बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय
प्रेरणा

एक–एक रुपैयाँ चन्दा उठाएर पाइलट बन्ने सपना पूरा गरिरहेका घिसिङ

बुधबार, ०७ जेठ २०८२, १२ : ००
बुधबार, ०७ जेठ २०८२

काठमाडौँ । दृढ इच्छाशक्ति भएमा प्रतिकूल अवस्थामा पनि सफलता पाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् दोलखाको बैतेश्वर गाउँपालिका–२ मूलाबारीका २२ वर्षीय दीपेन्द्र घिसिङ ।

आर्थिक अवस्था कमजोर भएका घिसिङले पाइलट बन्ने आफ्नो सपनालाई चन्दा उठाएरै भए पनि साकार बनाइरहेका छन् । सपनाको उडानलाई सफलताको सँघारमा ल्याउन घिसिङले निकै ठुला चुनौतीका शृङ्खला पार गरेका छन् ।

आफू सानै छँदा बुबाले दोस्रो विवाह गरेपछि आमासँगै मामाघरमा बसेर पढेका उनी ८ कक्षा सकेर काठमाडौँ आए । त्यसपछि आफन्तकोमा बसेर उनले लुभुस्थित बालकुञ्ज माध्यमिक विद्यालयमा पढ्न थाले । २०७४ सालमा एसईई दिएका उनी ३.७५ जीपीएसहित उत्तीर्ण भए ।

एसईईमा राम्रो अंक आएपछि विज्ञान विषय पढ्ने योजना बनाएका घिसिङले आमासँग यसबारे सल्लाह गरे । दोस्रो विवाह गरेर अर्काको घरमा गइसकेकी आमाले उनलाई ठोस जवाफ दिन सकिनन् । त्यसपछि उनले बुबासँग कुरा राखे । बुबाले आफूसँगै बसेर पढ्न उनलाई सल्लाह दिए ।

घिसिङ बौद्धको अरुणिमा कलेजमा भर्ना भएर पढ्न थाले । घरमा बुबा र कान्छी आमाबाट राम्रो व्यवहार भएन । त्यसपछि उनी ग्वार्कोमा एउटा कोठा भाडामा लिएर बस्न थाले । कोठा भाडा, खाना खर्च जुटाउन उनले एउटा स्कुलमा पढाउनुका साथै आफन्तको रेस्टुरेन्टमा वेटरको काम गर्न थाले । यस क्रममा उनी कलेज जान पाएनन् ।

पछि कलेजबाट बोर्ड परीक्षाको फारम भर्नका लागि फोन आयो । शुल्क तिर्न नसकेपछि कलेज पनि गएका थिएनन् । कलेजले कक्षा ११ को शुल्क तिरेको खण्डमा दुवै वर्षको परीक्षा दिन पाउने भन्यो । त्यसपछि उनले हारगुहार गरेर पैसा जुटाए । दुवै वर्षको परीक्षा दिए ।

कोरोना महामारीका कारण लकडाउन भएको समयलाई उनले पढ्नमा सदुपयोग गरे । रातदिन पढेर एकै वर्ष ११ र १२ को परीक्षा दिएर र उनले ३.२२ जीपीएसहित उच्च माध्यमिक तह उत्तीर्ण गरे ।

492102501_1892512624852200_264785711793811071_n

त्यसपछि उनले पाइलट पढ्ने योजना बनाए । आर्थिक अवस्था राम्रो नरहेकाले उनले ‘एक रुपैयाँ अभियान’ को सोच बनाए । एक रुपैयाँ सङ्कलन अभियान थालेपछि सहयोग आउन थाल्यो । सबैसँग एक–एक रुपैयाँ सहयोगका लागि खुला आह्वान गरेका उनले यसरी सङ्कलित रकमबाटै पाइलट कोर्स अध्ययन थाले ।

एक वर्ष अगाडि पाइलटको कोर्स गर्न घिसिङ फिलिपिन्स गएका थिए । अध्ययनकै क्रममा उनले विमान उडाउन थालिसकेका छन् । पहिलो उडानमा उनलाई क्याप्टेन रोनाल्ड रेई क्यारियनले गाइड गरेका थिए । उनले आरपी–सी २८४१ विमान सफलतापूर्वक उडान गरे ।

पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी साटे । रातोपाटीसँग ह्वाट्सएपमार्फत कुरा गरेका उनले भने, ‘पहिलो उडानमा फ्लाई इन्स्टुमेन्ट मात्रै देखाउनुहुन्छ र त्यसबारे बुझाउनुहुन्छ होला भन्ने लागेको थियो, तर सरले टेकअफदेखि सबै काम मलाई नै गर्न लगाउनुभयो ।’

उनले अहिलेसम्म ४० मिनेट जति उडान भरेका छन् । सिमुलेटरको हिसाबले भने उनले ५ घण्टा जति उडान गरिसकेका छन् । नेपालमा समेत जोड्दा उनको उडान समय ४५ घण्टा जति भइसकेको छ ।

नेपालमा उनले गीता एभिएसनमार्फत एक वर्षको क्लास लिएका थिए । त्यही क्लासले गर्दा उनलाई फिलिपिन्समा सजिलो भयो । हाल उनी फिलिपिन्सको फास्ट एभिएसन एकेडेमीबाट पढिरहेका छन् ।

करिब चार महिना समय लाग्ने ग्राउण्ड क्लास उनले लगभग ४५ दिनमै सके । ‘ग्राउण्ड क्लास सकिन करिब ४ महिना लाग्छ, तर मैले लगभग ४५ दिनमा सकाएँ । त्यो भनेको विद्यार्थीले कतिको चाँडो क्याच गर्छ भन्ने कुरा हो,’ उनले भने, ‘स्कुलले हाम्रो लागि नै फ्लाइटहरू राखिदिने, हाम्रो लागि नै क्लास राखिदिने गर्दैन । हामीले अनुरोध गर्नुपर्छ । आफूले जति छिटो प्रगति गर्न सक्यो, त्यति नै चाँडो क्लास सकिने हो । त्यही कारणले मेरो ग्राउण्ड क्लास चाँडै सकियो ।’

497498529_1910543603049102_5241049067689129965_n

घिसिङले ग्राउण्ड क्लासको परीक्षामा समेत ९८ प्रतिशतसम्म अंक ल्याएका छन् । उनीसँगै अन्य साथीहरू भने अझै पनि त्यही ग्राउण्डको क्लास लिइरहेका छन् ।

  • नेपालमा चलेको एक रुपैयाँ अभियान

पाइलट पढ्न करिब ८० लाख जति खर्च हुन्छ । घिसिङसँग त्यत्रो पैसा थिएन । पैसा नभए पनि उनमा केही गर्नुपर्छ भन्ने हुटहुटी थियो ।

त्यसका लागि उनले नेपालमा ‘एक–एक रुपैयाँ अभियान’ थाले । त्यही अभियानमार्फत उनले ५३ लाख रुपैयाँ सङ्कलन गरे ।

उनलाई कतिपयले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए । आफन्तहरूले समेत सहयोग गर्ने आश्वासन दिए । तर, आफन्तबाट आश्वासन पाएको ४० लाख जति रकम भने उठ्न नसकेको उनले बताए ।

घिसिङ अहिलेसम्म उठेको रकमबाटै कलेजको शुल्क तिर्ने, खान–बस्ने काम गरिरहेका छन् । कोर्स सकिँदासम्म थप रकम आवश्यक पर्ने भएकाले प्रतिबद्धता अनुसारको रकम सङ्कलनका लागि नेपाल आउने सोच बनाएका छन् उनले ।

नेपालमा अभियान सञ्चालन गर्दै पढ्न फिलिपिन्स गएपछि उनलाई केही सहज भयो । सुरुमा जाँदा उनले आफूले यस्तो अभियान सञ्चालन गरेर आएकोबारे कसैलाई भनेनन् । उनीसँग अध्ययन गर्दै आएका नाइजेरिया, साउदी, भारत लगायत देशका साथीहरूले बिस्तारै यो कुरा थाहा पाए । उनले दुई हजार डलर डिस्काउन्टसमेत पाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप