शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय

कोशी प्रदेशः तीन महिनामा कारागार र ब्यारेकमा ६ जनाको मृत्यु

बुधबार, २४ वैशाख २०८२, २० : ४५
बुधबार, २४ वैशाख २०८२

मोरङ । कोशी प्रदेशमा तीन महिनाको अवधिमा प्रहरी ब्यारेक र जिल्ला कारागारमा गरी ६ जनाको मृत्यु भएको छ ।

इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले सन् २०२५ को जनवरीदेखि मार्चसम्म मानव अधिकार अवस्थाका विषयमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार झापा, मोरङ र सुनसरीमा रहेका कारागार र ब्यारेकमा गरी ६ जनाको मृत्यु भएको हो । 

गत तीन महिनामा कोशी प्रदेशको मानव अधिकारलाई विश्लेषण गर्ने हो भने मानिसको सबैभन्दा ठुलो अधिकार बाँच्न पाउने अधिकारबाट १२ जना नागरिक विमुख भएको इन्सेक प्रदेश संयोजक मनोहर पोखरेलले बताए । पोखरेलका अनुसार प्रहरी ब्यारेकभित्र एक जना सईसहित राज्यको नियन्त्रणमा भएका ६ जना नागरिकले यस अवधिमा ज्यान गुमाउनुपरेको छ । अन्य पक्षबाट ६ जनाको हत्या गरिएको छ । यस अवधिमा एक जनालाई जिउँदै जलाएर हत्याको प्रयास गरिएको छ ।

इन्सेकको अभिलेखअनुसार ०८१ पुस १६ गतेदेखि चैत १८ गतेसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय झापाको ब्यारेकभित्र र कारागारमा गरी दुई जनाको मृत्यु भएको छ । जिल्ला कारागार मोरङका तीन जना र सुनसरी झुम्का कारागारमा एक जना गरी चार जनाको मृत्यु भएको इन्सेकले सार्वजनिक गरेको स्थितिसूचकमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय झापाको ब्यारेमा कानेपोखरी गाउँपालिका ७ का ४९ वर्षीय सई धनराज खतिवडाको फागुन ४ गते झुण्डिएर मृत्यु भएको र जिल्ला कारागार झापामा भद्रपुर नगरपालिका १ का ४० वर्षीय मदन सिलवालको माघ २९ गते मृत्यु भएको इन्सेकको स्थितिसूचकमा उल्लेख छ ।

जिल्ला कारागार मोरङमा रहेका बेलवारी नगरपालिका–४ का ६७ वर्षीय अम्मरबहादुर राईको पुस २० गते, पथरी शनिश्चरे नगरपालिका–४ का जेठा भनिने जितबहादुर देवानको चैत १ गते र रतुवामाई नगरपालिका ५ का २९ वर्षीय किसन टुडुको माघ २९ गते मृत्यु भएको इन्सेकको अभिलेखमा देखिन्छ ।

तीन महिनाको अवधिमा ताप्लेजुङको पाथीभरा मुकुम्लुङ क्षेत्रमा भएको आन्दोलनमा प्रहरीले सात जना महिला र ४२ जना पुरुष गरी ४९ जनालाई गिरफ्तार गरेको छ । सो अवधिमा राज्य पक्षबाट भएका कुटपिटका घटनामा चार जना पुरुष घाइते भएका छन् ।

तीन महिनाको अवधिमा कोशी प्रदेशमा राज्य पक्षबाट भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५९ जना र अन्य पक्षबाट भएका मानव अधिकारविरुद्धका घटनामा ३ सय १६ जना गरी कूल ३ सय ७५ जना पीडित भएको इन्सेक कोशीले जनाएको छ ।

अन्य पक्षबाट भएका घटनामा घाइते पुरुष ३०, कुटपिट महिला दुई र पुरुष सात गरी नौ, अमानवीय व्यवहार घटनामा दुई जना पुरुष, हत्याका घटना दुई जना महिला र दुई जना पुरुष गरी चार, अपहरण घटनामा एक जना महिला, धम्कीका घटनामा एक जना पुरुष, बाल अधिकारविरुद्ध घटनामा ४१ जना र महिला अधिकारविरुद्ध घटनामा २ सय २८ गरी कुल ३ सय १६ जना पीडित भएका छन् ।

इन्सेक अभिलेखका आधारमा तीन महिनाको अवधिमा २९ जना बालिका बलात्कार र १२ जना बालिका यौन दुर्व्यवहारका घटनामा पीडित भएका छन् । 

महिला अधिकारविरुद्ध घटनामा बलात्कार २६, बलात्कार प्रयास एक, यौन दुर्व्यवहार एक, परिवारजनबाट हत्या दुई, यौनजन्य साइवर अपराध एक र घरेलु हिंसामा १ सय ९७ गरी २ सय २८ जना महिला पीडित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप