बजेट कार्यान्वयनमा अर्थमन्त्री विश्वस्तः विपक्षी दलका नेताहरूले के भने ?

काठमाडौँ । कांग्रेस र एमालेको गठबन्धन सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धमा विपक्षी दलहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदमा १९ खर्ब ६४ अर्बको बजेट पेस गरेका थिए । बजेटलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको बजेट परम्पराको निरन्तर भएको आरोप लगाए ।
‘बजेट पुरानै कुराको निरन्तरता र परम्परागत छ । विषयहरू सबै लेखिएकै छन् । तिनै कुरा दोहोरिने, कपि पेस्ट गर्ने हो । राम्रो कुरा अहिले नारा कम रहेछन्,' उनले भने, ‘खेलमा विकास गर्ने त भन्नुभयो तर खेलकुद गर्नै दिनुहुन्न । समस्या यस्ता छन् । अहिले नेपालको अर्थतन्त्रको समस्या जुन छ, त्यसलाई समाधान गर्न समग्र अर्थ प्रणालीकै पुर्नसंरचना गर्नुपर्छ । तर बजेट त्यसरी आएन ।’
पूर्वमन्त्री तथा आम जनता पार्टी(आजपा)का अध्यक्ष प्रभु साहले बजेट बिचौलियाको स्थार्य हेरेर आएको आरोप लगाएका छन् । अहिलेको बजेटले देशलाई बर्बाद गर्ने साहले जिकिर गरे । ‘बजेट वितरण हेर्दा नेतामुखी देखिन्छ । विचौलीयाको इन्ट्रेसलाई हेरी हेरी यो बजेट बनाइएको छ । म विश्वासका साथ भन्छु यस बजेटले देशलाई बर्बाद बनाउँछ,' उनले भने ।
यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति तथा अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले आगामी बजेट उत्ताउलो र गैरजिम्मेवार नभएको टिप्पणी गरे । तर बजेट कार्यान्वयनमा उनले आशंका व्यक्त गरे ।
‘सरकारले आज १९ साय ६४ अर्बको बजेट पेस गरेको छ । त्यो धेरै उत्ताउलो र गैरजिम्मेवार छैन भन्ने हामीले टिप्पणी गरेका छौँ । तर भूकम्पपछि ठुलो बजेटको आकार फुक्दै जाने, माघमा गएर सुक्ने जुन पुरानो रोगको निरन्तरता हुन्छ कि भन्ने हामीलाई चिन्ता छ,' उनले भने ।
अर्थमन्त्री पौडेलले १९ सय ६४ अर्ब खर्च गर्ने प्रतिबद्धतामाथि आशंका व्यक्त गर्दै उनले भने, ‘गत साल १८ सय ६० अर्बको बजेट थियो । तर यो आर्थिक वर्ष सकिन ६ हप्ता पनि बाँकी छैन । अब २ खर्ब नै बढ्यो भनेपनि सरकारले खर्च गर्ने क्षमता १४/१५ खर्ब मात्र रहेछ । अनुकुल समयमा बलिया सरकारले ल्याएको सरकारले पनि ८०/८५ प्रतिशत भन्दा बढी खर्च भएको छैन । यसलाई मनन गर्न हामी अर्थमन्त्रीलाई सन्देश दिएका छौँ ।’
उद्योगपती तथा प्रतिनिनिधिसभा सदस्य विनोद चौधरीले बजेट सरसरती सुन्दा आफूले दिएको सुझाव धेरै हदसम्म परेकोमा खुसी व्यक्त गरे ।
उदाहरण प्रस्तुत गर्दै उनले भने– पुराना योजना सिध्याउने, नसक्ने ठुल्ठुला आयोजना नआँट्ने । कनिका छरेको जसरी बजेट नल्याइ तीन करोडभन्दा घटीको योजना नबनाउन आफूले दिएको सुझाव बजेटमा प्रतिविम्बित भएको चौधरीले बताए ।
‘आईटीको क्षेत्रलाई अगाडि बढाउने विषयमा, पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने कुरा, युवालाई बाहिर जान हतोत्साहित बनाउन ‘स्टाटअफ’ व्यवसाय, देशभित्रै इन्टुभेसन गर्न तीन प्रतिशतको ब्याज दिने, विदेशमा लगानी गर्न ‘स्वेट इक्वीटी’को व्यवस्था बजेटमा रहेको छ । यो सकारात्मक कुरा छ,' उनले भने ।
यता अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनको सूचीमा सूचीकृत हुनेमा विश्वास व्यक्त गरे । संसद्मा पेस गरेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया गर्दै उनले बजेट पूर्ण कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।
‘कार्यान्वयन सन्र्दभमा जहिले पनि चुनौती हुन्छन् । चुनौती पक्षाउँदै कार्यान्वयन हुनेगरी बजेट प्रस्तुत गरेको छु । यो बजेट पूर्ण कार्यान्वयनको सूचीमा सूचीकृत हुनेमा मैले विश्वास लिएको छु,' उनले भने, ‘यो बजेट निजी क्षेत्रको आत्मबल बढाउने, मनोबल बढाउने र सहजीकरण गर्ने सबै दृष्टिकोणले अनुकुल छ । यो बजेटको विशेषता भनेको एकदमै वास्तविकता आएको छ । स्रोतभन्दा बाहिर गएर आएको छैन ।’
अहिलेको बजेट फुलेको वा सुनिएको नभई ऋण, स्रोतको व्यवस्थापन गर्नेगरी आएको उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन प्याब्सनले दियो शिक्षिकाहरूलाई तालिम
-
फाइनल पुग्ने लक्ष्यसहित आपसमा भिड्दै दुई महारथी मुम्बई र गुजरात
-
संसद्को अवरोधबारे निर्णय लिन माओवादीले बोलायो संसदीय दलको बैठक
-
मेक्सिकोको क्षेत्रीय सङ्गीत ब्यान्डका बेपत्ता पाँच सदस्य मृत फेला परे
-
ललितपुरमा खाजा खान होटेलमा पसेका युवकको शङ्कास्पद मृत्यु
-
माओवादीले जेठ २१ गतेदेखि मध्यपहाडी अभियान सञ्चालन गर्ने