वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?

सुर्खेत । सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल छ—जहाँ एक जना व्यक्तिलाई विद्युत्को पोलमा बाँधिएको छ । २७ सेकेन्डको भिडियो र अडिओमा एकजनाले युट्युबर स्टाइलमा प्रश्न सोधेको सुनिन्छ ।
तपाईं साँच्चिकै जनप्रतिनिधि हो ?
पोलमा बाँधिएका व्यक्ति भन्छन्—वडाध्यक्ष हुँ ।
ती व्यक्ति पुनः सोध्छन्—वडाध्यक्षको मतलब के हुन्छ ?
उनी जवाफ दिन्छन्—वडामा जाने साइन.....?
प्रश्न सोधिहाल्छन्—जनतालाई प्रस्ट बताउनुहोस्, जनताबाट निर्वाचित भएर तपाईँ वडाध्यक्ष हुनु भएको हो ?
उनी जवाफ दिन्छन्—चुनावमा............
वार्तालापमा जवाफ दिने व्यक्तिले मदिरा सेवन गरेर बोलेको सुनिन्छ । सामाजिक सञ्जालमा भाइरल उक्त भिडियो वडाध्यक्ष जस्तो व्यक्ति रातको समयमा कसैको श्रीमतीसँग लागेको र स्थानीयले छोपेर पोलमा बाँधेको भनेर प्रचार गरिएको छ । तर भिडियोसँग अडिओ भने अलि मिल्दैन ।
उक्त भिडियो दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८, डौँसुरको हो । दैलेख प्रहरीले अहिले उक्त भिडियोबारे अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार विद्युत्को पोलमा बाँधिएका व्यक्ति हुन्—दुल्लु नगरपालिका–३, का वडाध्यक्ष कुलबहादुर कार्की ।
घटना २४ गते रातिको घटना हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालका अनुसार भिडियोमा देखिएको व्यक्ति वडाध्यक्ष कार्की नै हुन् । उनी ०७९ को स्थानीय तहको निर्वाचनको बेला नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए । प्रहरी प्रमुख दाहालले रातोपाटीसँग भने, ‘आवाज ओर्जिनल होइन भन्ने लागेको छ ।’
यद्यपि त्यो पनि अनुसन्धानपछि मात्रै थाह हुने उनले बताए । भिडियोमा जसरी वडाध्यक्षलाई बाँधिएको छ, त्यसरी हेर्दा वडाध्यक्ष पीडित देखिएको पनि उनले बताए । उनी भन्छन्, ‘यदि वडाध्यक्षको कमजोरी नै हो भनेपनि कानुन बमोजिम कारबाही हुन्थ्यो तर, त्यहाँ वडाध्यक्षलाई बाँधेको देखिएको छ । त्यसरी हेर्दा उहाँ पीडित देखिनुहुन्छ ।’
यद्यपि त्यो कुरा पनि अनुसन्धानबाट मात्रै भन्न सकिने उनले बताए । नेकपा माओवादी केन्द्र दुल्लु नगर कमिटीले एक विज्ञप्ति निकाल्दै पारिवारिक भेटघाटका लागि वडाध्यक्ष डौँसुर पुगेको उल्लेख गरेको छ । ‘त्यहाँ नातेदार हरिस खड्काको घर जाने क्रममा केही अराजक युवा आएर नियन्त्रणमा लिएर बन्धक बनाए,’ विज्ञप्तिमा भनिएको छ ।
दुल्लु नगरपालिकाका मेयर भरत रिजालले आफू काठमाडौँ रहेकाले घटनाबारे बुझ्न नपाएको बताए । यद्यपि वडाध्यक्षले आफूसँग नातेदारको घरमा जाँदै गर्दा बाटोमा छोपेर पोलमा बाँधेको कुरा जानकारी गराएको उनले बताए ।
वडाध्यक्ष कार्कीले सोही घटनामा चार जनाविरुद्ध अपहरण तथा शरीर बन्धक गरिएको भन्दै बुधवार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिए । सोही आधारमा डौँसुरका नगेन्द्र, उपेन्द्र रावल तथा विशाल खड्कालाई पक्राउ गरेको छ ।
अनुसन्धानबाट मात्रै वास्तविकता खुल्ने प्रहरी प्रमुख दाहालले बताए । यद्यपि स्थानीयका अनुसार भने वडाध्यक्ष कार्की रातको ११ बजेको समयमा एक जना महिलालाई सरकारी मोटरसाइकलमा बोकेर गाउँमा देखिएका थिए । स्थानीय युवाहरूले ‘वडाध्यक्ष जस्तो व्यक्ति रातिका अर्काको श्रीमतीमाथि आँखा लाउने’ भन्दै समातेका थिए । वडाध्यक्ष जस्तो व्यक्तिले पदको दुरुपयोग गरेको स्थानीयको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुस्तक चोर्ने आफ्नै घरमा आउने नजिकका मान्छे हुन्छन्’
-
नीति तथा कार्यक्रम नीरस र पट्यारलाग्दो : माओवादी
-
‘नीति तथा कार्यक्रम ओलीको ‘पानी जहाज’ जस्तै अस्पष्ट’
-
आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ: पूर्वप्रधानमन्त्री खनाल
-
सयौँ पुतली
-
पहलगाम हमला : भारतले पाकिस्तानबाट हुने आयातमा पूर्ण प्रतिबन्ध लगायो