एक सय किसानलाई बिना धितो २ लाखसम्मको ऋण दिने सम्झौता
विराटनगर । आध्यन्त फन्ड म्यानेजमेन्ट, नेपाल बजार विकास कार्यक्रम, स्विस कन्ट्याक्ट र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको संयुक्त आयोजनामा विराटनगरमा आध्यन्त एक्सिलेरेटर कोशीको लगानी सम्मेलन सकिएको छ ।
सम्मेलनमा कृषि, डिजिटल सेवा प्रदायक र पर्यटन क्षेत्रका ७ उद्यमीहरूले लगानीकर्तासमक्ष आफ्नो व्यावसायिक योजना प्रस्तुत गरेका थिए । प्रस्तुति दिने उद्यमीहरूमा हिमालयन ह्वाइट ड्रप डेरीका योगेन्द्र गिरी, बी एन्ड बी ब्रिडिङका भीम श्रेष्ठ, ब्राइट फिडका गोपाल श्रेष्ठ, नेपालीरिका होटलका आकाश दुलाल, गोर्खा टी स्टेटका सौरभ थपलिया, प्रथम आईटीका सुरज चिमरिया र जयपति डेरीका यादव ढकाल रहेका थिए ।
सम्मेलनमा टिम भेन्चर्स, अल्फा पल्स र एन.आई.एम.बी.एस. क्यापिटल लगायतका लगानीकर्ताहरूको उपस्थिति थियो । कार्यक्रममा जयपति कृषि फर्म र डी.भी. एक्सलेसले एन.आई.एम.बी.एस. बैंकमार्फत कामधेनु डेरीका एक सय किसानलाई बिना धितो २ लाखसम्मको ऋण प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले लगानी बिना उद्यमको विकास सम्भव नहुने बताउँदै प्रदेश सरकारले लगानी सम्मेलनमार्फत यस विषयलाई सम्बोधन गर्ने प्रयास गरिरहेको बताए । त्यस्तै, उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामले नेपाली वस्तुहरूले विदेशी बजार पाउन सके थप आर्थिक विकास सम्भव हुने धारणा राखे ।
आध्यन्तका सह–संस्थापक तथा निर्देशक मनोज पौडेलले आफ्नो कम्पनीले कोशी प्रदेशका विभिन्न व्यवसायमा हालसम्म लगभग ८२ करोड रुपैयाँको लगानी गरिसकेको र यस क्षेत्रमा अझै ठूलो अवसर देखिरहेको बताए ।
नेपाल बजार विकास कार्यक्रमकी टिम लिडर रीमा श्रेष्ठले एक्सिलेरेटर कार्यक्रमले व्यवसायलाई वृद्धि गर्न र सफल बनाउन खेलेको महत्वपूर्ण भूमिकाको चर्चा गर्दै स्विस विज्ञहरूले खेतिपाती अर्गानिक्समा प्रदान गरेको प्राविधिक सहायताको सकारात्मक प्रभावको बारेमा धारणा राखेकी थिइन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले एक्सिलेरेटर कार्यक्रम अन्तर्गत महासंघमा स्थापना गरिएको बिजनेस ग्रोथ सेन्टरले व्यवसाय विकास सेवा खोज्ने उद्यमहरूलाई प्रत्यक्ष सहयोग प्रदान गर्ने बताए ।
आध्यन्त एक्सिलेरेटर कार्यक्रमको दोस्रो सत्र पनि यसै कार्यक्रमसँगै औपचारिक रूपमा समापन भएको छ । यस सम्मेलनले व्यवसाय विस्तार र विकासका नयाँ अवसरहरू सिर्जना गर्दै उद्यमशीलता प्रवर्द्धनमा उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण