बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय
बागमती प्रदेश

बागमती प्रदेशसभा : पुनः संसद् छिर्‍यो विवादित चिट्ठा विधेयक

बिहीबार, ०८ जेठ २०८२, १७ : ३९
बिहीबार, ०८ जेठ २०८२

समाचार सारांश

  • बागमती प्रदेशसभामा चिट्ठा विधेयक पुनः प्रवेश, २०८० मा प्रदेश प्रमुखबाट फिर्ता आएको विधेयक फेरि संसदमा पेस भएकाे हाे।
  • मन्त्री सुरजचन्द्र लामिछानेले विधेयक प्रस्तुत गरेपछि सांसदहरूले सर्वसम्मत रूपमा 'पुनः विचार गरियोस्' भन्ने प्रस्ताव स्वीकृत गरे।
  • विधेयकमाथिकाे छलफलमा सांसदहरूले यसलाई अघि बढाउनुपर्ने र यसका त्रुटिहरू सच्याउनुपर्ने कुरा उठाए, साथै यसले नागरिकलाई गलत बाटोमा लैजान सक्ने चिन्ता व्यक्त गरे।

हेटौँडा । बागमती प्रदेशसभामा चिट्ठा विधेयक पुनः प्रवेश पाएको छ । गत २०८० मा संसदबाट पारित भई प्रदेश प्रमुखबाट फिर्ता आएको ‘प्रदेश स्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ले पुनः संसदमा प्रवेश पाएको हो ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको सो विधेयक माथि पुनः विचार गरियोस् भन्ने प्रस्ताव सभामुख भुवनकुमार पाठकले निर्णायार्थ पेस गरेका थिए । सभामुख पाठकले निर्णायार्थ पेस गरेको चिट्ठा विधेयक माथि पुनः विचार गरियोस् भन्ने प्रस्ताव प्रदेशसभा सदस्यहरू ‘हुन्छ’ भनेर स्वीकृत गरेका थिए । सो विधेयक माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सांसदहरूले सर्वसम्मत रूपमा स्वीकृत गरेका थिए ।

त्यसअघि प्रदेशसभाको बैठकमा ‘प्रदेश स्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल भएको थियो । विधेयक माथिको सैद्धान्तिक छलफलमा सांसदहरू नेकपा माओवादी केन्द्रका रत्नप्रसाद ढकाल, नेकपा एमालेका भरतबहादुर केसी र कांग्रेसका रमेश महतले भाग लिएका थिए ।

छलफलमा भाग लिँदै माओवादी केन्द्रका सांसद ढकालले सो विधेयक अघि बढाउन समर्थन रहेको बताएका थिए । कानुन नभए पनि निर्बाध रूपमा भइरहेको कार्यलाई नियन्त्रण गर्न चिट्ठा विधेयकअघि बढाइएको उनले बताए । खुलेआम भइरहेका चिट्ठा सम्बन्धी क्रियाकलापलाई कानुन बनाएर करको दायरामा ल्याउने गरी तत्कालीन सरकारले चिट्ठा विधेयक अघि बढाएको उनले बताए । विधेयकभित्र रहेका त्रुटिलाई हटाउनुपर्ने विषयमा छलफल गरेर अघि बढ्न सक्ने उनको भनाई छ ।

एमाले सांसद केसीले देश नकारात्मक दिशामा अघि बढिरहेको अवस्थामा चिट्ठा विधेयक अघि बढाउने विषयमा गम्भीर हुनुपर्ने बताए । उनले सङ्घीयतामाथि प्रश्न उठिरहेका बेलामा चिट्ठा विधेयक अघि बढाउने विषयमा सरकारले सोच्नुपर्ने उनले बताए । नागरिकका अधिकार र सहायताको विषयमा कानुन बनाउन नसकेको अवस्थामा चिट्ठा विधेयक सरकारले किन अघि बढाएको भन्ने प्रश्न खडा भएको उनको भनाई छ ।

प्रदेश प्रमुखबाट प्राप्त सुझावमा पनि सम्पत्ति शुद्धीकरणको खेल रूपमा आउन लागेको चिट्ठा विधेयकलाई गम्भीरताका साथ लिन जरुरी रहेको उनले बताए । नागरिकहरूलाई गलत बाटोमा डाेर्याउने र प्रदेशको औचित्य माथि नै प्रश्न उठ्ने गरी चिट्ठा विधेयक अघि बढाउन उचित नहुने उनले बताए ।

बैठकमा कांग्रेस सांसद महतले चिट्ठा विधेयक विगतदेखि नै विवादित विषय बनिरहेको बताए । चिट्ठा खेल्ने र खेलाउने विषयमा मात्र नभई आर्थिक कारोबार हुने निकायहरू समेत विवादित रहेको उनले बताए । सहकारी, बैङ्किङ क्षेत्रका समस्याका बिच चिट्ठाको विषयलाई मात्र महत्त्व दिएर छलफल गर्नु संवेदनशील विषय भएको उनको भनाई छ ।

प्रदेश प्रमुखबाट प्राप्त मनि लाउण्ड्रिङ एक्टको दुरुपयोग, २०२५ मा बनेको चिट्ठा ऐनको दण्ड जरिवानाले विकृति र दुरुपयोग रोक्न नसक्ने उनले बताए । चिट्ठाबाट प्रदेशमा हुने आर्थिक विकृतिको विषयमा पनि प्रदेशसभाको ध्यान केन्द्रित हुन जरुरी रहेको उनले बताए । करको दायरामा नआएका मनोरञ्जन सम्बन्धी कारोबारलाई समेट्ने गरी चिट्ठा विधेयकको क्षेत्र बिस्तार गरेर छलफल गर्नुपर्ने उनको भनाई छ ।

बैठकमा छलफलमा उठेका प्रश्नमा जवाफ दिँदै मन्त्री लामिछानेले लामो समयदेखि चर्चामा आएको विषयमा सरकार गम्भीर रहेको बताए । विधेयकमा रहेका समस्या र कमजोरीमा सूक्ष्म ढङ्गले छलफल गरेर अघि बढ्नुपर्ने उनले बताए । विधेयकमा हुने दुरुपयोगका विषयलाई छलफलबाट नियन्त्रण गर्नुपर्ने र  करका दायरामा नरहेका आर्थिक कारोबारहरूलाई समेट्नेतर्फ अघि बढ्नुपर्ने उनले बताए । राजस्व सङ्कलन र परिचालनका विषयमा छलफल गरेर अघि बढ्न जरुरी रहेको उनले बताए ।

प्रदेशसभाको २०८० वैशाख १२ गतेको बैठकबाट पारित भएको उक्त विधेयक प्रदेश प्रमुखबाट फिर्ता भएको थियो । तत्कालीन प्रदेश प्रमुख यादवचन्द्र शर्माले ‘प्रदेश स्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ’ लाई जेठ १२ मा पुनः विचार गरियोस् भन्ने सन्देशका साथ फिर्ता गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप