पोखरामा पिएम कप भलिबल हुने

पोखरा । नवौँ संस्करणको प्रधानमन्त्री (पिएम) कप महिला तथा पुरुष भलिबल प्रतियोगिता पोखरामा हुने भएको छ । जेठ ८ देखि १५ गतेसम्म पोखरा रङ्गशालाको कभर्डहलमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, र मणिमुकुन्द क्लब बुटवल सहभागी हुनेछन् ।
यस्तै महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब बुटवल र कर्णाली प्रदेशबिच प्रतिस्पर्धा हुनेछ । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ८ लाख, ४ लाख र २ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
साथै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार तथा उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए ।
प्रतियोगिताबारे मङ्गलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।