बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महत्त्वपूर्ण व्यावसायिक व्यक्तिको सम्मान दिन सरकारले तयार गर्‍यो २० जनाको सूची

रिलायन्स स्पिनिङलाई दुईवटा सम्मान, सबैभन्दा धेरै डलर भित्र्याउनेमा मेरियट होटल
आइतबार, १७ चैत २०८१, १४ : ३५
आइतबार, १७ चैत २०८१

काठमाडौँ । सरकारले यस वर्षको महत्त्वपूर्ण वर्ष व्यक्ति (सीआईपी) का लागि सूची तयार गरेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले राष्ट्रिय अर्थतन्त्रमा उद्योग तथा वाणिज्य क्षेत्रमा योगदान बढाउन यस क्षेत्रमा संलग्न उत्कृष्ट व्यवसायीहरूलाई सम्मान र कदर गर्न यस्तो सूची प्रकाशित गरेको हो । 

यसमा विभिन्न आधारमा कम्पनीको नाम छनोट गरिएको छ । उक्त कम्पनीले सिफारिस गरेको व्यक्तिलाई सीआईपीको सम्मान दिइनेछ । 

निर्यात क्षेत्रतर्फ सर्वाधिक निर्यात गर्ने ५ कम्पनी छनोट गरिएको छ । यसरी सम्मान पाउनेहरूमा ऊनी गलैँचातर्फ थर्ड आई इन्टरनेशनल, तयारी पोसाकतर्फ एभरेस्ट पस्मिना, उनी फेल्टका सामानतर्फ नेशनल एक्पोर्टस्, कुकुर बिरालोको आहारतर्फ मनराम हिमालय हेन्डीक्राफ्ट र पस्मिना सलतर्फ तारा ओरियन्टल रहेका छन् । यी कम्पनीहरूले क्रमशः २ अर्ब २५ करोड, १ अर्ब १९ करोड, १ अर्ब ४३ करोड, २ अर्ब ८० करोड र ६० करोड रुपैयाँ बराबरको निर्यात गरेको केन्द्रले जनाएको छ । 

त्यस्तै, भारततर्फ निर्यात गर्ने आधारमा डाबर नेपाल, आरती स्ट्रिप्स र रिलायन्स स्पिनिङ मिल रहेका छन् । आर्थिक वर्ष २०८०/८१ मा डाबर नेपालले १९ अर्ब ४७ करोड, आरती सीक्रप्सले १४ अर्ब ३ करोड र रिलायन्स स्पिनिङ मिल्सले १२ अर्ब ४९ करोडको निर्यात गरेको केन्द्रले जनाएको छ ।

चीनतर्फको निर्यातका आधारमा छोमेन ट्रेडर्स, फिन्जो सोनाम इन्टरप्राइजेज र अष्टमंगल सम्मानित हुने सूचीमा छन् । त्यसमध्ये छोमेनले ५० करोड, फिञ्जोले ३९ करोड र अस्टमंगलले ३० करोडको निर्यात गरेका छन् । 

त्यस्तै, मौलिक सीपकला र संस्कृति झल्किने हस्तकला निर्यात गर्ने गिफ्टलेन्ड इन्टरप्राइजेजले साढे १४ करोडको निर्यात गरेर सम्मानित हुने सूचीमा परेको छ । सरकारले प्राथमिकतामा राखेका कृषिजन्य वस्तु तथा जडिबुटी निर्यात गरेबापत झापाको नेपाल एभरेस्ट कार्डामसले २ अर्ब ९१ करोड तथा र एबी हर्बल ट्रेडर्सले ३७ करोड निर्यातसहित सम्मानित हुने सूचीमा परेको छ । 

महिला निर्यातकर्ताबाट सञ्चालितमध्ये सर्वाधिक निर्यात गरेर सम्मान पाएकामा उद्योगमा जनकपुर रिफाइनरिजले ६ अर्ब ३६ करोडको निर्यात गर्नेछ । विप्रेषण आप्रवाहतर्फ आईएमई लिमिटेड २ अर्ब ९१ करोड ८१ लाख अमेरिकी डलर, पर्यटन क्षेत्रमध्ये सबैभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्ने एभरेस्ट हस्पिटालिटी (मेरियट होटल) १ करोड २० लाख अमेरिकी डलर, युवा उद्यमी व्यवसायीतर्फ सबैभन्दा धेरै निर्यात गर्नेमा रिलायन्स स्पिनिङ मिलका अक्षय गोल्यान (३६ वर्ष) रहेका छन् । 

त्यसबाहेक नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका अध्यक्षलाई मानार्थ रुपमा यस्तो सम्मान दिने केन्द्रले जनाएको छ ।

उक्त सूचीमा कसैको दाबी विरोध भएमा ७ दिनभित्र दाबी विरोध गर्न आह्वान गरिएको छ । त्यो अवधिमा कुनै दाबी विरोध नआएमा यही अनुसार सम्मान दिइने केन्द्रले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप