शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय

गणतन्त्र दिवसमा मधेस सरकारले तीन दिन कार्यक्रम गर्दै

बुधबार, १४ जेठ २०८२, १२ : ०९
बुधबार, १४ जेठ २०८२

समाचार सारांश

  • मधेस सरकारले गणतन्त्र दिवस विशेष रूपमा मनाउन तीन दिने कार्यक्रमको आयोजना गर्दैछ।
  • कार्यक्रममा सरसफाइ, प्रेस स्वतन्त्रता सेनानीहरूको सम्मान र जानकी मन्दिर सरसफाइ जस्ता गतिविधिहरू समावेश छन्।
  • गृहमन्त्री राजकुमार लेखीको नेतृत्वमा कार्यक्रम हुनेछ, जसमा विभिन्न मन्त्रालयका कर्मचारी र सुरक्षाकर्मीको सहभागिता रहनेछ।

जनकपुर । मधेस सरकारले यो वर्षको गणतन्त्र दिवसलाई विशेष बनाउने तयारी गरेको छ । गणतन्त्र दिवसको अवसरमा मधेस सरकारले प्रदेशमा तीन दिनसम्म विविध कार्यक्रम आयोजना गर्ने भएको हो । 

प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा जेठ १४, १५ र १६ गतेसम्म गणतन्त्र दिवस सप्ताह मनाउन लागिएको हो । गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले आज बिहान सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै तीन दिनसम्म विभिन्न सामाजिक, सांस्कृतिक र सम्मानजनक कार्यक्रमहरू आयोजना गरिने बताए । उनले गणतन्त्र दिवस सबै नागरिकले प्राप्त अधिकारको संस्थागत स्मरणका रूपमा मनाउन लागिएको बताए ।

गृहमन्त्री लेखीले घोषणा गरेको कार्यक्रम अन्तर्गत आज पहिलो दिन सरसफाइ गरिएको छ । तीन दिने कार्यक्रमको पहिलो दिन आज बिहान ६ बजेदेखि गृह मन्त्रालय परिसरमा सरसफाइ अभियान सुरु गरिएको थियो । 

सरसफाइ कार्यक्रममा गृहमन्त्री लेखीसहित प्रदेश सचिव विमलप्रसाद बराल, उपसचिव गणेश नायक, कानुन अधिकृत लक्ष्मण राई, साथै मन्त्रालयका अन्य कर्मचारीहरू, नीति आयोगकी सदस्य डा. शिला मिश्रा, आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा लगायतको सहभागिता थियो । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीका सयौँ सुरक्षाकर्मीहरूले पनि सहभागिता जनाएका थिए। 

 प्रेस स्वतन्त्रता सेनानीको सम्मान

गणतन्त्र दिवसको मुख्य दिन १५ जेठमा मधेस प्रदेशभरिका प्रेस स्वतन्त्रता सेनानीहरूलाई औपचारिक रूपमा सम्मान गर्ने कार्यक्रम तय गरिएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री लेखीले नै सबैलाई सम्मान गर्ने कार्यतालिका रहेको जनाइएको छ । 

गृहमन्त्री लेखीका अनुसार सञ्चारकर्मीहरूले निरङ्कुश शासनको विरोधमा आवाज उठाउँदै लोकतन्त्र स्थापनामा अग्रणी भूमिका खेलेका छन्। त्यसकारण प्रदेशबाट सम्मान गर्न लागिएको उनको तर्क छ ।

यसैगरी १६ जेठमा बिहान जनकपुरधामस्थित जानकी मन्दिरको सरसफाइ गर्ने कार्यक्रम राखिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप