बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

चीनले किन जारी गर्‍यो ८५ हजार भारतीयलाई भिसा ?

बुधबार, ०३ वैशाख २०८२, १५ : ०७
बुधबार, ०३ वैशाख २०८२

बेइजिङ । पछिल्ला केही वर्षमा भारत र चीनबिचको सम्बन्धमा तिक्तता बढेको छ । तर पछिल्लो समय यसमा सुधारको संकेत पनि देखिन थालेको छ । २०२५ सुरु भएयता अप्रिल ९ सम्मको तीन महिनामा भारतस्थित चिनियाँ दूतावासले भारतीय नागरिकका लागि ८५ हजारभन्दा बढी भिसा जारी गरेको छ ।

यसलाई दुई देशहरूबिच संस्कृति, पर्यटन र अर्थतन्त्रमा सहयोग बढाउने दिशामा एक प्रमुख प्रयास बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्पूर्ण विश्वभरका आफ्ना व्यापार साझेदारविरुद्ध अतिरिक्त भन्सार महसुल युद्ध सुरु गरेको बेला दुई देशबिचको सम्बन्ध नजिकिँदै गएको छ ।

ट्रम्पको अतिरिक्त भन्सार महसुलबाट चीन सबैभन्दा बढी प्रभावित छ । चीनबाट अमेरिकामा भित्रिने सामानमा ट्रम्पले १४५ प्रतिशत अतिरिक्त भन्सार महसुल लगाएका छन् । यसैबिच, भारत र चीनले आपसी सहयोग प्रवर्द्धन गर्ने इच्छा व्यक्त गरेका छन् । 

चीनले आफ्नो यात्रा नीति खुकुलो बनाएर भारतीयहरूलाई आफ्नो देशमा आमन्त्रित गर्ने प्रयास गरेको छ । ‘यस वर्षको अप्रिल ९ सम्मको अवधिमा भारतस्थित चिनियाँ दूतावास र वाणिज्य दूतावासहरूले भारतीयहरूका नाममा ८५ हजारभन्दा बढी भिसा जारी गरेका छन् ।

हामी खुला, सुरक्षित, जीवन्त र मैत्रीपूर्ण चीनको अनुभव गर्न थप भारतीय साथीहरूलाई स्वागत गर्दछौँ’ चिनियाँ राजदूत सु फेइहोङले माइक्रो ब्लगिङ वेबसाइट एक्समा लेखेका छन् । 

को–को जाँदैछन् चीन ? 

८५ हजार जनामा अध्ययनका लागि गएका विद्यार्थीहरू पनि छन् । यसमा व्यापारिक अवसरहरू अन्वेषण गर्न गएका व्यवसायीहरू र चीनको संस्कृति अनि सुन्दरता हेर्न आएका पर्यटकहरू पनि छन् । भिसा प्राप्त गर्नेहरूमा केही सरकारी अधिकारी, डाक्टर, कुनै सम्मेलन वा शैक्षिक कार्यक्रममा भाग लिन गएका व्यक्तिहरू पनि रहेको बताइएको छ । 

भारतीयहरूलाई आकर्षित गर्न चीनले भिसा प्रक्रियालाई सरल र तीव्र बनाएको छ । अनलाइन अपोइन्टमेन्टको आवश्यकता हटाइएको छ । सिधै आवेदन बुझाउन सकिने भएको छ । बायोमेट्रिकमा छूट दिइएको छ । चीनले भिसा लागतमा उच्च कमी गरेको छ । भिसा आवेदनहरू छिटो स्वीकृत भइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप