नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’
काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकिङ क्षेत्रमा नौलो र प्रभावकारी किसिमको खाता ‘नबिल दिगो बचत खाता’को सुरुआत गरेको छ ।
नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको सन्दर्भमा बैंकले दिगो विकास तथा दिगो बैंकिङको दृष्टिकोण अनुरूप यस बचत खाता सञ्चालनमा ल्याएको हो ।
यस योजनाअन्तर्गत सेवाग्राहीले पाउने ब्याजदर बाहेक जम्मा हुने कुल निक्षेपको वार्षिक ०.५ प्रतिशतका दरले हुन आउने रकम बैंकले प्रत्यक्ष रूपमा कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणमा खर्च गर्नेछ ।
बैंकका अनुसार उक्त रकम कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणका लागि वन पुनःस्थापना तथा वृक्षरोपण, नवीकरणीय ऊर्जा प्रबद्र्धन, फोहोर व्यवस्थापनका लागि पहल, स्वच्छ ऊर्जा तथा सफा पानीसम्बन्धी परियोजना तथा दिगो विकासका लक्ष्य अनुकूल लगायतका कार्यक्रमहरुमा खर्च गरिनेछ । यस योजनाअन्तर्गत नबिल दिगो बचत खातामा अर्धवार्षिक रुपमा औसतमा रु ५० हजार राख्ने ग्राहकका नाममा टोकनस्वरुप एकपटकका लागि वृक्षरोपण गरिनेछ ।
यसबाट कार्बन उत्सर्जन न्यूनीकरण तथा नियन्त्रण र दिगो विकास लक्ष्य हासिल गर्न प्रत्यक्ष योगदान पुग्नेमा बैंकको विश्वास छ । यस खाता खोल्नका लागि न्यूनतम मौज्दात रु। १० हजार आवश्यक छ ।
यो विशेष बचत खाता वित्तीय लाभका साथै वातावरण संरक्षणमा प्रत्यक्ष योगदान गर्न चाहने सबै उमेर समूहका व्यक्ति, गैरआवासीय नेपाली (एनआरएन) र गैर–नाफामुखी संस्थाहरूलाई लक्षित गरिएको छ ।
त्यसका साथै न्यूनतम मौज्दात कायम राख्ने ग्राहकले डिजिटल बैंकिङ प्रवद्र्धनअन्तर्गत नबिल बैंकका डिजिटल बैंकिङ प्लेटफर्महरू एनबैंक र एनबैंक वेभ आजीवन निःशुल्क प्रयोग गर्न सक्नेछन् । यसबाट कागजरहित बैंकिङ संस्कृति प्रवर्द्धन हुने बैंकले जनाएको छ ।
त्यसबाहेक यस योजनामा सहभागी हुने ग्राहकलाई पहिलो वर्ष निःशुल्क नबिल डेबिट कार्ड र क्रेडिट कार्ड, वार्षिक लकर शुल्कमा २५ प्रतिशत छुट र योग्य ग्राहकलाई बीमा सुविधा पनि उपलब्ध गराइनेछ ।
नबिल बैंकले दिगो बैंकिङको क्षेत्रमा अग्रपंक्तिमा रहँदै वातावरणीय, सामाजिक तथा सुशासन सिद्धान्तलाई आत्मसात गर्दै आएको छ । ‘नबिल दिगो बचत खाता’को सुरुआतसँगै ग्राहकहरु आफ्नो भविष्यका लागि मात्र नभई वातावरणमैत्री र दिगो भविष्य निर्माणका लागि पनि बचत गर्न सक्षम हुनेमा बैंकले विश्वास लिएको छ ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
नबिल बैंकले ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुआत गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले आधुनिक बैंकिङ युगको सुरुआत गर्दै ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ आफ्नो व्यवसाय केन्द्रित गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण