आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : तीनकुनेका ‘कमाण्डर’ हिरासतमा, ज्ञानेन्द्रलाई समितिमा बोलाउन प्रस्ताव

शुक्रबार, २९ चैत २०८१, २२ : ००
शुक्रबार, २९ चैत २०८१

काठमाडौँ । आज मिति २०८१ साल चैत महिनाको २९ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–

१. तीनकुनेका कमाण्डर हिरासतमा

काठमाडौँको तीनकुनेमा विध्वंस मच्चाउने आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईं अन्ततः पक्राउ परेका छन् । राजावादी आन्दोलनका कमाण्डर उनलाई औपचारिक रुपमा बुधबार पक्राउ गरेर प्रहरीले हिरासतमा लिएको छ । अदालतले उनीमाथि अनुसन्धान गर्न १२ दिनको म्याद दिएको छ ।

उनले नेतृत्व गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले चैत १५ मा काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको थियो । जुन प्रदर्शनलाई पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थन रहेको प्रसाईंले दाबी गरेका थिए ।

 

२. ज्ञानेन्द्रलाई समितिमा बोलाउन माग

नेपाली कांग्रेसका सांसद जीवन परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुन, न्याय तथा मानव अधिकार समितिमा बोलाएर छलफल गर्नुपर्ने बताएका छन् । गृहमन्त्री रमेश लेखकको उपस्थितिमा भएको बैठकमा उनले पूर्वराजा शाहलाई समितिमा बोलाएर उक्त घटना उनले घटाएको हो कि होइन सोध्नुपर्ने बताए ।

३. आयोगको प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई समग्र आर्थिक क्षेत्रलाई समेटेर प्रतिवेदन बुझाएको छ ।

बुधबार अर्थमन्त्री पौडेललाई आयोगले ४४७ पेज लामो प्रतिवेदन हस्तान्तरण गरेको हो । सरकारले गत असोजमा पूर्वअर्थ सचिव रामेश्वर खनालको अध्यक्षतामा निजी क्षेत्रसमेतको सहभागितामा आयोग गठन गरेको थियो ।

 

४. कांग्रेस राजनीति

नेपाली कांग्रेसका ७ भ्रातृ संस्थाले पार्टीको निर्देशन लत्त्याएका छन् । कांग्रेसले चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न भन्दै १० भ्रातृ संस्थालाई निर्देशन दिएको थियो ।

पार्टीसँग समन्वय गर्न भन्दै पार्टी नेताहरूको नेतृत्वमा महाधिवेशन निर्देशन समितिसमेत बनाएकोमा पार्टीले निर्धारण गरेको समयमा तीन भ्रातृ संस्थाले मात्रै महाधिवेशन सम्पन्न गर्न सकेका हुन् ।

 

५. रास्वपाको महाधिवेशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २०८२ वैशाखमा तोकिएको पहिलो राष्ट्रिय महाधिवेशन निर्धारित समयमा नहुने लगभग निश्चित भएको छ । बुधबार र बिहीबार बसेको रास्वपा सचिवालयको बैठकमा निर्धारित मितिमा महाधिवेशन नभएको खण्डमा मंसिरदेखि फागुनसम्म गर्न सकिनेमा नेताहरूबिच छलफल भएको स्रोतको भनाइ छ ।

६. समाजवादी मोर्चा

शिक्षक महासंघको आह्वानमा भइरहेको आन्दोलनप्रति समर्थन जनाउँदै समाजवादी मोर्चा, नेपालले एक प्रेस वक्तव्य जारी गरेको छ ।

मोर्चाले सर्वदलीय सहमतिमा संसदको विशेष अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेको छ।

प्रेस वक्तव्यमा मोर्चाले शिक्षकहरूको न्यायोचित मागप्रति ऐक्यबद्धता जनाउँदै शिक्षा क्षेत्रको गुणस्तरीय सुधार तथा शिक्षकहरूको हक–अधिकारको पक्षमा उठेका आवाजलाई सकारात्मक रूपमा लिएको जनाएको छ।

७. भर्ना खुला

नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै २६०० भन्दा बढी जनशक्ति माग गरेको हो। 

८. सर्वोच्चमा रिट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।

९. प्राधिकरण बोर्ड बैठक

नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकले विद्युतीय दुर्घटनाका कारण कर्मचारी वा सर्वसाधारणको मृत्यु भएमा १० लाखसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको अध्यक्षतामा बसेको प्राधिकरणको ९ सय ९५औं बैठकले सो निर्णय गरेको हो ।

 

१०. बजेट

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेटको खाका कोर्न विधिवत रूपमा छलफल सुरु गरेको छ । गत फागुन २१ गते देखि समिति बनाएरै नयाँ बजेटको विषयमा छलफल सुरु गरेको अर्थ मन्त्रालयले बुधबारदेखि मन्त्रालयको ढोका नै बन्द गरेर बजेट खाका कोर्न गोप्य छलफल थालेको छ ।

यो पनि....

राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा नहुने

कर्णाली प्रदेशमा आयोजना हुने भनिएको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा नहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को शुक्रबार सम्पन्न बोर्ड बैठकले प्रतियोगिता जेठमा आयोजना नगर्ने निर्णय लिएको हो । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप