आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय

‘आई लभ यू केपी बा’ होइन, संसद् विघटनको हिसाब माग्नुपर्छ : घनश्याम भुसाल

मङ्गलबार, ०९ वैशाख २०८२, १३ : ५३
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले लहडका भरमा संविधान संशोधन भए देश बहुआयामिक द्वन्द्वमा फस्न सक्ने चेतावनी दिएका छन् । 

मंगलबार राजधानीमा पार्टीले १५६ औँ लेनिन जयन्ती तथा नेकपा स्थापना ७६ औँ वर्ष पुरा भएको अवसरमा आयोजना भएको विचार गोष्ठीमा बोल्दै भुसालले चेतावनी दिएका हुन् । 

‘संविधान संशोधनका कुरा उठेको छ । शासकको लहडमा संविधान संशोधन हुने हो भने देश बहुआयामिक द्वन्द्वमा फस्नेवाला छ । कसैले धर्म निरपेक्षताको नाममा, कसैले निर्वाचन प्रणालीको नाममा, कसैले शासकीय स्वरूपको नाममा त कसैले समावेशीको नाममा संविधान च्यात्नेवाला छन्’, चेतावनी दिँदै उनले भने । 

भुसालले देश असफल हुने, नेता तथा पार्टी सफल हुने अवस्था देखिएकाले अहिले शासक जहाँ गयो त्यहीँ विरोध हुने अवस्था आएको बताए । यो तहसम्मको अविश्वास हुँदा समेत प्रधानमन्त्री केपी ओलीले वैशाख ११ गते भिड जम्मा गरेर आफू बलियो छु भनेर देखाउन खोजेको उनले आरोप लगाए । 

‘शासकमाथि देखिएको विरोधलाई प्रतिवाद गर्न प्रधानमन्त्रीले वैशाख ११ गते ठुलो मास जम्मा गर्दैछन् । दुर्भाग्य ! जुलुसमा आउनेहरूले पनि आइ लभ यु केपी बा भन्ने होलान् । उनीहरूले आइ लभ यु बा होइन । कमरेड केपी हाम्रो हिसाब देऊ । क्रान्तिको हिसाब देऊ । पार्टी विघटन, संसद् विघटन, लोकतन्त्रमाथि भएका आक्रमणको हिसाबकिताब देऊ भन्नुपर्ने  हो’, उनले भने । 

भुसालले समाजवादी क्रान्तिका लागि उच्च तहको बौद्धिकता र दृढता आवश्यक रहेको बताए । जतिसुकै आलोचना भएपनि पुँजीवादीले लेनिनमाथि यी दुई कुरामा कसैले प्रश्न नउठाएको उनले जिकिर गरे । लेनिनको बौद्धिकता अनुकूलको दृढताले धेरै अर्थ राख्ने भुसालको भनाइ छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप