आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज

बिन्दास हैदराबादसँग भिड्दै जित्नैपर्ने दबाबमा रहेको लखनउ

सोमबार, ०५ जेठ २०८२, १० : १४
सोमबार, ०५ जेठ २०८२

सारांश

  • आईपीएलमा लखनउ सुपर जायन्ट्स र सनराइजर्स हैदराबादबीचको खेल लखनउमा हुँदैछ। खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ।
  • लखनउ प्लेअफका लागि संघर्षरत छ भने हैदराबाद प्रतियोगिताबाट बाहिरिसकेको छ। लखनउले हैदराबादलाई पहिले हराएको थियो।
  • निकोलस पुरन लखनउका सर्वाधिक रन बनाउने खेलाडी हुन् भने सार्दुल ठाकुर सर्वाधिक विकेट लिने खेलाडी हुन्। पिच स्पिनरलाई सहयोगी हुने अनुमान छ।

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा सोमबार लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादको सामना गर्दैछ । खेल लखनउस्थित अटल बिहारी बाजपेई (ईकाना) स्टेडियममा नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ । 

जारी सिजनको आईपीएलमा खेल्न लागिएको ६१औँ खेल हो । आईपीएलको यो सिजन यी दुबै टोली फरक परिस्थितिमा छन् । 

लखनउको प्ले–अफ चरणमा पुग्ने सम्भावना कायमै छ भने हैदराबाद यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । 

जारी सिजनको आईपीएलमा लखनउ र हैदराबाद दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यसअघि खेलिएको पहिलो खेलमा लखनउले हैदराबादलाई पाँच विकेटले हराएको थियो । उक्त खेल हैदराबादको घरेलु मैदानमा खेलिएको थियो । 

लखनउको पनि अगाडि बढ्ने सम्भावना निकै कम देखिन्छ । लखनउ र हैदराबाद दुबै टोलीले आफ्नो १२औँ खेल खेल्न लागेका हुन् । अगाडि बढ्न सङ्घर्षरत लखनउ र उपाधि होडबाट बाहिरिएपछि दबाबमुक्त रहेको हैदराबादबिचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । 

लखनउले हालसम्म आईपीएलको उपाधि चुम्न सकेको छैन । आईपीएलमा लखनउको सहभागिताको इतिहासमा पनि खासै लामो छैन । सन् २०२२ देखिमात्र लखनउले आईपीएलमा सहभागिता जनाउन थालेको हो । 

लखनउ सुपर जायन्ट्स हालसम्म दुई पटक आईपीएलको प्लेअफ चरणमा पुगेको छ । यो नै लखनउको सबैभन्दा ठुलो उपलब्धि हो । लखनउ सन् २०२२ र सन् २०२३ को संस्करणमा प्लेअफ चरणसम्म पुगेको थियो ।

सनराइजर्स हैदराबादले भने हालसम्म एक पटक आईपीएलको उपाधि जितेको छ । हैदराबादले सन् २०१६ मा आईपीएलको उपाधि चुमेको थियो । त्यतिबेला हैदराबादले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई हराएको थियो । 

हैदराबाद सन् २०१८ मा पनि आईपीएलको फाइनलमा पुगेको थियो । त्यतिबेला हैदराबादलाई फाइनलमा चेन्नई सुपर किङ्सले हराएको थियो । हैदराबाद साबिक उपविजेता पनि हो । अघिल्लो संस्करणको फाइनलमा हैदराबादको टोली कोलकाता नाइट राइडर्ससँग हारेको थियो ।

  • जित्नै पर्ने दबाबमा लखनउ

आईपीएलको जारी संस्करणमा लखनउ सुपर जायन्ट्सको प्रदर्शन खासै सन्तोषजनक छैन । यद्यपि, लखनउको अगाडि बढ्ने सम्भावना भने कायमै छ । लखनउ ११ खेलबाट १० अंक बटुल्दै तालिकाको सातौँ स्थानमा आसिन छ । 

लखनउले हालसम्म पाँच खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ । लखनउले तीन खेल खेल्न बाँकी छ । दबाबमा रहेको लखनउले अब हैदराबादका अतिरिक्त गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरुसँग खेल्न बाँकी छ ।

गुजरात र बेंगलुरु जारी प्रतियोगिताको निकै बलिया टोली हुन् । अब एक खेलमा पनि पराजित भए लखनउको अगाडि बढ्ने सम्भावना लगभग समाप्त हुनेछ । तीनमध्ये दुई प्रतिद्वन्द्वी निकै बलिया भएकाले लखनउको अगाडि बढ्ने सम्भावना निकै कम देखिन्छ । 

  • आशा सकिएको बिन्दास हैदराबाद 

आईपीएलको जारी संस्करणमा सनराइजर्स हैदराबादको प्रदर्शन निकै निराशाजनक छ । हैदराबादले आफ्ना समर्थकको चाहना विपरितको प्रदर्शन गर्दै आएको छ । हैदराबाद ११ खेलबाट सात अंक जोड्दै तालिकाको आठौँ स्थानमा आसिन छ ।

हैदराबादले हालसम्म केवल तीन जित र सात हारको नतिजा निकालेको छ । हैदराबादको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । हैदराबादले केवल तीन खेल खेल्न बाँकी छ । हैदराबादले अब लखनउका अतिरिक्त रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्सको सामना गर्नेछ ।

यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको हैदराबादलाई अबको हार वा जितले कुनै फरक पार्ने छैन । त्यसैले दबाबमुक्त अवस्थामा रहेको हैदराबादको अबको खेलले प्ले–अफ चरणमा पुग्न सङ्घर्षरत अन्य टोलीको नतिजालाई असर पार्ने पर्याप्त सम्भावना देखिन्छ । 

  • हैदराबादमाथि हाबी लखनउ

आईपीएलमा हालसम्म लखनउ सुपर जायन्ट्स र सनराइजर्स हैदराबादबिच केवल पाँच खेल खेलिएको छ । त्यसमा लखनउ निकै बलियो देखिन्छ । चार खेलमा लखनउले हैदराबादलाई हराएको छ । 

हैदराबादले एक खेलमा मात्र लखनउ सुपर जायन्ट्सलाई हराउन सकेको छ । ईकाना स्टेडियममा भने यी दुई टोलीबिच हालसम्म एक खेल खेलिएको छ । त्यो खेलमा लखनउले हैदराबादलाई पाँच विकेटले हराएको थियो । 

  • निकोलस पुरनको नाममा लखनउको सर्वाधिक रन

जारी सिजनको आईपीएलमा लखनउ सुपर जायन्ट्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान निकोलस पुरन हुन् । उनी लयमा छन् । विकेटकिपर ब्याट्सम्यान निकोलस पुरनले ११ खेलमा कुल चार सयभन्दा बढी रन बनाएका छन् । 

लखउनका लागि सर्वाधिक विकेट लिने बलर भने सार्दुल ठाकुर हुन् । उनले हालसम्म नौ खेल खेल्दै कुल १२ विकेट लिएका छन् । सोमबारको खेलमा पनि यी खेलाडीबाट लखनउले उत्कृष्ट प्रदर्शनको आश गरेको छ । 

  • ब्याटिङमा चुकेको सनराइजर्स हैदराबाद 

आईपीएलको १८औँ संस्करणमा सनराइजर्स हैदराबादका ब्याट्सम्यानहरु खासै चल्न सकेका छैनन् । ट्राभिस हेड र अभिषेक शर्मा माथिल्लो क्रमका आक्रामक ब्याट्सम्यान हुन् । सुरुवाती खेललाई अपवाद मान्ने हो भने यी दुबै ब्याट्सम्यानको प्रदर्शन निराशाजनक छ । 

ईशान किशनको प्रदर्शन पनि चित्तबुझ्दो छैन । उनले एक खेलमा भने शतक बनाएका थिए । त्यसपछि उनले गतिलो पाली खेल्न सकेका छैनन् । अभिषेकले टोलीका लागि ११ खेलमा सर्वाधिक तीन सय १४ रन बनाएका छन् । हर्षल पटेलले टोलीका लागि सर्वाधिक १४ विकेट लिएका छन् । 

  • स्पिन बलरलाई साथ दिने पिच

लखनउस्थित अटल बिहारी बाजपेई (ईकाना) स्टेडियमको पिच खासगरी स्पिन बलरलाई साथ दिने प्रकृतिको छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल १९ खेल खेलिएको छ । त्यसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले आठ खेल जितेका छन् ।

जवाफी ब्याटिङ गर्ने टोलीले १० खेलमा सफलता हात पारेका छन् । एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । यो स्टेडियममा बनेको उच्च स्कोर ६ विकेट गुमाएर दुई सय ३५ रन हो । यो स्कोर अघिल्लो सिजन कोलकाता नाइट राइडर्सले लखनउविरुद्ध बनाएको थियो ।

  • छैन वर्षाको सम्भावना

लखनउ सुपर जायन्ट्स र सनराइजर्स हैदराबादबिच खेल हुने दिन सोमबार लखनउमा वर्षाको सम्भावना नरहेको बताइएको छ । दिनभर चर्को गर्मी हुनेछ । त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार, तापक्रम २९ देखि ४० डिग्री सेल्सियसको बिचमा रहनेछ । 

  • सम्भावित टोली 

लखउन सुपर जायन्ट्स : ऋषभ पन्त (कप्तान तथा विकेटकिपर), एडेन मारक्रम, मिचेल मार्श, निकोलस पुरन, आयुष बडोनी, डेभिड मिल्लर, अब्दुल समाद, शार्दुल ठाकुर, दिग्वेशसिंह राठी, आवेश खान, रवी बिश्नोई र प्रिन्स यादव ।

सनराइजर्स हैदराबाद : प्याट कमिन्स (कप्तान), हेनरिक क्लासेन (विकेटकिपर), अभिषेक शर्मा, ट्राभिस हेड, ईशान किशन, नितिश कुमार रेड्डी, अनिकेत वर्मा, कामिन्दु मेन्डिस, हर्षल पटेल, जयदेव उनादकट, जिशन अन्सारी र मोहम्मद शामी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप