सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
महिला टी–२० विश्वकप

मनिषाको घातक बलिङ, नेपालसामु १ सय १५ रनको लक्ष्य

सोमबार, ०५ जेठ २०८२, १० : १५
सोमबार, ०५ जेठ २०८२

समाचार सारांश

  • थाइल्याण्डमा जारी महिला टी-२० विश्वकप छनोटको सुपर-३ चरणमा यूएईले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको छ।
  • यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनायो, जसमा ईशा ओजाले ३९ रन बनाइन्।
  • नेपालका लागि मनिषा उपाध्यायले ४ विकेट लिइन्, भने सुपर-३ चरणमा नेपालले मंगलबार थाइल्याण्डसँग खेल्नेछ।

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपका लागि थाइल्याण्डमा जारी एसियाली क्षेत्रको छनोट प्रतियोगिताको सुपर–३ चरणको पहिलो खेलमा नेपालसामु यूएईले जितका लागि १ सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाएको हो । 

टोलीका लागि कप्तान ईशा ओजाले ३९ बलमा सर्वाधिक ३९ रन जोडिन् । उनले २ चौका र १ छक्का प्रहार गरिन् । उनले पहिलो विकेटका लागि थिर्था सतिशसँग मिलेर ४५ रनको साझेदारी गरिन् । सतिशले ३२ बलको सामना गर्दै २ चौकाको मद्दतले २१ रन जोडिन् ।

500025110_1141025651387147_2060320457517948856_n

हिना हटचाँदनीले १६ बलमा २० रनको योगदान दिइन् । उनले ३ चौका हिर्काइन् । लाभान्या केनीले ११ बलमा १२ रन बनाइन् । उनले २ चौका प्रहार गरिन् ।

नेपालका लागि मनिषा उपाध्यायले घातक बलिङ गर्दै ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट लिइन् । कविता कुँवरले २ तथा राजमती ऐरीले एक विकेट हात पारिन् ।

सुपर–३ चरणमा खेल्न लागिएको यो दोस्रो खेल हो । यसअघि आइतबार खेलिएको खेलमा आयोजक थाइल्यान्डले यूएईलाई ५४ रनले हराएको थियो । नेपाली टोली समूह ‘सी’ को विजेता बन्दै प्रतियोगिताको सुपर–३ चरणमा पुगेको हो ।

यसैगरी, यूएई समूह ‘बी’ को विजेता र थाइल्यान्ड समूह ‘ए’ को विजेता बन्दै सुपर–३ चरणमा प्रवेश गरेका हुन् । सुपर–३ चरणमा नेपालले आफ्नो दोस्रो खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ । सुपर–३ चरणमा तीनवटै टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् ।

सुपर–३ चरणको खेलपछि अंक तालिकाको माथिल्लो दुई स्थानमा रहने टोली आगामी महिला टी–२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगितामा प्रवेश गर्नेछन् । विश्वस्तरीय छनोट प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ ।

हालसम्म विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने तीन टोलीको मात्र टुंगो लागेको छ । बंगलादेश, स्कटल्यान्ड र अमेरिकाले विश्वस्तरीय छनोट प्रतियोगितामा स्थान बनाइसकेका छन् । बाँकी सात टोलीको भने टुंगो लाग्न बाँकी छ ।

विश्वस्तरीय छनोट प्रतियोगिताका लागि अब एसियाबाट दुई, युरोपबाट दुई, अफ्रिकाबाट दुई र पूर्वी एसिया–प्यासिफिक क्षेत्रबाट एक टोलीको टुंगो लाग्न बाँकी छ । विश्वस्तरीय छनोट प्रतियोगिताबाट चार टोलीले सन् २०२६ मा आयोजना हुने महिला टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप