यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
_VrO0uPm947.jpg)
समाचार सारांश
- गण्डकी प्रदेशमा यस वर्ष डढेलोका घटनामा कमी आएको छ, गत वर्षको तुलनामा।
- नवलपुरमा सबैभन्दा बढी ३७ स्थानमा डढेलो लागेको छ भने मुस्ताङ र मनाङमा सबैभन्दा कम।
- डढेलोका कारण वन क्षेत्रमा क्षति पुग्ने, मानवीय कारणले डढेलो लाग्ने गरेको र यसले जैविक विविधतामा असर पार्ने कुरा उल्लेख छ।
कास्की । ‘प्रिमनसुन’ अवधिमा भइरहेको वर्षाले यस वर्ष गण्डकी प्रदेशमा डढेलोका घटना कम भएका छन् । गत वर्ष वैशाख तेस्रो सातासम्ममा यहाँका चार सय ६७ स्थानमा डढेलो लागेकामा यस वर्ष हाससम्म एक सय ९६ स्थानमा डढेलो लागेको प्रदेश वन निर्देशनालयले जनाएको छ । निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाका अनुसार यस वर्ष झण्डै २३ सय ८० हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।
गत वर्ष डढेलोबाट आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित भएको थियो । डढेलोको उच्च जोखिम हुने समयमा वर्षा भएपछि डढेलो नियन्त्रण गर्न सहज भएको वन अधिकृत थापाले बताए । ‘सुख्खा याम लम्बिँदा डढेलोका घटना धेरै बढ्ने हुन्छ, यो वर्ष पानी परिरहेकाले त्यो अवस्था आएन, डढेलोबाट हुने क्षति कम भयो, प्रदुषण पनि व्यापक हुन पाएन’, उनले भने ।
यो वर्ष सबैभन्दा बढी नवलपुरको ३७ स्थानमा डढेलो लागेको वन अधिकृत थापाले जानकारी दिए । सबैभन्दा कम मुस्ताङ र मनाङका एक÷एक स्थानमा डढेलो लागेको हो । गोरखाका ३४, म्याग्दीका २८, कास्कीका २७, लमजुङका २१, स्याङ्जाका १७, तनहुँ र पर्वतका १२÷१२ र बागलुङका छ स्थानमा डढेलो लागेको हो । डढेलोबाट गौशला, घरगोठ, काठ र रूखबिरूवामा क्षति पुगेको वन निर्देशनालयले जनाएको छ ।
डढेलो लाग्दा वन क्षेत्रमा हुने बोटबिरुवा, वन्यजन्तु, काठ र दाउराको क्षति भने आँकलन नै गर्न नसकिने वन अधिकृत थापाले बताए । ‘डढेलोले वन क्षेत्रमा बर्सेनि ठूलो नोक्सानी भइरहेको हुन्छ, डढेलो अनियन्त्रित भएर मानव बस्तीतिर सर्दा धनजनकोसमेत क्षति हुने गरेको छ’, उनले भने । डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पुर्याउने उनको भनाइ छ ।
फागुनदेखि जेठसम्ममा डढेलोका घटना बढी हुने गरेको छ । गर्मीयाममा वनमा हुने पातपतिङ्गर र घाँसदाउरा बढी प्रज्वलनशील हुने हुँदा डढेलो लाग्ने गरेको छ । हिउँदे वर्षा नहुनु, हावाहुरीको याम जस्ता कारणले पनि डढेलोले प्रश्रय पाउने गरेको वन अधिकृत थापाले बताए ।
मानवीय कारणले नै डढेलो लाग्ने गरेको उनको भनाइ छ । ५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापरबाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको उनले बताए । पछिल्लो समय वन व्यवस्थापनका क्रियाकलाप घट्दा पनि डढेलोको प्रकोप बढ्ने गरेको बताइन्छ ।आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछ भनेर व्यक्तिले जानजानी आगो लगाउँदा त्यो अनियन्त्रित भई डढेलोको रुप लिने गरेको छ । डेढेलोले जैविक विविधतामा ह्रास ल्याउनुका साथै डढेलो लाग्दा हुने कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा पनि भूमिका खेल्ने गरेको विज्ञहरू बताउँछन् ।
डढेलोले माटोको प्राङ्गारिक तत्व नष्ट हुने, जनजन्तुको बासस्थान नासिनेलगायतका समस्या निम्तने गरेको छ । डढेलोले भू–क्षय, बाढी जस्ता प्राकृतिक विपतका घटना पनि बढाउने गरेको छ । डढेलोले निजी, सामुदायिक र राष्ट्रिय वन क्षेत्रका बोटबिरुवा तथा बुट्यान सखाप पार्ने गरेको छ । डढेलो लगाउने व्यक्तिलाई बिगोअनुसारको जरिवानासहित तीन वर्षसम्मको कैद हुनसक्ने कानुनी प्रबन्ध रहेको छ । डढेलो लगाउने व्यक्तिका बारेमा सूचना दिने व्यक्तिलाई उसले बुझाएको जरिवानाको १० प्रतिशत पुरस्कार पाउने व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी समूहद्वारा संयुक्त जनआन्दोलनमा सहकार्यका लागि रास्वपासँग प्रस्ताव (पत्रसहित)
-
२ खर्ब ६४ अर्बको पेट्रोलियम पदार्थ आयात
-
चलचित्र जन्ते बाख्रोको नयाँ गीत ‘मुकु मुकु म्या’ सार्वजनिक
-
पवनदीप राजनको स्वास्थ्यमा सुधार
-
बाँफिकोटका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश