बार्सालाई स्तब्ध पार्दै आर्सनललाई महिला च्याम्पियन्स लिग
आइतबार, ११ जेठ २०८२, ०९ : ०९

लिसबन । युरोपियन महारथी बार्सिलोनालाई स्तब्ध पार्दै आर्सनलले १८ वर्षमा पहिलोपटक महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार भएको खेलमा आर्सनल १–० गोलले विजयी बनेको हो ।
खेलको ७४ औँ मिनेटमा स्टिना ब्ल्याकस्टेनसले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । बेथ मेडको पासमा स्विडिस खेलाडीले गोल गरेकी थिइन् ।
पछिल्लो ४ मध्ये ३ युरोपियन उपाधि जितेको बार्सिलोनाविरुद्ध आर्सनललाई अन्डरडगका रूपमा हेरिएको थियो । तर, टोलीले सन् २००७ को उपलब्धि दोहोर्याउँदै पुनः एकपटक युरोपको शीर्ष क्लबहरूमा आफूलाई उभ्याउन सफल भएको छ ।