एउटा तस्बिरले कति फरक पार्न सक्छ र...

समाचार सारांश
- सन् २०२५ को वर्ल्ड प्रेस फोटो अफ द इयर प्यालेस्टाइनी फोटोग्राफर समर अबु एलोफले खिचेको तस्बिरले जित्यो, जसमा गाजापट्टीमा इजरायली हमलामा हात गुमाएका बालकको तस्बिर छ।
- इजरायलको हमलामा घाइते बालकको तस्बिरले इजरायलको गाजामा गरेको नरसंहार र बालबालिकामाथि परेको पीडालाई चित्रण गर्दछ।
- लेखकले तस्बिरको महत्व र युद्धको भयावहतालाई उजागर गर्दै, सामाजिक सञ्जालमा तस्बिरको प्रभाव र संवेदना घट्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्।
यो महिना प्यालेस्टाइनी फोटोग्राफर समर अबु एलोफले खिचेको तस्बिरले सन् २०२५ को ‘वर्ल्ड प्रेस फोटो अफ द इयर’ हात पार्यो । यो जित गत वर्ष न्युयोर्क टाइम्सका लागि लिइएको ९ वर्षे बालक महमुद अज्जौरको तस्बिरले दिलाएको हो ।
उनले तस्बिर खिचेका अज्जौरका दुवै हात गुमेका थिए । उनले आफ्ना हात गाजापट्टीमा इजरायलले गरेको हमलामा परेर गुमाएका हुन् । गाजापट्टीमा इजरायलको नरसंहार अझै जारी छ । यस क्रममा सन् २०२३ को अक्टोबरदेखि हालसम्म ५२ हजार ३६५ जनाले ज्यान गुमाइसकेका छन् ।
पुरस्कार जितेको यो तस्बिरमा ती बालकका दुवै हात काटिएर कुममा ठुटामात्रै देखिन्छन् । उनको टाउको र काटिएका हातहरूमा मधुरो छाया देखिन्छ । यस्तो अवस्थामा पनि ती बालकको हेराइ तीक्ष्ण र आत्मविश्वासले भरिएजस्तो देखिन्छ ।
केही समय पहिले अल जजिरासँगको कुराकानीमा अज्जौरले आफ्नो अनुभव सुनाएका थिए । उनी आफ्ना दुवै हात गुमेको खबर आफ्नो आमाले सुनाउँदाको पल सम्झदै थिए । उनले भनेका थिए, ‘म असाध्यै दुःखी भएँ । रुन, कराउन थालेँ । वास्तवमा त्यो बेला मेरो मानसिक अवस्था असाध्यै नराम्रो थियो ।’
उनलाई बेहोस हुने औषधिसमेत प्रयोग नगरी शल्यक्रिया गरिएको थियो । इजरायलले गाजामा आधारभूत स्वास्थ्य सामग्रीसमेत रोक्ने गरी लगाएको अमानवीय नाकाबन्दीले यस्तो अवस्था सिर्जना भएको थियो । उनी सम्झन्छन्, ‘मैले त दुःखाइ सहनै सकिनँ । यति धेरै चिच्याएर रोएँ कि मेरो क्रन्दनले पूरै अस्पताल थर्किएको थियो ।’
फोटो पत्रकार अबु एलोफका अनुसार यी बालकले शल्यक्रिया पश्चात आफ्नी आमालाई गरेको पहिलो प्रश्न नै हृदयविदारक थियो । उनले सोधेका थिए, ‘आमा अब म तपाईंलाई कसरी अँगालो मार्न सक्छु ?’
मानिसहरू भन्छन्– एउटा तस्बिरले हजारौँ शब्द बोल्न सक्छ, तर संसारले गाजामा भइरहेको नरसंहार देख्न र अनुभूत गर्न यस्ता कति तस्बिर चाहिन्छ होला ?
पक्कै पनि अबु एलोफले खिचेको अज्जौरको तस्बिरले धेरै कुरा देखाइरहेको छ । यसले अमेरिकाको पूर्ण समर्थनमा इजरायलले गाजाका बालबालिकामाथि थोपरेको भयानक पीडालाई राम्रोसँग देखाएको छ । सन् २०२३ को डिसेम्बरको मध्यतिर अर्थात् इजरायली हमलाको केवल दुई महिना जति हुँदाको बखत संयुक्त राष्ट्रसंघीय बाल कोषले गाजामा एक हजारभन्दा धेरै बालबालिकाले आफ्नो एउटा वा दुवै खुट्टा गुमाइसकेको बताएको थियो ।
संयुक्त राष्ट्रसंघको प्रतिवेदन तथा चेतावनीका बाबजुद गत अप्रिलको सुरुवातसम्ममा इजरायलले घेराबन्दी गरेको भूभागमा प्रत्येक दिन एक सय जनाभन्दा धेरै बालबालिकाको हत्या भइरहेको थियो । मानिसहरू भन्छन्– एउटा तस्बिरले हजारौँ शब्द बोल्न सक्छ, तर संसारले गाजामा भइरहेको नरसंहार देख्न र अनुभूत गर्न यस्ता कति तस्बिर चाहिन्छ होला ?
अहिले पनि गाजामा निहत्था मानिसको बेलगाम हत्या चलिरहेको छ । अस्ति भर्खरै अप्रिल ३० तारिखमा भियतनाम युद्ध सकिएको ५० वर्ष पुगेको छ । इतिहासमा यो अर्को रक्तपातपूर्ण अध्याय थियो । जसमा अमेरिकाले व्यापक हत्या शृङ्खला चलाएको थियो ।
यस क्रममा एक जना नौ वर्षकी बालिका किम फुकको तस्बिरले युद्धको असली अनुहार देखाएको थियो । ती बालिका किम सन् १९७२ को जुनमा अमेरिकी आक्रमणमा परेको दक्षिणी भियतनामी गाउँ ट्राङ बाङ बाहिरकी थिइन् ।
द एसोसियट प्रेसका भियतनामी फोटो पत्रकार निक उटले फुकको त्यो तस्बिर खिचेका थिए । त्यो तस्बिर अहिले संसारभर आइकनिक तस्बिर मानिन्छ । तस्बिरमा सडकमा दौडिँदै गरेकी फुकको छाला डढेको छ । साथै उनको अनुहारमा प्रलयभाव सहितको पीडा र क्रन्दन देखिन्छ ।
त्यो तस्बिरलाई आधिकारिक रूपमा युद्धको आतङ्क अर्थात् ‘द टेरर अफ वार’ भनिन्छ । तर, प्रायः यसलाई नापामकी केटी (नापाम गर्ल) भनेर चिनिन्छ । त्यो तस्बिरले पनि सन् १९७३ मा ‘वर्ल्ड प्रेस फोटो अफ द इयर’ पुरस्कार जितेको थियो ।
तस्बिर खिचिएको ५० वर्ष पुगेको बखत अमेरिकी सञ्चार संस्था सीएनएनले लिएको अन्तर्वार्तामा बोल्दै किम फुकले त्यस बखतको आक्रमणको पल सम्झना गरिन्– ‘एक्कासी चारैतिर आगलागी भएको थियो । मेरा सबै कपडा आगोले गर्दा जले । मैले त्यो बेला के सोचेँ भन्ने अझै सम्झना छ मलाई । मलाई मनमा हे भगवान म त डढेँ, अब म कुरुप हुन्छु, अनि मान्छेले के ठान्लान् भन्ने सोचेँ ।’
संसारको कुनाकाप्चामा हुर्कंदै गरेका बालबालिकाले यस्तो शारीरिक र मानसिक पीडा सहनु पर्ने अवस्था हुनु हुँदैनथ्यो । आगोको जलनमा परेर अस्पतालमा १४ महिना बिताइसकेपछि पनि किम फुकले धेरै पीडाको अनुभव गर्नुपर्यो । आफ्नो सर्वाङ्ग नाङ्गो तस्बिर खिचिएकोमा पनि उनलाई असाध्यै लज्जा महसुस हुन्थ्यो ।
सामाजिक सञ्जालको युगमा तस्बिर र भिडियोहरू क्षणिक उपभोगको वस्तुजस्ता झल्याकझुलुक र छिट्टै विस्मृतिमा पुग्न सक्छन् । मान्छेमा तस्बिरले जगाउने संवेदना घटेर गएकोजस्तो भान हुँदैछ ।
सबैले उनको नाङ्गो र घाइते शरीरको तस्बिर देखेकोमा उनलाई असहज महसुस हुन्थ्यो । कहिलेकाहीँ त उनी आत्महत्या गर्नेसम्म सोच्थिन् ।
आजसम्म पनि भियतनामीहरू अमेरिकाले आक्रमणको क्रममा बेवारिसे छोडेका वा जथाभावी खसालेका दशौँ लाख टन बम पड्किएर मृत्युवरण गरिरहेका छन् । धेरै भियतनामीहरू अङ्गभङ्ग भइरहेका छन् ।
अमेरिकाले भियतनामको ठुलो भागमा छर्केको घातक रासायनिक ‘एजेन्ट ओरेन्ज’ ले युद्ध समाप्त भएको ५० वर्ष बितिसक्दा पनि शारीरिक दोषसहित शिशु जन्मिने बनाइदिएको छ । केही शिशु त यसैकारण सानै उमेरमा मर्ने गरेका छन् । ‘एजेन्ट ओरेन्ज’ भन्ने रासायनिक हतियारबाट अमेरिकाले भियतनामका अधिकांश जङ्गल र खेतमा आगो लगाउने गर्थ्यो ।
सन् १९७७ मा अमेरिकी लेखक सुसन सोन्टागले लेखेको पुस्तक ‘अन फोटोग्राफी’ मा निक उटले खिचेकाजस्ता तस्बिरको भूमिकाबारे लेखेकी छन्, ‘सन् १९७२ मा यस्ता तस्बिरहरू संसारका प्रमुख अखबारको मुख्य पृष्ठमा छापिए । अमेरिकी रासायनिक हतियार नापामको आक्रमणबाट नाङ्गै सडकमा क्यामेरातर्फ भाग्दै गरेकी सानी बालिकाका खुला हात र चिच्याहटको दृश्यले संसारलाई धेरै कुरा एकै पटकमा बुझायो । आम मानिसलाई युद्धको विरुद्धमा धारणा बनाउनका लागि सम्भवतः टेलिभिजनका सयौँ घन्टाका अनेक गन्थनभन्दा यी तस्बिरले धेरै ठुलो भूमिका खेलेका छन् ।’
त्यो समय तस्बिरले जति सार्वजनिक आक्रोश जगाए पनि भियतनाममा अमेरिकी अगुवाइको हिंसा तस्बिर प्रकाशित भएको तीन वर्षपछिसम्म चलिरह्यो । आजका दिनमा गाजाबाट आउने गरेका लगभग हरेक तस्बिरले पनि त्यस्तै शीर्षक बोक्न सक्छन् । अर्थात् टेरर अफ वार (युद्धको आतङ्क) । यसले त्यस्तो क्रूरता अझै ठुलो स्तरमा जारी छ भनेर देखाइरहेको छ ।
सामाजिक सञ्जालको युगमा तस्बिर र भिडियोहरू क्षणिक उपभोगको वस्तुजस्ता झल्याकझुलुक र छिट्टै विस्मृतिमा पुग्न सक्छन् । मान्छेमा तस्बिरले जगाउने संवेदना घटेर गएकोजस्तो भान हुँदैछ । नौ वर्षको बालकका दुवै हात गुमेको तस्बिरले पनि धेरै फरक नपारेको जस्तो अनुभव हुँदैछ ।
गत अप्रिल १८ मा अबु एलोफले इन्ष्टाग्राममा लेखिन्, ‘यो युद्ध रोकियो भन्नाका खातिर म सदैव यस्ता तस्बिर खिच्न चाहन्छु, जसले हत्या, मृत्यु तथा भोकमरी रोक्न सघाओस् ।’
उनी असाध्यै पीडाभावसहित प्रश्न गर्छिन्, ‘हामीले खिचेका तस्बिरले यस्तो दुर्दशा तथा आतङ्क रोक्न सकेन भने तस्बिरको अर्थ के भयो र ? संसारलाई के भएको छ ? युद्ध रोक्नका लागि अझै तपाईंहरू कस्तो तस्बिर हेर्न पर्खिरहनु भएको छ ?’
संसार तस्बिर हेरेर बसेको छ । नरसंहार निरन्तर जारी छ । म तपाईंहरूलाई पनि एउटा यस्तै उदास प्रश्न गर्न चाहन्छु– ‘आखिर अखबारमा छापिने कुनै लेखको के अर्थ हुन्छ र ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभा बैठक स्थगित
-
नेपाल टेलिकमकाे नाफा २ अर्ब ८४ करोड, नाफा घट्नुका यस्ता छन् कारण
-
चार सांसद चढेको गाडी दुर्घटना
-
सिंहदरबारमा प्रधानमन्त्रीले खोजे बालेन शाह
-
नार्क सुधार्न बन्यो उच्चस्तरीय समिति, ९० दिनको कार्यदेश
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा