इरान–अमेरिका वार्ता नयाँ चरणमा : विशेषज्ञहरु मार्फत समाधानको खोजी
मस्कट । इरान र संयुक्त राज्य अमेरिकाबिच शनिबार ओमानको राजधानी मस्कटमा इरानको तीव्र रूपमा अगाडि बढिरहेको आणविक कार्यक्रमबारे गहन वार्ता सुरु भएको छ । यी वार्ताहरू मुख्यतः तेहरानद्वारा युरेनियम प्रशोधनको स्तरमा केन्द्रित हुने विश्वास गरिएको छ ।
इरानी सरकारी टेलिभिजनले वार्ता मस्कटमा सुरु भएको पुष्टि गरेको छ । अमेरिकी मध्यपूर्व दूत स्टिभ विटकोफसँग निकट स्रोतले पनि गोपनीयताका सर्तमा वार्ता प्रारम्भ भएको जानकारी दिएका छन् । हाल वार्ताको नेतृत्व गरिरहेका इरानी विदेश मन्त्री अब्बास अराघची र अमेरिकी दूत श्री स्टिभ विटकोफले वार्ताको विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन् ।
अराघची शुक्रबार ओमान पुगेर त्यहाँका विदेश मन्त्री बद्र अल–बुसैदीसँग शिष्टाचार भेट गरेका थिए । उनले मस्कट अन्तर्राष्ट्रिय पुस्तक मेलाको पनि अवलोकन गरेका थिए । शनिबार बिहानको भिडियो फुटेजमा उनी वार्ता स्थलतर्फ प्रस्थान गरिरहेको देखिएको थियो ।
विटकोफ शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट सकेर शनिबार ओमान आइपुगेका थिए । यत्तिकैमा, शनिबार वार्ता सुरु भएलगत्तै इरानको दक्षिणी भागमा रहेको एक प्रमुख बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा कम्तीमा ५१६ जना घाइते भएका छन् । अधिकारीहरूले प्रारम्भिक रूपमा विस्फोटको कारण खुलाउन नसके पनि यो तेल वा ग्यास उद्योगसँग सम्बन्धित नरहेको बताएका छन् ।
वार्ताको पृष्ठभूमि र सम्भावना
यी वार्ताहरूको उद्देश्य इरानको आणविक कार्यक्रमलाई सीमित गर्नुका साथै अमेरिकाद्वारा लगाइएका कडा आर्थिक प्रतिबन्धहरू फुकुवा गर्ने रहेको बुझिएको छ । विगतका दशकहरूदेखि जारी द्विपक्षीय तनावलाई मध्यनजर गर्दै, यो वार्ता महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि वार्ता सफल नभए सैन्य विकल्प खुला रहने सङ्केत दिँदै आएका छन् । अर्कोतर्फ, इरानी अधिकारीहरूले आफ्नो प्रशोधित युरेनियम भण्डारणलाई आधार बनाएर आणविक हतियार विकासको सङ्केत दिने अभिव्यक्तिहरू दिएका छन् ।
सन् २०१५ मा भएको आणविक सम्झौताले इरानको कार्यक्रमलाई नियन्त्रणमा ल्याएको भए पनि, सन् २०१८ मा अमेरिका त्यस सम्झौताबाट एकपक्षीय रूपमा बाहिरिएपछि परिस्थिति झन् जटिल बनेको हो ।
हाल राष्ट्रपति ट्रम्प पोप फ्रान्सिसको अन्त्येष्टि कार्यक्रममा सहभागी हुन रोममा रहेका छन् । विमानमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘हामी आशावादी छौं कि सम्झौता सम्भव छ । युद्धको सट्टा सम्झौता हुनु मानवताको हितमा हुनेछ ।’
प्राविधिक तहमा प्रवेश
अराघची र विटकोफले वार्ताको नेतृत्व गरिरहे पनि अब वार्ताको प्रारूप प्राविधिक तहमा प्रवेश गरिसकेको छ । इरानको पक्षबाट उप–विदेश मन्त्री माजिद ताक्त–ए–रावान्चीले प्राविधिक टोलीको नेतृत्व गर्नेछन्, जसले सन् २०१५ को सम्झौतामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
अमेरिकी पक्षबाट राज्य सचिव मार्को रुबियोका नीति योजनाकार माइकल एन्टनले नेतृत्व गर्नेछन्, यद्यपि उनले पूर्वका वार्ताकारहरू जति आणविक नीति अनुभव नपाएको बताइएको छ ।
इरानले युरेनियम प्रशोधनमा आफ्नो अधिकार सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिँदै आएको छ ।
प्रारम्भिक टिप्पणीमा विटकोफले ३.६७५ सम्मको प्रशोधन स्वीकार्न सकिने सङ्केत दिएका थिए, तर पछिल्लो समय उनले पूर्ण रूपमा प्रशोधन रोक्नुपर्ने माग पुनः दोहोर्याएका छन् । अमेरिकी विदेश सचिव रुबियोले पनि सोही धारणा समर्थन गरेका छन् ।
यद्यपि, इरानभित्रका केही नागरिकहरूले वार्तालाई सकारात्मक रूपले हेरेका छन् । तेहरान निवासी फरजिन कैवानले भने, ‘वार्ता गर्नु स्वाभाविक रूपमा राम्रो कुरा हो । कार्यक्रमको आकार जे भए पनि, यदि आपसी सम्मानका आधारमा सम्झौता सम्भव छ भने त्यो स्वागतयोग्य हुनेछ । तर, हामीले धेरै त्याग गरिसकेका छौं, त्यसैले हाम्रा हितहरूको पनि रक्षा हुनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण