डान्सर स्वस्थानीलाई प्रश्न : नृत्यलाई समाजले कसरी हेर्छ ?

समाचार सारांश
- स्वस्थानी तामाङ एक व्यस्त नर्तकी हुन्, जसले विभिन्न कार्यक्रममा नृत्य प्रस्तुत गर्छिन्।
- उनले नृत्यबाट अन्तर्राष्ट्रिय क्षेत्रमा देशको नाम राख्ने लक्ष्य लिएकी छिन् र ४ वटा विद्यालयमा नृत्य शिक्षकको रूपमा काम गर्छिन्।
- उनको फिल्ममा अभिनय गर्ने सोच छ, त्यसैले उनी अभिनय प्रशिक्षण लिइरहेकी छिन् र एक बहुमुखी नर्तकी बन्ने सपना बोकेकी छिन्।
काठमाडौँ । पछिल्लो समयकी व्यस्त डान्सर हुन् स्वस्थानी तामाङ । स्टेज कार्यक्रम होस्, अवार्ड होस् वा पुरस्कार समारोह । उनको नृत्य देख्न पाइन्छ ।
केही दिन अगाडि वितरण भएको ‘हरितारा पुरस्कार’ समारोहमा समेत उनको नृत्य समावेश थियो । सानैदेखि नृत्यमा रुचि भएकी तामाङले देशका विभिन्न एक सय बढी कार्यक्रममा नृत्य प्रस्तुति दिइसकेकी छन् ।
अभिनेत्री मिथिला शर्मालाई आफ्नो प्रेरणा मान्ने उनी नृत्य गर्दा मिल्ने आनन्द अन्य क्षेत्रबाट अनुभव गर्न नसकेको बताउँछिन् । नृत्यबाटै अन्तर्राष्ट्रिय क्षेत्रमा देशको नाम राख्ने लक्ष्य राखेकी उनी ४ वटा स्कुलमा डान्स टिचरका रूपमा समेत कार्यरत छिन् ।
डान्स रियालटी शो प्रतिभाको आँगनकी विजेतासमेत रहेकी उनको फिल्म अभिनय सोच पनि छ । त्यसैले उनी अहिले सर्वनाम थियटरमा अभिनय प्रशिक्षण पनि लिइरहेकी छन् । भर्सटायल डान्सर बन्ने सपना पालेकी डान्सर स्वस्थानीलाई यस्तो छ रातोपाटीको १० प्रश्न ।
- नृत्यमा रुचि कहिलेदेखि भयो ?
– सानैदेखि म नृत्य भन्नेबित्तिकै हुरुक्क हुन्थेँ । विद्यार्थी जीवनमा स्कुलका नृत्य प्रतियोगितामा भाग लिएर प्रथम पुरस्कार जित्थेँ । गाउँघरका कार्यक्रममा समेत नृत्य गर्दै हुर्किएकी हुँ । नृत्य गर्दा मलाई जुन आनन्द मिल्छ, त्यो आनन्द अहिलेसम्म अन्य कुनै कामबाट महसुस गरेकी छैन । त्यसैले अहिले पनि नृत्य रोजेकी हुँ । मेरो बुझाइमा नृत्यबाट आफ्नो इमोसन पोख्न सजिलो छ । नृत्य कलाबाट अगाडि बढ्न पनि सकिन्छ ।
- नृत्यमा दुःख बढी हुन्छ भन्छन् नि, हो र ?
– नृत्य कलाको गाह्रो विधामध्य एक हो । नृत्य गर्न पूरै शरीर चलाउनुपर्छ । त्यसैले त गाह्रो छ । तर सबैको मन जित्न सकिने विधा पनि हो । नृत्य मन नपराउने सायदै होलान् । हाम्रो देश वेशभूषा, कला संस्कृतिमा धनी छ । सबै वेशभूषा, कलासंस्कृतिमा नृत्यमा समेट्न सकिन्छ । नृत्यमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्लेटफर्ममा सजिलै पुग्न सकिन्छ ।
- नृत्य गरेरै बाँच्न सकिन्छ त ?
– अहिले देश तथा विदेशका विभिन्न सांगीतिक कार्यक्रमहरू आयोजना भइरहेका छन् । ती कार्यक्रममा नृत्यले राम्रो प्राथमिकता पाइरहेको छ । आम्दानी पनि राम्रो गर्न सकिन्छ । कतिपय स्कुल, कलेजमा पनि नृत्य अनिवार्यजस्तै छ । पछिल्लो समय सबैलाई आ–आफ्नो कलासंस्कृति प्यारो हुन थालेका छन् । त्यसैले अहिले कलासंस्कृति झल्काउन कलाकारलाई राम्रो रकम दिएर बोलाउने चलन पनि बढेको छ । नृत्य गर्ने मानिसलाई फिटनेसको आवश्यकता पर्दैन । ‘जो नाच्छ, त्यो बढी बाँच्छ’ भन्ने उखानै छ नि ।
- कुन नृत्यले बढी आनन्द दिन्छ ?
– एउटा कलाकारले सबै प्रकारका नृत्य गर्न सक्नुपर्छ । मैले बेली, आधुनिकदेखि कल्चरलसम्म सबै प्रकारका नृत्य गर्दै आएकी छु । कस्तो ठाउँमा कुन नृत्य भन्ने ठाउँ, समय र परिस्थितिले निर्धारण गर्छ । कल्चरल नृत्यमा विशेष रुचि पनि छ र त्यसमा आफूलाई आनन्दित महसुस गर्छु ।
- स्टेज कार्यक्रम नृत्य मात्र कि, फिल्म तथा म्युजिक भिडियोमा पनि नाच्नुभएको छ ?
– अहिलेसम्म देशका विभिन्न भागका कार्यक्रम गरेर एकसय बढी स्टेज कार्यक्रममा नृत्य गरेकी छु । म्युजिक भिडियो एउटा मात्र गरेकी छु, एलिना चौहानको । अब फिल्म तथा म्युजिक भिडियोमा पनि छाउने विचार छ । त्यसैले मण्डला थियटरमा अभिनय सिकिरहेकी छु । फिल्ममा डान्सरभन्दा पनि अभिनेत्रीको रूपमा देखिने सोच हो ।
- नृत्यलाई हाम्रो समाजले कसरी हेर्छ ?
–नृत्य, कला प्रस्तुत गर्ने एउटा उत्कृष्ट विधा हो । यो विधा पहिलेदेखि नै चल्दै आएकाले समाजले राम्रो रूपमा लिएको पाएकी छु । पछिल्लो समय नृत्यमा विकृति विसंगति पनि भित्रिएको छ । त्यसप्रति समाज सचेत छ । त्यसैले विकृति विसंगतिले भरिएका नृत्यको वेलावेलामा आलोचना हुँदै आएको छ । हाम्रो देशमा कम्युनिटीअनुसार आ–आफ्नो कलासंस्कृति छ र त्यसअनुसारका नृत्य छन् ।
सबै कम्युनिटीको नृत्य एउटै कलाकारले गर्न मिल्छ । जुनै नृत्य गर्नुस् समाजबाट ताली र तारिफ पाइन्छ । यो नृत्यलाई समाजले राम्रो दृष्टिबाट हेरेको एउटा प्रमाण होइन र ?
- नृत्यबाट केही सपना पनि देख्नुभएको छ कि ?
–सपना ठुलो देखेकी छु । देश विदेशमा एउटा भर्सटाइल डान्सरको रूपमा चिनिन चाहन्छु । नृत्यमार्फत नेपाली कला संस्कृति विदेशमा पुर्याउने सोच छ ।
- कला क्षेत्रमा भविष्य देखेरै त नृत्य रोज्नुभएको होला, हैन ?
– नृत्य सानैदेखिको रुचिको विषय हो । कला क्षेत्रमा भविष्य नदेखे पनि नृत्य छोड्न सक्दिनँ । तर, अहिले कला क्षेत्र पनि राम्रो छ ।
- कतिपय कला क्षेत्रमा भविष्य छैन भन्छन् नि ?
– त्यो गलत हो । धैर्यता, मिहिनेत र अनुशासन भएर लाग्नेलाई नाम, दाम, इज्जत सबैथोक छ । तर, समय लाग्न सक्छ, सफलता मिल्छ । आजको भोलि सफलता भने मिल्दैन ।
- नृत्यमा आउन चाहनेलाई के भन्नुहुन्छ ?
– नृत्य एउटा कलाको उत्कृष्ट विधा हो । नृत्य अन्यजस्तो सजिलो छैन । यसमा अनुशासन र धेरै मिहिनेत चाहिन्छ । नृत्यबाट स्वदेश तथा विदेशमा नाम कमाउन सकिन्छ । कला संस्कृति प्रचार गर्न सजिलो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा गैँडाको खागसहित दुई जना पक्राउ
-
मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नरबारे निर्णय हुनसक्ने
-
विद्यालय शिक्षा विधेयकमा उपसमितिको प्रतिवेदनप्रति शिक्षकहरू रुष्ट
-
मनिषाको घातक बलिङ, नेपालसामु १ सय १५ रनको लक्ष्य
-
बिन्दास हैदराबादसँग भिड्दै जित्नैपर्ने दबाबमा रहेको लखनउ
-
विस्थापित सिरियालीहरू अनिश्चितताको बीचमा घर फर्किए