बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

राष्ट्रिय मुक्ति पार्टी र नेपाल जनमुक्ति पार्टीबिच कार्यगत एकता

बुधबार, ०७ जेठ २०८२, १७ : ०२
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी नेपाल र नेपाल जनमुक्ति पार्टी कार्यगत एकताका लागि सहमत भएका छन्।
  • दुवै दलले मोर्चाबन्दी हुँदै पार्टी एकतासम्मको लक्ष्य लिएका छन्, साथै साझा एजेन्डा बनाउन सहकार्य गर्ने सहमति छ।

काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र नेपाल जनमुक्ति पार्टी (केपी पालुङवा, सन्जुहाङ पालुङवा, एमएस थापा नेतृत्व रहेको) बिच कार्यगत एकता हुने भएकाे छ । दुवै दलबाट गठन भएको कार्यदलको आज बसेको बैठकले कार्यगत एकता गर्ने सहमति गरेको हो । 

यो कार्यगत एकता मोर्चाबन्दी हुँदै पार्टी एकतासम्मको लक्ष्यका साथ अघि बढेको बताइएको छ । कार्यदलको पहिलो बैठक अत्यन्तै सकारात्मक रूपमा सम्पन्न भएको राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता सन्तोष मेहताले बताए । 

बैठकमा दुवै पार्टीका प्रतिनिधिहरूले आ–आफ्नो पार्टीको वर्तमान राजनीतिक धारा, सैद्धान्तिक दृष्टिकोण र आन्दोलनको अनुभवहरू प्रस्तुत गर्दै साझा एजेन्डा निर्माणका लागि सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।

कार्यदलमा राष्ट्रिय मुक्ति पार्टीको तर्फबाट बुद्धछिरिङ मोक्तान, सन्तोष मेहता र रविन्द्रकुमार श्रेष्ठ रहेका छन् भने नेपाल जनमुक्ति पार्टीको तर्फबाट बलदीप राई, पदम जवेगु र लासिम पालुङवा प्रतिनिधि सदस्य रहेका छन् ।

बैठकमा समावेशी, सङ्घीय र पहिचानमा आधारित लोकतान्त्रिक आन्दोलनलाई सशक्त बनाउने साझा दृष्टिकोणका साथ आगामी रणनीति तय गर्ने सहमति भएको बताइएको छ । 

दुवै पक्षले सैद्धान्तिक सहमति र साङ्गठनिक समन्वयको जगमा स्थायी राजनीतिक एकताको सम्भावना रहेको धारणा व्यक्त गरेका छन् । दुवै पार्टीका नेताहरूले आगामी बैठकहरूमा कार्यदिशा, कार्यक्रम र साङ्गठनिक संरचनाको एकरूपता मार्फत साझा मोर्चा वा पार्टी एकताको मार्गचित्र तय गर्ने तयारीमा रहेको बताएका छन् ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप