तीनकुने घटनामा नेकपा एसको गुनासो : हाम्रो पार्टी कार्यालयमाथि आक्रमण हुँदा राज्यले सुरक्षामा विभेद गर्यो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा आफ्नो पार्टी कार्यालयमाथि तोडफोड र आगजनी भए पनि सुरक्षा दिन राज्यले विभेद गरेको आरोप लगाएको छ । गृहमन्त्री रमेश लेखकलाई तीनकुने घटनाका विषयमा जवाफ माग गर्दै शुक्रबार बोलाइएको कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसद शेरबहादुर कुँवरले राजावादी प्रदर्शनका क्रममा आफ्नो पार्टी कार्यालयमाथि आक्रमण हुँदा पनि राज्यले सुरक्षा नदिएको आरोप लगाए ।
उनले आफूले फोन गरेर जानकारी गराउन खोज्दा काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषिराम तिवारीलगायत सरकारमा संलग्न दलहरूलाई पनि जानकारी गराउन खोज्दा सम्पर्कमा नआएको बताए । प्रहरी महानिरीक्षकलाई फोन गरेरै सुरक्षा माग गर्दा पनि सुरक्षा नदिएको उनको भनाइ छ ।
‘सीडीओले फोन उठाउनुभएन । अन्यले पनि उठाउनुभएन । प्रहरी महानिरीक्षकलाई पनि फोन गरेको थिएँ, तर पनि सुरक्षा दिइएन । साना पार्टीको सुरक्षा के गर्नुपर्यो भनेर हो कि ? पार्टीको अध्यक्ष (माधव नेपाल) को घरमाथि आक्रमणको प्रयास भयो । हेला गरेर हो कि ?,’ उनले प्रश्न गरे ।
यस्ता विषयमा राज्य र राज्यका निकायहरूलाई संवेदनशील हुन उनले आग्रह गरे । सुरक्षा दिने कुरामा राज्यका सम्पत्ति र राज्यका निकायका सम्पत्तिको सुरक्षा दिन विभेद नगर्न समेत उनले गृहमन्त्रीको ध्यानाकर्षण गराए ।
अन्य पार्टी कार्यालयहरूमा थुप्रै सुरक्षाकर्मी खटाइएको तर घटनास्थलको सबैभन्दा नजिक भएर पनि नेकपा एसको पार्टी कार्यालयमा सुरक्षा नदिइएको आरोप उनको छ । यसैगरी उनले तीनकुनेमा भएको राजावादी प्रदर्शन उद्देश्यविहीन रहेको र सर्वसाधारणको धनजनको समेत सुरक्षा नहुने अवस्था सिर्जना भएको भनाइ राखे ।
‘सर्वसाधारणको धनजनको पनि सुरक्षा हुने अवस्था आएन । मान्छेको सम्पत्ति संरक्षण कसरी हुने ? ढुङ्गा मुढा प्रहार गरिएको जथाभाबी । कुनै बेला हामी पनि व्यवस्था विरोधी आन्दोलनमा थियौँ । तर त्यो आन्दोलन उद्देश्यमूलक थियो,’ उनले भने, ‘सुरक्षाकर्मीमाथि प्रहार ।
आम जनता र आम जनताको सम्पत्तिमाथि प्रहार गरिएको छ । सरकारी गाडी ताकी ताकी जलाइएको छ । राज्यको नोक्सानी सबैको नोक्सानी भन्ने हेक्का गरिएको छैन । हाम्रो पार्टी कार्यालयमा आक्रमण भएको छ । लुटपाट गरिएको छ । यस्ता घटना निन्दनीय छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुटे धवलशमशेर, ३ तस्बिरमा हेर्नुहोस्
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू
-
३ लाख धरौटी बुझाएर रिहा भए धवल शमशेर राणा
-
सांसदको घरबाट उद्धार गरिएकी बालिकाबारे सर्वोच्च अदालतको फैसलामा के छ ? (पूर्णपाठसहित)
-
सेती नदीमा अज्ञात पुरूषको शव फेला
-
नेपालमा पहिलोपटक रोयल टुलिप होटल उद्घाटन, दक्षिण एसियामा लुभ्र समूहको उपस्थिति विस्तार