शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय

प्रतिगमनकाे कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले रहन्छ : प्रधानमन्त्री

शुक्रबार, ०९ जेठ २०८२, १६ : ३७
शुक्रबार, ०९ जेठ २०८२

समाचार सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले प्रतिगमन रोक्ने अभियानमा रहेको बताए, राजतन्त्र फर्किने सपना नदेख्न आग्रह गरे।
  • ओलीले एमालेमाथि भइरहेका आक्रमणको चर्चा गर्दै पार्टीको योगदानलाई बिर्साउने प्रयास भइरहेको बताए।
  • ओलीले १४ महिनापछि देउवालाई सरकार सुम्पिने र निर्वाचन गराउने प्रतिबद्धता जनाए, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कुरा गरे।

पोखरा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक, अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्र भागमा एमाले पार्टी रहेको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न आग्रह गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर चाँडै राजतन्त्र फर्कने जस्ता हल्ला फिँजाएको उल्लेख गर्दै उनले भने, ‘पूर्व राजाको कुण्डली मात्रै हेरेर हुँदैन । जनताको कुण्डली हेर्नुपर्छ । ज्योतिषीहरूले मेरो कुण्डली पनि हेरे हुन्छ । राजसिंहासनको कल्पना अब हुन्न । नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्न । राजतन्त्रविरुद्ध लडेका हामी यस देशमा छँदैछौँ, प्रतिगमनका त्यस्ता सपना नदेख्न म आग्रह गर्छु ।’

‘प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टरको सुविधा दिने जस्ता उत्ताउलो कुरा पनि गरेका छन् । म भन्न चाहन्छु, कुनै पनि प्रतिगमनको कुचेष्टालाई धुलो पिठो बनाइन्छ । त्यस्ता प्रयास रोक्ने अग्र भागमा युवा सङ्घ आउनुपर्छ । कुनै पनि समय हामी त्यस्ता प्रयासलाई नियन्त्रण गर्न अगाडि बढ्नुपर्ने हुन्छ । तयारी अवस्थामा रहन म सबैलाई आग्रह गर्छु’ अध्यक्ष ओलीले भने । 

उनले एमालेमाथि आन्तरिक र बाह्य पक्षहरू तथा विरोधीहरूको केन्द्रीकृत र चौतर्फी आक्रमण बढिरहेको समेत बताए । उनले भने, ‘एमालेले गल्ती गरेको भए अहिले हामी जुन ठाउँमा छौँ, त्यस ठाउँमा आउन दिने थिएनन् । हामी सही नीति, सुशासन र विकासका निम्ति काम गर्ने पार्टी हो । एमालेको पक्षमा बोल्दा झोले भनेर हतोत्साहित गर्नेहरूको भ्रम र अन्योलमा नपरी आफ्ना कर्तव्य पूरा गर्न म आग्रह गर्दछु ।’

अध्यक्ष ओलीले एमालेका योगदानलाई बिर्साउने प्रयास गरिएको टिप्पणी गर्दै एमालेको नेतृत्वमाथि केन्द्रीकृत गरेर अनुचित झुटा लाञ्छना र आरोप लगाउने काम भइरहेकाले त्यस्ता भ्रम फिँजाउन खोज्ने प्रयासहरूलाई तोड्न सबै देशभक्त र एमालेहरू एकजुट हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता आएकाले स्थिरता र सुशासनका  लागि एमाले र काँग्रेसको सरकार बनेको बताउँदै सरकार ढल्यो भनेर कराइरहेकाहरूलाई अबको १४ महिनापछि आफूले राजीनामा गरेर कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरी आफूहरू सरकारमा रहेर निर्वाचन गराउने स्पष्ट पारे । आफूहरू भ्रष्टाचारविरुद्ध कसैको अनुहार नहेरी शून्य सहनशीलताका साथ काम गरिरहेको पनि उनले बताए ।

युवा सङ्घको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व गर्न आग्रह गर्दै अध्यक्ष ओलीले नेतृत्वमा नअटेका हरेको व्यवस्थापन हुने भएकाले लुछाचुँडी नगर्न र सहमति नभएमा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरे ।

कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना  प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, सचिव पद्मा अर्याल, जनसङ्गठन संयन्त्रका संयोजक भानुभक्त ढकाल, नेताहरू महेश बस्नेत, राजीव पहारी, निरुदेवी पाल, किरण पौडेललगायत उपस्थित थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप