा उपस्थित हुनेछ ।
राजधानी क्यानबेराबाट महिना दिन लामो शृंखलाबद्ध यात्रा सुरु गरेको नेपथ्यले पर्थमा दोस्रो कन्सर्ट गरिसकेको छ । दुवै सहरमा भएको कन्सर्टको चर्चासँगै सिड्नीमा टिकटको माग बढेको थियो । सिड्नीका लागि भएभरका टिकट निकै अगाडि बिक्री भइसकेपछि स्थानीय आयोजक टीआरएन इभेन्ट्स र नेपथ्यलाई व्यवस्थापन गर्दै आएको संस्था नेपालयले थप शो घोषणा गरेका हुन् ।
नेपालयले यसलाई आफूहरूले नेपाली संगीत क्षेत्रकै निम्ति सुखद खबरका रूपमा लिएको जनाएको छ । कार्यक्रम आयोजनाको व्यवस्थापकीय चुनौती उल्लेख गर्दै नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, 'कलाकारको लोकप्रियता र दर्शकको मागको समीकरण आकलन गर्दै कस्तो र कति क्षमताको स्थानमा कन्सर्ट गर्ने भन्ने चुनौती रहने गर्छ । त्यसै आधारमा आयोजनास्थलबारे व्यवस्थापकीय निर्णय लिनुपर्ने हुन्छ ।’
अस्ट्रेलियाको एकपछि अर्को सहरमा आयोजित नेपथ्यको कन्सर्टको चर्चाले दर्शकको चासो ह्वात्तै बढेको स्थानीय आयोजक टीआरएनका प्रदीप पाठक बताउँछन् । 'यसै कारण भएभरका टिकट चाँडै बिक्री भए । अरू दर्शकको आकांक्षालाई सम्मान गर्दै थप शो घोषणा गर्ने जमर्को गरेका हौं,’ उनले भने ।
नेपथ्य आगामी प्रस्तुतिका लागि ब्रिसबेन पुगिसकेको छ । यसपछि क्रमशः होबार्ट, एडिलेड र मेलबर्न सहरमा आफूलाई उभ्याएर ब्यान्ड सिड्नी पुग्नेछ ।
सिड्नीस्थित विश्वविद्यालयको प्रेक्षालयमा सन् २००९ मा पहिलो पटक प्रस्तुत भएर अस्ट्रेलिया अनुभव थालनी गरेको नेपथ्यले त्यसपछि दुई हजार दर्शक क्षमताको ‘टाउनहल’ मा आफूलाई उभ्याएको थियो । टाउनहलमा क्षमताभन्दा धेरै दर्शक आएपछि केही बेरसम्मै सिड्नी सहरको मुटुमा रहेको त्यो भेग प्रहरीले नियन्त्रणमा लिनुपर्ने गरी अस्तव्यस्त बन्न पुगेको थियो । त्यसपछि केही समयसम्मै लगातार तीन हजार दर्शक क्षमताको लुनापार्कस्थित ‘बिग टप’ हलमा नेपथ्यले प्रस्तुति दिएको थियो ।
नेपथ्य सन् २०२३ मा साढे पाँच हजार दर्शक क्षमताको हल ‘होर्डन पभिलियन’ मा प्रस्तुत भएको थियो । त्यति बेला आँटै गरेर ठूलो हल चयन गर्दा पनि भएभरका सबै टिकट बिक्री भएका थिए । त्यसै अनुभवका आधारमा यसपाला पनि उही हल छनोट गरिएको थियो । तर शो सुरु हुन निकै समय बाँकी छँदै भएभरका टिकट अनलाइनबाट बिक्री भएका छन् ।
पहिलोमा जस्तै सिड्नीको दोस्रो शोमा पनि घोषणालगत्तै टिकट काट्नेलाई ‘अर्ली बर्ड बुकिङ’ अन्तर्गत सहुलियत दर व्यवस्था गरिएको स्थानीय आयोजकले जनाएको छ । दोसो शोको टिकट मार्च १२ बुधबार सिड्नी समय अपराह्न ४ बजेदेखि खुला गरिएको छ ।
अस्ट्रेलियामा नेपथ्यको शृंखलाबद्ध यात्राको टिकट ब्यान्डको आधिकारिक वेबसाइट www.nepathya.com.np बाट सोझै किन्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण