निर्माणाधीन सडक अनुगमनमा उपमेयर डङ्गोल : प्राविधिक प्रतिवेदन पेस गर्न निर्देशन
सारांश
- काठमाडौं महानगरपालिकाले लैनचौर मार्गमा सडक कालोपत्रेको अनुगमन गरेको छ, जसमा उपप्रमुख डङ्गोलको नेतृत्व रहेको थियो।
- अनुगमनमा सडकको गुणस्तर, विटुमिनको मात्रा, र अन्य संरचनाको जाँच गरिएको थियो, र प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका योजना अनुगमन समितिले लैनचौर मार्गमा गरिएको अस्फाल्ट (सडकमा कालोपत्रे थप गर्ने) को अनुगमन गरेको छ । बिहीबार समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको नेतृत्वमा अनुगमन गरिएको हो ।
यस क्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सहरी योजना आयोगका उपाध्यक्ष डा.सुमननरसिंह राजभण्डारी, वडाध्यक्ष ख्यामराज तिवारी, सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्य, योजना, अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा सुवेदी लामिछानेसहित प्राविधिकहरू रहेका थिए ।
अनुगमनका क्रममा बाहिरी आँखाले देखिएका त्रुटि सुधार गर्न निर्देशन दिँदै उपप्रमुख डङ्गोलले, प्राविधिक प्रतिवेदन माग गरिन् । उनले भनिन्, ‘काम राम्रो देखिएको छ । यसलाई पुष्टि गर्न कागजमा लेखिएको र फिल्डको अवस्था दाँजेर हेर्नुपर्छ । इञ्जिनियरहरुसँग प्राविधिक प्रतिवेदन पेस गर्न भन्नु भएको हो ।’
अनुगमनका क्रममा सडक कालोपत्रे गर्न प्रयोग गरिएको विटुमिनको मात्रा तथा गुणस्तर, कालोपत्रको मोटाइ, कम्प्याक्सन (खँदिलोपना), निर्माण सामग्रीको मिश्रण, ढल निकास, खानेपानीसहित अन्य संरचनासँगको सञ्जाल सम्बन्ध हेरिएको थियो । निर्माण कार्यअन्तर्गत अस्फाल्टको काम सकिएको छ । साइड ड्रेन (सतह पानीको निकास) का लागि काम गर्न बाँकी छ ।
यो मार्ग ४३४ मिटर लामो छ । महानगर गौरव योजना ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत सडकमा ओभरलेइङ् गरिएको हो । यो मार्ग सँगै महानगरपालिकाको उत्तरी क्षेत्रका ९ वटा वडाका सडक ओभरलेइङ् भइरहेका छन् । यस क्षेत्रको कामका लागि आह्वान गरिएको सार्वजनिक बोलपत्रको सूचनाबाट आएका निर्माण पक्षमध्ये ढुकुछु–आरए जेभीले कामको जिम्मा पाएको छ ।
निर्माण पक्षसँग २०८१ असार ७ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८३ असार मसान्तसम्म हो । करिब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट ७३ करोड रुपैयाँमा सम्झौता भएको छ । यसअन्तर्गत अहिलेसम्म करिब २० करोड रुपैयाँ बराबरको काम सम्पन्न भइसकेको छ ।
महानगरको भौगोलिक क्षेत्रलाई ४ भागमा विभाजन गरेर हरेक क्षेत्रका लागि एउटा प्याकेज बनाइएको छ । यसअन्तर्गत सडकमा ओभरलेइङ् गर्ने, आसीसी ढलान गर्ने, ढुङ्गा छाप्ने काम गरिन्छ । यो ३ वर्षसम्म सञ्चालन हुने वहुवर्षाीय योजना हो । यसका लागि हरेक वर्ष करिब १ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
पूर्व क्षेत्रमा ७ वटा वडा पर्छन् । यी वडामा काम गर्न करिब ९० करोड रुपैयाँको लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट यसको कार्यादेश रकम ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ । कामको जिम्मा वर्ल्ड वाइड–कोहिनुर–रमिता जेभीले पाएको छ । निर्माण पक्षसँग २०८१ असोज १४ गते सम्झौता भएको छ । सम्झौताको अवधि २०८३ असार मसान्तसम्म हो ।
मध्य क्षेत्रमा भित्री १२ वटा वडा पर्छन् । यस क्षेत्रको कामका लागि करिब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । यसमा बोलपत्रमार्फत करिब ३४ करोड ३३ लाख रुपैयाँ कबोल गर्ने अर्याल– युएसजी–आरएस लक्ष्मी जेभीले कामको जिम्मा पाएको छ । निर्माण पक्षसँग २०८१ जेठ २९ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८४ जेठ मसान्तसम्म हो ।
पश्चिम क्षेत्रमा वडा नं. १३, १४, १५ र १६ पर्छन् । यस क्षेत्रका लागि करिब ६६ करोड ८५ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट यो कामका लागि पिआर के एन्ड के.जी. – अम्बुजा जेभीसँग २०८२ वैशाख २ गते ६५ करोड ७० लाख रुपैयाँमा काम गर्न सम्झौता भएको छ । यसको अवधि २०८४ वैशाख मसान्तसम्म हो ।
सडकसँग सम्बन्धित अर्को परियोजनाले मागका आधारमा तत्काल सडक मर्मत सम्भार गर्छ । यसका लागि महानगरपालिकाले एउटै प्याकेजमा निर्माण पक्ष आह्वान गरेको थियो । यसमा छानिएको गणेश एन्ड गङ्गा, रमिला जेभिसँग २०८० फागुन २३ गते सम्झौता भयो । करिब १२ करोड ६५ लाख रुपैयाँ लागत रहेको यो योजना २०८१ फागुन मसान्तसम्मका लागि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण