१८ वर्षअघि च्याम्पियन्स लिगको मस्कटसँगै उदाएकी विलियम्सनसँग जुरेको यो संयोग
सारांश
- सन् २००७ मा आर्सनल महिला च्याम्पियन्स लिगको फाइनलमा पुग्दा मस्कट लिएर मैदानमा छिरेकी लेआ विलियम्सन अहिले आर्सनलको प्रभावशाली खेलाडी हुन्।
- १८ वर्षपछि आर्सनल बार्सिलोनासँग च्याम्पियन्स लिगको उपाधिका लागि भिड्दैछ, जसमा विलियम्सनको भूमिका महत्त्वपूर्ण हुनेछ।
- विलियम्सन सन् २००६ मा आर्सनलको युवा टोलीमा आबद्ध भएकी थिइन् र उनले सिनियर टोलीबाट डेब्यू गरेकी थिइन्।
काठमाडौँ । सन् २००७ को प्रसङ्ग हो । इङ्लिस क्लब आर्सनल महिला च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको थियो । त्यतिबेला १० वर्षीया एक बालिका प्रतियोगिताको मस्कट लिएर मैदानमा ओर्लिएकी थिइन् ।
विश्व फुटबलको परम्परालाई धान्दै ती बालिका त्यस समयका चर्चित खेलाडीहरूको औँला समाएर मैदानभित्र छिरेकी थिइन् । समय तीव्र रूपमा अगाडि बढिसकेको छ । १८ वर्षपछि अहिले फेरि आर्सनल महिला च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।
तर, १० वर्षअघिकी ती बालिको उमेर अहिले २८ वर्ष पुगिसकेको छ । उनीसँग जोडिएको संयोग भने रमाइलो छ । अहिले ती बालिका आर्सनलको प्रभावशाली खेलाडीको भूमिकामा टोलीलाई उपाधि चुमाउन मैदानभित्र प्रवेश गर्नेछिन् ।
१८ वर्षअघि ती बालिकाका फुटबल नायकहरूले मैदानमा आर्सनलाई उपाधि जिताउन घम्साघम्सी गरेका थिए । उनी भने मख्ख परेर खेल हेर्ने एक अबोध दर्शक मात्र थिइन् । तर, अहिले उनी आफै थुप्रै खेलप्रेमीको फुटबल नायक बनेर मैदानमा ओर्लनेछिन् ।
यहाँ चर्चा गरिएकी महिला फुटबल नायक हुन्, आर्सनलकी प्रभावशाली मिडफिल्डर लेआ विलियम्सन । १८ वर्षपछि फेरि महिला च्याम्पियन्स लिगको फाइनलमा पुगेको आर्सनलले यसपटक भने उपाधिका लागि स्पेनिस प्रतिद्वन्द्वी बार्सिलोनासँग भिडन्त गर्दैछ ।

आर्सनल र बार्सिलोनाबिचको फाइनल खेल शनिबार राति पोर्चुगलको लिस्बनमा खेलिनेछ । यसपटक आर्सनलले अनुभवी मिडफिल्डर विलियम्सनबाट निकै आशा गरेको छ । उनी आर्सनलबाटै निखारिएकी खेलाडी पनि हुन् ।
विलियम्सन सन् २००६ मा केवल नौ वर्षको उमेरमा आर्सनलको युवा टोलीमा आबद्ध भएकी थिइन् । उनले सन् २०१३ सम्म अर्थात्, सात वर्ष आर्सनलको युवा टोलीबाट खेलिन् । कडा परिश्रम र कुशल प्रशिक्षकको रेखदेखमा उनले आफ्नो क्षमतामा पनि निखार ल्याइन् ।
त्यसपछि सन् २०१४ मा उनले आर्सनलको सिनियर टोलीबाट ‘डेब्यू’ गरेकी थिइन् । सन् २००७ को महिला च्याम्पियन्स लिगको फाइनलमा विलियम्सन मस्कटअंकित बल बोकेर मैदानमा प्रवेश गर्दा आर्सनलले स्विडिस प्रतिद्वन्द्वी उमिआलाई १–० गोलले हराउँदै उपाधि चुमेको थियो ।
त्यतिबेला फाइनलमा आर्सनलका लागि अलेक्जेन्ड्रा भिरिना स्कटले दोस्रो हाफको इन्जुरी समयमा निर्णायक गोल गरेकी थिइन् । महिला च्याम्पियन्स लिगको इतिहासमा हालसम्म आर्सनलले जितेको त्यो एक मात्र उपाधि पनि हो ।
‘१८ वर्षअघि बोरह्यामवुडस्थित मेडो पार्क स्टेडियममा हाम्रो टोलीले उपाधिका लागि भिडन्त गर्दाको क्षण मेरो स्मृतिमा अझै पनि छ तर, मधुरो । स्टेडियम दर्शकले खचाखच भरिएको थियो र चारैतिर चर्को कोलाहल,’ विलियम्सनले विगत सम्झिइन् ।
