शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

एक यात्रीको शे–फोक्सुण्डो ताल डोल्पाको यात्रा

शनिबार, १० जेठ २०८२, १९ : १४
शनिबार, १० जेठ २०८२

समाचार सारांश

  • डोल्पा जिल्लाको शे-फोक्सुण्डो तालको यात्रा वर्णन गरिएको छ, जहाँ यात्रीहरूले नेपालगञ्जबाट यात्रा सुरु गरेका थिए।
  • यात्राको क्रममा, यात्रीहरूले विभिन्न ठाउँहरू जस्तै छिन्चु, जाजरकोट, र तल्लुबगर हुँदै शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको यात्रा गरे।
  • यात्रामा तालको सुन्दरता, झरना, र स्थानीय जीवनको अनुभव गरिएको थियो, साथै यात्राको अन्त्यमा यात्रीहरू काठमाडौं फर्के।

डोल्पा जिल्लास्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र अवस्थित निकै सुन्दर हिमाली स्वच्छ पानीको ताल हो, शे–फोक्सुण्डो ताल । यो नेपालको दोस्रो सबैभन्दा गहिरो र ठुलो ताल हो । कान्जिरोवा र सागर हिमालको काखमा अवस्थित यो ताल वाई आकारको छ । यो ताल फोक्सुण्डो खोला अथवा सुलिगाडको उद्गमस्थल हो । कुनै पनि जीवजन्तु नपाइने हुँदा यस ताललाई निर्जीव ताल पनि भनिन्छ । यो तालको अधिकतम गहिराइ १४५ मिटर रहेको छ । सन् २००७ मा शे–फोक्सुण्डो ताललाई रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो ।

दुनै सदरमुकाम रहेको डोल्पा जिल्ला ७८८९ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ, जुन देशकै ठुलो जिल्ला हो, जहाँ ठुलिभेरी नगरपालिकासहित आठवटा स्थानीय तह रहेका छन् ।

अध्यात्म र प्रकृतिको सौन्दर्यमा रमाउनेका लागि हिमालको काखमा रहेको शे–फोक्सुण्डो ताल सुन्दर गन्तव्य बन्न सक्छ । गत वर्ष (२०८१) चैत २४ गतेको बिहान, हामीले नेपालगन्जबाट हाईलक्स पिकअप गाडीबाट डोल्पाका लागि यात्रा तय गर्‍यौँ । समथर तराईका दृश्य नियाल्दै कोहलपुर पुगियो । त्यसपछि चुरे पहाड अनि हल्का जंगलहरूकै बिचबाट हामी कोहलपुरबाट छिन्चुतर्फ लाग्यौँ । चैतमासको समय जंगल सुक्खा थियो । रुख–बिरुवाका पात झरेका थिए, अनि भएका पात पनि सुकेका थिए । 

घर्किंदै गरेको बिहानीमा हामी छिन्चुबाट जाजरकोटतर्फ हानियौँ । कहिले भेरी नदीको किनारै किनार त कहिले नदीको आसपास यात्रा गरिरहेका थियौँ । मेलकुना, बालुवासंग्रही, सल्लीबजार हुँदै दिउँसो ११ः४५ मा जाजरकोटको सिमाना छेडाबजार पुग्यौँ । त्यहाँ दिउँसोको खाना खाइवरी हाम्रो यात्रा अगाडि बढ्यो । त्यस दिन भेरी नदी किनारस्थित तल्लुबगरमा बस्ने योजना बनेको थियो, तल्लुबगर पुग्दा झमक्क साँझ परेको थियो । 

भोलिपल्ट बिहानै डोल्पाको दुनैतर्फ लाग्यौँ । तल्लुबगरसम्म बाटो सजिलै थियो । तल्लुबगरदेखि दुनैसम्मको बाटो केही अप्ठेरो रहेछ । दुनैको सिद्धार्थ होटलमा झोला बिसाइ हामी दुनै वरिपरि घुम्यौँ । केहीबेरमा शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्षसँग भेटघाट भयो । भोलिपल्ट बिहानै शे–फोक्सुण्डो जाने योजना बनेको थियो । शे–फोक्सुण्डोतर्फ पैदलयात्रा गर्ने प्रस्थान बिन्दु हो, सुलिगाड । शे–फोक्सुण्डोतर्फ पैदलयात्रा गर्ने प्रस्थान बिन्दु हो, सुलिगाड । ठुलीभेरी र फोक्सुण्डो खोलाको संगम, कञ्चन पानी, वरिपरि भीमकाय पहाडले सुलिगाडलाई सुन्दर बनाएको छ । 

सुलिगाडबाट भेरी नदीमा बनेको झोलुंगे पुल तरी सेनाको ब्यारेक हुँदै फोक्सुण्डो खोलाको किनार हुँदै हामी शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालय पुग्यौँ । निकुञ्ज भ्रमणका लागि नेपालीलाई  सय रुपैयाँ र विदेशीलाई तीन हजार रुपैयाँ शुल्क लाग्ने रहेछ । 

फोक्सुण्डो खोलाको किनारैकिनार यात्रा गरिरहेका थियौँ । ठाउँठाउँमा शे–फोक्सुण्डो ताल भ्रमण गरेर फर्किएका यात्री भेटिन्थे । सुलिगाडबाट हिँडेको करिब दुई घण्टामा हामी कागनी भन्ने ठाउँमा पुग्यौ । त्यहाँ केहीबेर आराम गरी अविरल रूपमा हिँडिरह्यौँ । साङ्टा भन्ने ठाउँमा पुगी खाना खाएर हाम्रो यात्रा अगाडि बढिरहेको थियो । २६८१ मिटर उचाइमा रहेको साङ्टा फोक्सुण्डो खोला र आँखी खोलाको संगम स्थल रहेछ । सुन्दर पहाडको काखबाट निस्केको खोलाको सुसाइले हामीलाई मोहित पारेको थियो । सुन्दर पहाडको काखबाट निस्केको खोलाको सुसाइले हामीलाई मोहित पारेको थियो । त्यसपछि हामीले छेप्का पुगेर झोला बिसायौँ । सुलिगाडबाट हिँडेको ६ घण्टा १५ मिनेटमा हामी छेप्का पुगेका थियौँ । यहाँको ट्रेकिङ रुट सजिलो र जेन्टल लाग्यो । यात्राका क्रममा बाटोमा भेटिएका अत्यन्त सफा र चिटिक्क परेका होटलहरू, त्यहाँ पाइने मिठा भोजनहरूले मलाई मनाङको याद दिलायो । फोक्सुण्डो खोलाको सुसाहट, धुपी र सल्लाहरूको जंगल, अनि बहुत सरल मान्छेहरू । त्यसपछि हामी धुने क्याम्पिङ क्षेत्र पुगेका थियौँ । सुलिगाडबाट हिँडेको ११ घण्टापछि हामी रेची भन्ने ठाउँमा पुग्यौँ । त्यहाँ बास बसेर भोलिपल्ट बिहान हामी रेचीबाट हिँड्यौ ।

३१०० मिटर उचाइमा रहेको साइजोल भन्ने ठाउँमा कक्षा १० सम्म पढाइ हुने बोर्डिङ स्कुल रहेछ, जहाँ १५० जना विद्यार्थी पढ्दा रहेछन् । साइजोलबाट शे–फोक्सुण्डो पुग्नका लागि मैले घोडाको प्रयोग गरेँ । अलि माथि पुगेपछि शे–फोक्सुण्डो झरना देखियो । हामीले केही तस्बिर खिच्यौँ । रेचीबाट हिँडेको ५ घण्टा १५ मिनेटमा रिग्मो भिलेज पुगियो । त्यसको आडैमा शे–फोक्सुण्डो ताल रहेको छ । रिग्मो भिलेज सानो हिमाली गाउँ हो, जहाँ एकै ठाउँमा झुरुप्प घरहरू । विशाल शे–फोक्सुण्डो ताल पुग्दा दिउँसोको १२ः३० भएको थियो । हामीले तालको आडैमा रहेको कानजिरोवा होटलमा झोला बिसायौँ अनि केहीबेर तालको किनारमा गयौँ । त्यहाँबाट फर्की दिउँसोको खाना खायौँ । त्यसपछि हामी फेरि तालको किनारमा गयौँ र सुन्दर तालको दृश्यावलोकन गर्‍यौँ । त्यस दिन मौसम चिसो थियो । रिग्मो भिलेजमा सिमसिमे पानी परिरहेको थियो । केहीबेरमा वरिपरि डाँडामा हिउँ पर्न थाल्यो । हामी बसेको होटलको कोठाबाट पनि ताल स्पष्ट देखिन्थ्यो । मैले होटलको कोठामा ओशोको कुण्डलिनी ध्यान गरेँ । हिमालयमा गएर साधना गर्दा निकै आनन्दको अनुभूति भयो । 

शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङ जान तालबाट अझै दुई दिन लाग्ने रहेछ । भोलिपल्ट बिहान वरपर नियाल्दा चारैतिर हिउँ परेको थियो । सेताम्मे हिउँले ढाकिएका पहाडहरू सुन्दर देखिन्थे । त्यस घमाइलो बिहानमा ताल निकै सुन्दर देखिएको थियो । त्यही बिहान सेता हिमालहरूको मनमोहक दृश्य नियाल्दै हामी ओर्लियौँ । साँझ साङ्टा आई बास बस्यौँ । बास बसेर हामी हिँड्दै फर्किरहेका थियौँ । फर्कंदा शरीर हलुङ्गो र मन प्रफुल्लित थियो, कुनै युद्ध जितेर फर्किएजस्तो । सुलिगाड सेनाको चेकपोस्टमा पुग्दा दिउँसोको १ बजेको थियो । नयाँ वर्ष (१ वैशाख २०८२) को दिन म काठमाडौँ आइपुगेँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

स्वामी ध्यान आशिष
स्वामी ध्यान आशिष
लेखकबाट थप

छुटाउनुभयो कि ?