नेतृत्वकर्ता कस्तो हुनुपर्छ ?

एक असल नेताले आफ्ना अनुयायीलाई उनीहरूले स्वतन्त्र रूपमा नगर्ने कार्य पूरा गर्न उत्प्रेरित गर्छन् । महान नेताहरू इमानदार, नैतिक र सक्षम हुन्छन् । उनीहरूका मातहतका र साथीहरूले पनि उनीहरूलाई सम्मान गर्छन् । एक राम्रो नेता बुद्धिमान, महत्त्वाकांक्षी र रचनात्मक हुन्छ । कुशल नेतृत्व तालिम वा उच्च शिक्षाबाट प्राप्त हुने कला होइन, यसका लागि व्यक्तिमा अन्तर्निहित गुण पनि सकारात्मक हुनुपर्छ । सकारात्मक सोचले आदर्शको मार्ग निर्माण गर्छ भन्ने विद्वान्को मत छ । समग्रमा कुशल नेतृत्वमा यस्ता गुण हुनुपर्छ भन्ने दृष्टिकोण पाइन्छ :
(क) राष्ट्र, जनताप्रति अनुप्राणित हुने ।
(ख) राष्ट्र र जनताप्रतिको आफ्नो दायित्व र कर्तव्यप्रति सचेत र संघर्षशील हुने ।
(ग) आफ्नो गौरवशाली इतिहासप्रति आकर्षण भएको र अरुलाई उदाहरण प्रस्तुत गर्न सक्ने ।
(घ) आफ्ना प्रगतिशील विचार र गुणले अरुलाई प्रेरणा प्रदान गर्न सक्ने ।
(ङ) नयाँ सोच प्रतिपादन गरी नमुना प्रस्तुत गर्न सक्ने ।
(च) नियम, अनुशासनको पालना गर्ने र गराउने क्षमता भएको ।
(छ) श्रमको सम्मान गर्ने र कार्यस्थलमा गर्न लगाउने ।
(ज) लोकतान्त्रिक समाजवादी सोच, स्पष्ट दार्शनिक चिन्तन भएको, चरित्रवान् ।
(झ) अरुको विचारको कदर गर्न सक्ने ।
(ञ) राजनीतिक स्वार्थको दलदलबाट उन्मुक्त भई सामाजिक एकतामा जोड दिने ।
(ट) राष्ट्रिय स्वार्थलाई गहन ठान्ने ।
(ठ) सदाचारमा विश्वास राख्ने र सोअनुरूप कार्य गर्ने ।
(ड) लैङ्गिकमैत्री, बालबालिकामैत्री र ज्येष्ठ नागरिकमैत्री विचार र आचरणमा एकरूपता भएको ।
आफ्नो गौरवशाली इतिहासबाट प्रेरित भएको नेतृत्वले मात्र जीवन र जगत्लाई सही ढङ्गले हाँक्न सक्छ । हरेक मुलुकले आउँदो पिँढीलाई मुलुकको भविष्यको कर्णधारका रूपमा लिने गर्छ । यस्ता भविष्यका कर्णधारलाई कुशल नेतृत्वका रूपमा कसरी अगाडि बढाउने ? यो गहन चिन्तनको विषय हो । वर्तमान नेतृत्व भावी पिँढीमा कुशल नेतृत्व विकास गर्न सक्ने क्षमता राख्ने पनि हुन आवश्यक छ ।
हामीले स्वधर्म, स्वराज र स्वतन्त्रतालाई विश्वसामु मौलिक पहिचानका रूपमा कायम राख्दै मुलुकको पहिचानलाई तीव्र गति दिनका लागि पूर्वीय सभ्यता, संस्कृतिबाट अनुप्राणित भएको नेतृत्व विकास गर्नुपर्छ । गौरवशाली विरासतको मूल्य–मान्यतालाई हृदयंगम गरी दिगो विकासको मर्मलाई बुझेको र नैतिकतासँग जोडिएका सवाललाई कठोरतापूर्वक पालना गर्ने गराउने क्षमताले युक्त नेतृत्व हुनुपर्छ ।
मन, वचन र कर्मको संयोजन भएको; चित्त शुद्धता भएको; विश्वबन्धुत्वको भावना भएको; सहअस्तित्व, समन्वयकारी भूमिकामा अग्रणी र सेवाभावले अनुप्राणित नेतृत्वको विकास गर्नुपर्ने देखिन्छ । यस्तै, निर्णय क्षमता भएको, समयको पूर्णपालना गर्ने, इमानदार र स्पष्ट दूरदृष्टि भएको नेतृत्व हुनुपर्छ ।
सञ्चार सीप भएको अर्थात् सुन्ने, बोल्ने, बुझ्ने, बुझाउने र आफ्नो विचार मातहतका व्यक्तिमा पुर्याउन सक्ने नेतृत्व हुनुपर्छ । यस्तै, करुणा र कृतज्ञले युक्त दूरदृष्टि; जनतालाई विकासका गतिविधिमा परिचालन गर्ने सीप भएको नेतृत्व हुनुपर्छ ।
लक्ष्य तथा उद्देश्यलाई मूल मर्म ठानेर अविचलित रूपले कार्यमा निरन्तरता दिने धैर्यवान नेतृत्व आजको आवश्यकता हो । त्यसैले देशलाई सही दिशा दिनका लागि जीवन र जगत्को सम्बन्ध बुझी प्रेम, करुणा, मैत्रीजस्ता भावबाट अविचलित भएको; चिन्तन, मनन, दृढता, संस्कृति, धर्म, दर्शन, विचारले खारिएको नैतिक रूपले बाँधिएको नेतृत्व हुन आवश्यक छ ।
खोज तथा अनुसन्धान गर्ने; अर्थराजनीति विषयमा राम्रो ज्ञान राख्ने; सामाजिक समानता र सामाजिक न्यायको पक्षमा साथ दिने; समन्यायिक वितरण प्रणालीमा जोड दिने; सुशासन, सामाजिक न्याय र आर्थिक सम्वृद्धिको दूरदृष्टि भएको नेतृत्वकर्ता हुनुपर्छ । जीवन र जगत्मा द्वन्द्वात्मक भौतिकवादका सद्गुण र सद्व्यवहारयुक्त संस्कारले युक्त भई पूर्वजझैँ नमुना प्रस्तुत गर्न सक्ने नेतृत्व हुनुपर्छ ।
हाम्रो नेतृत्व विगत लामो समयदेखि बिस्तारै स्खलित हुँदै गइरहेको छ । राजनीतिक, सामाजिक, आर्थिक र नैतिक रूपमा हामी पूर्वजका तुलनामा निरन्तर स्खलित हुँदै गइरहेका छौँ । यी विविध विषयवस्तुलाई मध्यनजर राखेर भावी नेतृत्व वर्तमानलाई केन्द्रमा राखेर भविष्यको योजना बुन्न सक्ने दूरदृष्टि भएको व्यक्तित्व हुनुपर्छ ।
हाम्रो चुनाव प्रणालीले एकै व्यक्तिलाई धेरै पटकसम्म प्रधानमन्त्री बन्न सक्ने जुन व्यवस्था गरेको छ । यसले राजनीतिक नेतृत्व निरंकुश, अहंकारी र भ्रष्टाचारमा चुर्लुम्म डुब्न सक्ने खतरा हुने रहेछ भन्ने कुरा अनुभवले देखाएको छ । त्यसकारण कार्यकारी प्रमुख आम जनताबाट चुनिएर आउने, सांसद विधायिका मात्र रहने, विज्ञहरू मन्त्री नियुक्ति हुने र कार्यकारी प्रमुख दुईचोटिसम्म मात्र शासन सत्तामा रहन सक्ने व्यवस्था हुनुपर्ने देखिन्छ । राजनीतिको मूल सङ्लो नभईकन भ्रष्टाचार उन्मूलन हुन सक्दैन । अहिलेको ठुलो समस्या भनेकै चरम नीतिगत भ्रष्टाचार रहेको पाइन्छ । यसले देशलाई कंगाल बनाइरहेको छ ।
विकास र समृद्धिका लागि अपरिहार्य भनेको राजनीतिक नेतृत्वले देशको भविष्यप्रति आशा जगाउनु हो । शासन गर्ने तौरतरिकामा अलिकति मात्रै पारदर्शिता र जवाफदेहिता बढ्यो भने पनि देशभित्र केही गरौँ भनेर रोकिने वा विदेशबाट समेत फर्किनेको संख्या बढ्नेछ । हुन त अहिले अमेरिका, युरोप, अस्ट्रेलिया र अन्य विकसित मुलुकहरूमा पनि धेरै आर्थिक तथा सामाजिक समस्याहरू देखापर्न थालेका छन् । सुनौलो सपना बोकेर विदेश गएका नेपाली युवायुवतीको हालत पनि खराब हुँदै गएको अवस्था छ । कुनै पनि देशमा विकास भन्ने कुरा सधैँभरि एकनासले रहन सक्दैन । त्यहाँ पनि समय, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिले सधैँभरि साथ दिइरहँदैन । सम्पत्ति, शक्ति र विकासको लहर एकै ठाउँ, एकै व्यक्ति र एउटै देशमा कहिल्यै पनि टिकिरहँदैन । विकासको चक्र गतिशील छ, कहिल्यै पनि स्थिर रहँदैन । हाम्रो देश नेपाल पनि एक दिन विकसित हुन्छ र नभई सुखै छैन । नेपाल एक दिन समृद्ध हुन्छ, नेपालीहरू सुखी, सम्पन्न र गर्व गर्न लायक हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी समूहद्वारा संयुक्त जनआन्दोलनमा सहकार्यका लागि रास्वपासँग प्रस्ताव (पत्रसहित)
-
२ खर्ब ६४ अर्बको पेट्रोलियम पदार्थ आयात
-
चलचित्र जन्ते बाख्रोको नयाँ गीत ‘मुकु मुकु म्या’ सार्वजनिक
-
पवनदीप राजनको स्वास्थ्यमा सुधार
-
बाँफिकोटका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश