बिहीबार, २५ वैशाख २०८२
ताजा लोकप्रिय
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट

कर्णाली प्रदेशसँग स्तब्ध बन्यो मधेस प्रदेश

शुक्रबार, ०८ चैत २०८१, १६ : ०७
शुक्रबार, ०८ चैत २०८१

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले चौथो जित हासिल गरेको छ । भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा शुक्रबार खेलिएको खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई ८१ रनले हराएको हो ।

 जारी प्रतियोगितामा हालसम्म सात खेल खेलेको कर्णाली प्रदेशको यो चौथो जित हो । तीन खेलमा कर्णाली प्रदेश पराजित भएको छ । हालसम्म ६ खेल खेलेको मधेश प्रदेशको यो चौथो हार हो । दुई खेलमा भने मधेस प्रदेशको टोली विजयी भएको छ । 

टस जिती पहिले ब्याटिङको निर्णय लिएको कर्णाली प्रदेशले ४९.१ ओभरमा अलआउट हुनुअघि दुई सय २० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मधेश प्रदेशले भने ३५.२ ओभरमै अलआउट हुनुअघि एक सय ३९ रनमात्र बनाउन सक्यो । 

मधेस प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । मधेश प्रदेशका माथिल्लो क्रमका ब्याट्सम्यानको प्रदर्शन निराशाजनक रह्यो । तल्लो क्रमका ब्याट्सम्यान रुपेश सिंहले सर्वाधिक ३० रन बनाए । विशाल पटेलले टोलीको खातामा २५ रन थपे ।

हरिशंकर साहले १८ रन बनाए । ओपनर शैलेन्द्र साह १० रन बनाउँदै आउट भए । मधेस प्रदेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । मधेस प्रदेशले अतिरिक्त रुपमा २७ रन पाएको थियो । 

कर्णाली प्रदेशका बलर दिनेश अधिकारी एक्लैले चार विकेट लिए । उनले १० ओभरमा ४१ रन खर्चिए । दीपेन्द्र रावतले पनि तीन विकेट हात पारे । उनले ८.२ ओभरमा ३१ रन खर्चिए । प्रकाश जैसीले दुई विकेट कुम्ल्याए । अर्को एक विकेट सुनिल धमलाले लिए ।  

त्यसअघि, पहिलो ब्याटिङ गरेको कर्णाली प्रदेशका लागि दीपेन्द्र रावतले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले ६१ रन बनाए । उनले ९२ बलको सामना गरी ६ चौका पनि हिर्काए । कर्णाली प्रदेशका लागि विकेटकिपर ब्याट्सम्यान अर्जुन घर्तीले पनि २६ रन जोडे । उनले २० बलमा एक छक्का र दुई चौका प्रहार गरे । दिनेश अधिकारीले ४४ बलमा दुई छक्का र एक चौकाको मद्दतले २४ रन बनाए । 

प्रकाश जैसीले २० र कप्तान दिवान पुनले अविजित १८ रन बटुले । ओपनर रविन्द्र शाहीले टोलीको खातामा १३ रन थपे । कर्णाली प्रदेशले अतिरिक्त रुपमा पनि ३४ रन पाएको थियो । मधेस प्रदेशका बलर रुपेश सिंह, रञ्जित कुमार, हरिशंकर साह, कमल गुप्ता र अनिल साहले दुई–दुई विकेट लिए ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप