बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

चुरोट र रक्सीमा कर नबढाउन कांग्रेस सांसद मिश्रको माग

बुधबार, ०७ जेठ २०८२, १४ : ५९
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • कांग्रेस सांसद नारायणदत्त मिश्रले आगामी बजेटमा चुरोट र रक्सीमा कर नबढाउन अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।
  • उनले कर बढाए व्यापारीले सामान लुकाएर अभाव सिर्जना गर्ने भन्दै विगतमा भन्सार चुहावट रोक्न सरकारको ध्यानाकर्षण गराए।

काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले आगामी आर्थिक वर्षको बजेटमा चुरोट र रक्सीमा कर नबढाउन अर्थमन्त्रीलाई आग्रह गरेका छन् । बुधवार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले चुरोट र रक्सीमा कर बढ्ने चाल पाएपछि उत्पादन बढाएर नयाँ गोदामभित्र सामान भरेर बजारमा अभाव देखाउने व्यापारीको दम्भ अन्त्यका लागि पनि कर बढाउनु उपयुक्त नहुने बताए ।

उनले विगतलाई हेर्ने हो भने साँठगाँठमा भन्सारमा हुने चुहावट रोक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए । अहिले नेपालमा बिचौलियाको कुरा धेरै चलेको बताए ।  उनले भने, ‘बजेट आउँदैछ । बजेटमा करका दर बढाउनु भनेको चलखेल पनि हो । तसर्थ करको दर बढ्ने चाल पाएपछि वा चाल दिएपछि उत्पादन बढाएर नयाँ नयाँ गोदामभित्र आफ्ना सामान भरेर राख्ने व्यापारीहरू छन् । तसर्थ मेरो दुई हात जोडेर बिन्ती छ कमसेकम यसपटक चुरोट र रक्सीमा कर नबढाउनुस् । अनि हेरौँ व्यापारीको दम्भ । भन्सारको मात्र कुरा गर्ने हो भने ५० प्रतिशतको मात्र भन्सार असुली हुने साथै ठूलो साँठगाँठमा फरक बाटो प्रयोग गरी सामान भित्रिन्छ । रोक्ने परको कुरा रोक्नमा सरकारको ध्यान जाओस् ।’ 

मिश्रले भने, ‘हामी संसदमा पक्षमा हुँदा बजेटमा ताली बजाउँछौँ । विपक्षीमा हुँदा कमा र फुलस्टप समेत चेन्ज नगरेको कस्तो बजेट हो यो भन्छौँ । नेपालमा बिचौलियाको कुरा धेरै हुन्छ हरेक ठाउँमा काम गर्ने मान्छेहरू चाहिन्छ । त्यसैले हामीकहाँ नयाँ नयाँ लोकतन्त्र भएर हो वा कुरा गर्न नपाएर हो या सञ्चार क्षेत्रले अरू कुरा गर्ने समय नभएर हो बिचौलियाकै कुरा धेरै भइरहेको छ ।’ 

उनले संसदमा पक्षमा हुँदा सरकारले जे गरे पनि ताली बजाउने र विपक्षमा हुँदा विरोध मात्र गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए । -न्युज एजेन्सी नेपाल 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप