बागमतीको नीति कार्यक्रम : युवा खेलकुदका के–के विषय समेटिए ?

समाचार सारांश
- बागमती प्रदेश सरकारले युवा तथा खेलकुद क्षेत्रमा पूर्वाधार विकास र प्रशिक्षणलाई जोड दिएको छ।
- आगामी वर्षको नीति कार्यक्रममा अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण, खेलाडी प्रोत्साहन र खेल पर्यटनको विकास समावेश छन्।
- युवा उद्यमशीलता विकास, रोजगार सिर्जना, र 'एक निर्वाचन क्षेत्र एक बहुउद्देश्यीय खेलमैदान' कार्यक्रमलाई प्राथमिकता दिइनेछ।
हेटौँडा । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा युवा तथा खेलकुद क्षेत्रमा पूर्वाधार विकाससँगै प्रशिक्षण तथा व्यवसायिकताका विषयहरु समेटेको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार बसेको प्रदेशसभाको बैठकमा पेस गरेको सरकारको आगामी वर्षको नीति कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण, खेलकुदका गतिविधि, प्रशिक्षण तथा युवा उद्यमशीलताका विषय समेटेको हो ।
सरकारको नीति कार्यक्रममा स्वास्थ्य तथा अनुशासनका लागि खेलकुद भन्ने मर्मका साथ खेलकुद पूर्वाधारको विकास र प्रशिक्षणको व्यवस्था गरी प्रतिभावान, व्यावसायिक तथा अन्तर्राष्ट्रिय पदक हासिल गरेका खेलाडीहरुलाई खेल क्षेत्रमा निरन्तरता दिन प्रोत्साहन गर्ने नीति लिने जनाएको छ । नीति कार्यक्रममा उल्लेख भएअनुसार प्रदेश सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहलगानीमा निर्माण गरी प्रतिफल बाँडफाँडको व्यवस्था गर्ने भएको छ ।
हेटौँडाको गौरीटारमा निर्माणाधीन अन्तर्राष्ट्रिय खेलकुद रङ्गशाला तथा खेलकुद संरचना र प्रदेशमा निर्माणाधीन अन्य खेलकुद पूर्वाधार निर्माणका कार्यलाई निरन्तरता दिने सरकारको नीति कार्यक्रममा उल्लेख छ ।
‘युवाको सर्वाङ्गीण विकास, राष्ट्र निर्माणको आधार’ अभियानलाई निरन्तरता दिने, युवा वर्गको उद्यमशीलता विकास गर्न आवश्यक तालिम, सीप विकास, रोजगार सृजना गर्ने कार्यक्रमहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने सरकारको योजना रहेको छ ।
स्थानीयस्तरमा हुने खेलकुदलाई प्रोत्साहन गर्दै प्रादेशिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, खेल पर्यटनको विकासका लागि पर्वतीय खेल सहितका पहिचान गरिएका साहसिक खेलहरुलाई समेत समावेश गर्ने, खेलाडीहरूलाई एन्टी डोपिङसँग सम्बन्धित सचेतनामूलक कार्यक्रम र स्वयंसेवक खेलकुद प्रशिक्षक कार्यक्रमलाई निरन्तरता दिने सरकारको नीति कार्यक्रममा उल्लेख छ ।
उद्यमशीलता, रोजगारी र खेलकुद मार्फत राष्ट्र निर्माणमा युवाहरूको योगदान वृद्धि गर्ने लक्ष्यअनुरूप एक निर्वाचन क्षेत्र एक बहुउद्देश्यीय खेलमैदान कार्यक्रम सञ्चालन गर्ने, वातावरण तथा पर्यावरणीय संरक्षणमा युवा जनशक्ति परिचालन गर्ने सरकारको योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा बजेटमाथिको छलफल सुरू, कुर्सी खाली (तस्बिरहरू)
-
टुँडिखेलमा मगर समुदायको भूमे पूजा, तस्बिरमा हेर्नुहोस्
-
राजधानीको बूढानीलकण्ठमा दुई जना मृत अवस्थामा फेला, प्रहरीले अनुसन्धान अगाडि बढायो
-
कर्मचारीतन्त्रले नागरिकको मन जिते मात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति
-
आमसञ्चार विधेयक छलफल : सुधारको प्रयास कि पुरानै प्रवृत्तिको निरन्तरता ?
-
३९ लाख ५० हजार बिगो भएको बैंकिङ कसुर मुद्दाका फरार तीन जना प्रतिवादी पक्राउ