त्यतिबेला आफू अप्रत्याशित रूपमा मैदान प्रवेश गरेको उनी बताउँछिन् । ‘त्यतिबेला खेल सुरु हुनुअघि मैले अप्रत्याशित रूपमा साथीहरूसँगै मस्कट अंकति बल बोकेर मैदान प्रवेश गर्ने अवसर पाएकी थिएँ । मेरो लागि त्यो निकै ठुलो अवसर थियो । सायद, फुटबलर बन्ने पहिलो खुड्किलो,’ उनी भन्छिन् ।
बाल्यकालको त्यही मिठो स्मरणले नै आफूलाई चर्चित फुटबलर बनेर उदाउन घचघच्याएको उनको बुझाई छ । त्यही ऐतिहासिक क्षणलाई आफ्नो स्मरणमा संगालेर आर्सनलको युवा टोलीमा रहँदा आफूले कठोर परिश्रम गरेको पनि उनी बताउँछिन् ।
‘मैले पूरै अवधि खेल हेरेँ । वास्तवमै त्यो हाम्रा लागि मिठो क्षण थियो । मैदानमा कडा सङ्घर्षपछि हाम्रा खेलाडीहरू ट्रफी उचालेर खुसीयाली मनाइरहेका थिए । रङ्गशालामा उपस्थित दर्शकमा पनि कम उत्साह थिएन । म त्यही मिठो स्मरण साँचेर यहाँसम्म आइपुगेकी हुँ,’ उनी विगत सम्झिन्छिन् ।

१७ औँ जन्मदिन मनाएको एक दिनपछि नै उनले आर्सनलको सिनियर टोलीमा ‘डेब्यू’ गरेकी थिइन् । यसबिचमा विलियम्सनसहितको आर्सनलले थुप्रै महत्त्वपूर्ण प्रतियोगिताको उपाधि चुमिसकेको छ । ठुला उपाधिकै कुरा गर्दा सात वटा ।
तर, क्लबका लागि च्याम्पियन्स ट्रफीको उपाधि चुम्ने उनको सपना भने अझै पुरा हुन सकेको छैन । ‘क्लबका लागि च्याम्पियन्स लिग जित्ने मेरो सपना अझै पूरा हुन सकेको छैन । तर, समयको लामो कालखण्ड पार गरेपछि अहिले हामीले फेरि च्याम्पियन्स ट्रफी जित्ने अवसर पाएका छौँ,’ उनी भन्छिन् ।
यसपटक आर्सनलले च्याम्पियन्स लिगको उपाधि जित्नेमा आफू आशावादी रहेको उनी बताउँछिन् । ‘प्रतिद्वन्द्वी निकै बलियो छ । तर, हाम्रो तयारी पनि कम छैन । हाम्रो टोली सन्तुलित छ र एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै हामी यो स्थानसम्म आइपुगेका हौँ,’ उनी भन्छिन् ।
बार्सिलोना च्याम्पियन्स लिगको साविक विजेता पनि हो । त्यसअघि सन् २०२२–२३ सिजनको उपाधि पनि बार्सिलोनाले नै जितेको थियो । समग्रमा भने शनिबार राति बार्सिलोना चौथो उपाधि चुम्ने योजनासहित मैदानमा ओर्लनेछ ।
‘वास्तवमै बार्सिलोना युरोपेली हस्ती हो । यो कुरा हामीले राम्ररी बुझेका छौँ । त्यसैले हामीले गतिलो तयारी पनि गरेका छौँ । सोही अनुरुप रणनीति पनि बनाएका छौँ । यो ट्रफी हाम्रा लागि निकै महत्त्वपूर्ण छ । किनभने हामीले १८ वर्षपछि यो अवसर पाउँदैछौँ,’ विलियम्सन भन्छिन् ।
विलियम्सनका लागि शनिबार राति खेलिने बार्सिलोनाविरुद्धको फाइनल अर्को अर्थमा पनि महत्त्वपूर्ण हुनेछ । सन् २००७ को फाइनलमा बल बोकेर मैदानमा प्रवेश गर्दा रङ्गशालामा तीन हजार चार सय ६७ दर्शक उपस्थिति थिए । तर, शनिबार लिस्बनमा फाइनल खेल हुँदा ५० हजारभन्दा बढी दर्शक रङ्गशालामा उपस्थित हुनेछन् ।
विलियम्सन इङ्ल्यान्डको राष्ट्रिय टोलीकी प्रभावशाली सदस्य पनि हुन् । उनी इङ्ल्यान्डको राष्ट्रिय महिला टोलीकी कप्तान पनि हुन् । उनकै कप्तानीमा इङ्ल्यान्डले सन् २०२२ मा यूईएफए महिला युरोपियन च्याम्पियनसिपको उपाधिसमेत चुमेको थियो । त्यतिबेला इङ्ल्यान्डले घरेलु मैदानमा खेलिएको फाइनल खेलमा बलियो जर्मनीलाई २–१ गोलले हराउँदै उपाधि कुम्ल्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण