गभर्नर टुङ्गिएसँगै सेलायो सरकार ढल्ने चर्चा

समाचार सारांश
- लामो रस्साकस्सीपछि सरकारले डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ।
- नेकपा एमाले र नेपाली कांग्रेसबीच गभर्नर पदका लागि लामो समयसम्म विवाद चल्यो, जसले सरकार भत्किने हल्ला समेत फैलायो।
- प्रधानमन्त्री र कांग्रेस सभापतिको छलफलपछि पौडेललाई गभर्नर बनाउने सहमति जुटेको हो, तर यसअघि ओलीले अन्य नाम खोजेका थिए।
काठमाडौँ । लामो रस्साकस्सीपछि सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. विश्व पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो ।
चैत २२ गतेबाट रिक्त गभर्नर पदपूर्ति गर्न सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबिच यसबिचमा ठुलै रस्साकस्सी चल्यो । त्यसको ‘साइड इफेक्ट’का रूपमा सरकार र गठबन्धन नै भत्कनेसम्मको चर्चा पनि यसबिचमा चुलियो ।
पछिल्लो पटक जेठ ५ गते सोमबार बस्ने भनिएको मन्त्रिपरिषद बैठक र सोही दिन प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच हुने भनिएको भेटवार्ता अचानक स्थगित भएपछि त झनै सरकार र गठबन्धन भत्किने चर्चाले व्यापकता पाएको थियो ।
यही चर्चाका बिच प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच मंगलबार बालुवाटारमा करिब एक घण्टा छलफल भएपछि तत्काल मन्त्रिपरिषद् बैठक बसेर गभर्नर नियुक्त गर्ने सहमति जुटेको हो ।
ओली र देउवाको गोप्य भेटलगत्तै दुवै नेताले आ–आफ्ना विश्वासपात्र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई बालुवाटारमा बोलाएका थिए । पौडेल र लेखकले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइबारे बाहिर भइरहेका चर्चा र त्यसको नकारात्मक प्रभावबारे दुवै शीर्ष नेतालाई ब्रिफिङ गर्दै विषयलाई धेरै लम्ब्याउन नहुने सुझाव दिएसँगै गभर्नर नियुक्तिको विषय टुङ्गिएको स्रोत बताउँछ ।
खासमा गभर्नर कांग्रेसको भागमा परे पनि उसले सिफारिस गरेका पात्रप्रति प्रधानमन्त्री ओली सकारात्मक नभएको र नियुक्तिमा ढिलाइ गरेको कांग्रेसवृत्तको बुझाइ थियो । पौडेलविरुद्ध सर्वोच्चमा निवेदनसमेत पुगेको भन्दै ओलीले पौडेलको विकल्प खोज्न भनेपछि कांग्रेस नेताहरू ओलीसँग थप चिढिन पुगेका थिए । यद्यपि कांग्रेस पौडेलको विकल्प खोज्न तयार नभएपछि ओली अन्ततः उनैलाई गभर्नर बनाउन तयार भएको बुझिएको छ ।
गभर्नर नियुक्तिबारे बाहिर चर्चा र हल्ला भएजस्तो दुई दलमा कुनै विवाद नभएको कांग्रेस–एमालेका केही नेताको दाबी छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का गभर्नरको विषयलाई लिएर अनावश्यक चर्चा गरिएको बताउँछन् । ‘गभर्नर नियुक्तिमा भएको ढिलाइसँग जोडेर गठबन्धन र सरकारप्रति सार्वजनिक भएका धारणाहरूमा सत्यता छैन’, खड्काले रातोपाटीसँग भने, ‘सोमबार प्रधानमन्त्रीको स्वास्थ्यले गर्दा मन्त्रिपरिषद् र सभापतिजीसँग भेट हुन नसकेको हो ।’ त्यसैलाई आधार बनाएर विभिन्न कोणबाट हल्ला फैलाइएको तर मंगलबारको मन्त्रिपरिषद् बैठकको निर्णयपछि त्यस्ता हल्लाका बजार आफैँ सेलाएको उनले बताए ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि गभर्नर नियुक्तिलाई लिएर सरकार र गठबन्धनप्रति भएका आशङ्का आधारहीन रहेको बताए । उनले पनि मंगलबार मन्त्रिपरिषदको बैठकसँगै त्यस्ता आशङ्का सेलाइसकेको बताए ।
‘जुनसुकै निर्णय गर्दा पनि दुई दलमा सहमतिमै हुँदै आएको हो र गभर्नरका सवालमा पनि नेताहरूले त्यही प्रक्रिया अपनाउनु भएको हो’, बर्तौलाले रातोपाटीसँग भने, ‘सोमबार मन्त्रिपरिषद् बैठक नबस्दा शङ्काको खेती गरेर भ्रम छर्नेहरूलाई थप मौका मिलेकोमात्रै हो ।’
यसअघि गुणाकर भटट्, ज्ञानेन्द्र ढुंगाना, रविन्द्र पाण्डे, राजकिशोर क्षेत्रीको नाम कांग्रेसले गभर्नरका लागि अघि सारेको थियो । तर ती नाममा ओलीले असहमति जनाएकाले अन्तिममा विश्व पौडेलको नाम अघि बढाएको थियो । पौडेलको नाममा पनि ओलीले ‘अनकन’ गरेपछि परिस्थिति थप बिथोलिन पुगेको थियो ।
स्रोतका अनुसार प्रधानमन्त्री ओली अन्तिम समयसम्म पनि निलम ढुंगानालाई गभर्नर बनाउने चाहनामा थिए तर कांग्रेसले पौडेलबाट पछि नहट्ने अडान राख्दा ओलीले त्यसैमा चित्त बुझाउन बाध्य भएको कांग्रेस बृत्तको बुझाइ छ ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान गठबन्धन ०८४ को निर्वाचनसम्म निरन्तर जाने दाबी गरे । उनले कांग्रेस–एमालेको सरकार बनाउनुको उद्देश्य अझै पूरा नभएकाले ०८४ को निर्वाचनसम्मै वर्तमान गठबन्धन कायम रहने दाबी गरेका हुन् ।
कांग्रेस–एमाले ठुलो पार्टी भएकाले गठबन्धनमा कहिलेकाहीँ अनुकूलता र प्रतिकूलता हुने गरेको भन्दै भट्टराईले दुई दलले समान हिस्सेदारी खोज्नु स्वाभाविक भएको पनि बताए ।
भट्टराईले वर्तमान सरकार गलत ट्र्याकमा नरहे पनि गति बढाउन भने नसकेको स्वीकार गरे । सरकारको आलोचना हुनु स्वाभाविक भएको भन्दै उनले सत्तारुढ दलकै नेताले गर्ने टिप्पणी र आलोचनाले दुई पार्टीबिचको सम्बन्ध नबिग्रियोस् भन्नेमा सचेत हुनुपर्ने प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स