जेठ १५ गते काठमाडौँमा एमालेको शक्ति प्रदर्शन : केन्द्रीय नेताहरू नै फिल्डमा उत्रने (सर्कुलरसहित)
सारांश
- नेकपा एमालेले जेठ १५ गते देशव्यापी जनप्रदर्शनको आयोजना गर्दै नेताहरूको जिम्मेवारी तोकेको छ, जसमा काठमाडौंलाई विशेष प्राथमिकता दिइएको छ।
- महासचिव शंकर पोखरेलका अनुसार, प्रदर्शनको उद्देश्य गणतन्त्र दिवसलाई स्मरणयोग्य बनाउन र राजावादीहरूको भ्रम चिर्नु हो।
- वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई काठमाडौँबाट जनमानस परिचालनको जिम्मेवारी दिइएको छ, भने विभिन्न नेताहरूलाई प्रदेश समन्वयको जिम्मा दिइएको छ।
काठमाडौँ । नेकपा एमालेले जेठ १५ गते आयोजना गरेको देशव्यापी जनप्रदर्शनलाई सफल पार्न नेताहरूको जिम्मेवारी तोकेको छ । यद्यपि एमालेले काठमाडौँलाई बढी प्राथमिकता दिएको छ ।
सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको तयारी बैठकमा प्रदर्शनलाई सफल बनाउन नेताहरूको जिम्मेवारी बाँडफाँडबारे जानकारी गराइएको छ ।
जनसंगठनका अध्यक्ष, इन्चार्ज र काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका वडा तहसम्मका पदाधिकारीहरुको बैठकमा महासचिव शंकर पोखरेलले नेताहरूको जिम्मेवारी बाँडफाँडको जानकारी गराएका हुन् । महासचिव पोखरेलका अनुसार गणतन्त्र दिवसलाई आम जनताले सम्झने गरी मनाउन र राजावादीहरूले फैलाएका भ्रमहरू चिर्नका जनप्रदर्शनको तयारी गरिएको हो ।
पोखरेलका अनुसार काठमाडौँ जिल्लाबाट व्यापक मात्रामा जनमानस परिचालन गर्न लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
जनसंगठनहरुको संयोजन गर्नका लागि सचिव गोकर्ण विष्टलाई जिम्मेवारी दिइएको छ । विष्टलाई सबै जनसंगठनका इन्चार्जहरूले सघाउनेछन् ।
एमालेमा ठुलो जनधार भएको संगठनको रूपमा रहेको सम्पर्क समन्वयको संयोजनको जिम्मेवारी विभिन्न भूगोल अनुसार फरक फरक नेताहरूलाई दिइएको छ ।
जसअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेश समन्वयको जिम्मा सचिव लेखराज भट्ट र बागमती प्रदेशका जिल्लाको जिम्मा उपमहासचिव प्रदीप ज्ञवालीलाई दिइएको छ । लुम्बिनी र गण्डकीका सबै जिल्ला समन्वयको जिम्मा सचिव पद्मा अर्याललाई तोकिएको छ । यस्तै कोशी प्रदेशका जिल्लाहरूको समन्वय गर्न उपाध्यक्ष रामबहादुर थापालाई जिम्मेवारी दिएको छ भने मधेस प्रदेशका आठ वटै जिल्लाका सम्पर्क मञ्चहरूको समन्वय गर्न उपाध्यक्ष युवराज ज्ञवालीलाई जिम्मेवारी दिइएको छ ।
उपत्यकाका जनप्रदर्शनमा ठुलो सङ्ख्यामा सहभागी गराउने ललितपुर र भक्तपुरको समन्वय गर्न उपाध्यक्षहरू क्रमशः अष्टलक्ष्मी शाक्य र गुरु बराललाई जिम्मेवारी तोकिएको छ । उपत्यका बाहेक बागमती प्रदेशका १० वटा जिल्लाको समन्वयको जिम्मेवारी उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई दिइएको छ । स्वयंसेवक परिचालनका लागि उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई जिम्मेवारी दिइएको छ । उपत्यका विशेषको संयोजन सचिव योगेश भट्टराईलाई दिइएको छ । सबै विभागको संयोजनको जिम्मेवारी सचिव छविलाल विश्वकर्माले पाएका छन् ।
गणतन्त्र दिवसका दिन ज्येष्ठ १५ गते बिहान ११ बजे भृकुटी मण्डपमा एमालेका नेता कार्यकर्ता झाँकी र जुलुस र आफ्नो पार्टी, जनसंगठनको पहिचान सहित उपस्थित हुन पनि आजको भेलाले निर्देशन गरेको छ । हिजोको सचिवालय बैठकले ज्येष्ठ १५ गते काठमाडौँ सहित सबै पालिकाहरूमा गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो ।
यस्तै प्रदेश कमिटी र जिल्ला कमिटीले आ–आफ्नो तहका संघ–संस्थाहरुलाई गणतन्त्र दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्न प्रेरित गर्नेगरी सर्कुलर भएको छ । त्यस्ता कार्यक्रमहरुमा जनसहभागिताका लागि सहजीकरण गर्न पनि सर्कुलरमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण