बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
युरोपियन च्याम्पियन्स लिग फुटबल

बार्सिलोनाका मार्टिनेज भन्छन्, ‘उनले मेरो कानमा आएर खुसीयाली मनाए तर, मैले थुकेको हाेइन’

बिहीबार, २५ वैशाख २०८२, ०९ : ५०
बिहीबार, २५ वैशाख २०८२

काठमाडौँ । स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाका डिफेन्डर ईनिगो मार्टिनेजले इटालियन क्लब इन्टर मिलानका खेलाडी फ्रान्सिस्को एसर्बीलाई थुकेको आरोप निराधार भएको दाबी गरेका छन् । उनले खेलका क्रममा आफूले एसर्बीलाई कुनै दुर्व्यवहार नगरेको बताए । 

युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेग खेलका क्रममा मार्टिनेजलाई आफूलाई थुकेको भन्दै एसर्बीले उजुरी गरेका थिए । मंगलबार राति सान सिरोमा खेलिएको दोस्रो लेग खेलमा इन्टर मिलानले बार्सिलोनालाई ४–३ गोलले हराएको थियो ।

त्यो जितसँगै सेमिफाइनलमा बलियो बार्सिलोनालाई ६–७ कुल गोल भिन्नताले पछि पार्दै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमै इन्टर मिलानका हकान काल्हानोग्लुले पेनाल्टी प्रहारको अवसर पाएका थिए ।

हकानले त्यो अवसरलाई सदूपयोग गर्दै इन्टर मिलानलाई २–० गोलको अग्रता दिलाएका थिए । हकानको गोलपछि एसर्बीले मार्टिनेजको छेउबाट दौडँदै गएर खुसीयाली मनाएका थिए । सोही क्रममा मार्टिनेजले आफूमाथि थुकेको आरोप एसर्बीले लगाएका हुन् । 

‘एसर्बीले मेरो कानमा आएर गोलको खुसीयाली मनाएका थिए । उनको त्यो व्यवहार राम्रो थिएन । मलाई त्यो व्यवहार अस्वभाविक लागेको थियो । तर, मैले उनलाई थुकेको आरोप भने सरासर गलत हो,’ मार्टिनेजले भनेका छन् । 

त्यो घटनालगत्तै एसर्बीले रेफ्रीसँग मार्टिनेजले आफूलाई थुकेको भन्दै गुनासो गरेका थिए । त्यसपछि रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) को सहयोग मागेका थिए । भिडियो फुटेजमा भने मार्टिनेजले एसर्बीतिर हेरेर थुकेको देखिएको थियो । 

तर, त्यतिबेला मार्टिनेजलाई भने कुनै कारवाही गरिएको थिएन । उक्त खेलमा दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा एसर्बी आफैले पनि गोल गरेका थिए । च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) को सामना गर्नेछ । 

पीएसजी भने सेमिफाइनलमा इङ्लिस प्रिमियर लिग क्लब आर्सनललाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । च्याम्पियन्स लिगको फाइनल खेल मे ३१ तारिखमा जर्मनीको म्युनिखमा खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप