बजेटमा गण्डकीः पोखरा एयरपोर्ट पर्यटकी हब, आँबुखैरेनी–पोखरा सडक सक्ने
पोखरा । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा गण्डकी प्रदेशलाई खासै सम्बोधन गरिएन । पर्यटनको राजधानी मानिने पोखरालाई नै पर्यटन मन्त्रालयको बजेटमार्फत समेटिएको छैन । यद्यपि केही पूर्वाधारका क्षेत्रमा भने जोडिएको छ ।
सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबका रूपमा विकास गर्ने घोषणा गरेको छ । यस्तै, पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान कम्पनीलाई निश्चित संख्यामा उडान सञ्चालन गर्न थप प्रोत्साहन दिने बिहीबार बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । उनका अनुसार आँबुखैरेनीदेखि पोखरासम्मको सडक विस्तार आगामी वर्ष सम्पन्न गरिने छ ।
यो सडक निर्माण सक्न सरकारले आगामी वर्षलाई ८ अर्ब ५२ करोड विनियोजन गरेको छ । बुटवलदेखि पोखरा जोड्ने सिद्धार्थ राजमार्गलाई डेडिकेटेड डवल लेनमा स्तरोन्नति गर्ने काम सुरु गर्ने र डुम्रे–बेंसिसहर–चामे सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको पौडेलले बताए ।
लुम्बिनीदेखि मुक्तिनाथसम्म पदमार्ग निर्माण सुरु गर्ने सरकारी घोषणा छ भने मुक्तिनाथमा थप पूर्वाधार निर्माण गर्ने जनाएको छ । मुस्ताङमा हाई अल्टिच्युड खेल मैदान निर्माण गर्ने घोषणा गरिएको छ ।
सरकारले नवलपुरमा पुर्वाधार निर्माण गर्न ८० करोड विनियोजन गरेको छ । नवलपुरकै धौवादी फलाम खानी सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्ने र गोरखकाली रबर उद्योगलाई सम्भाव्यता अध्ययन गरी सरकारी लगानी व्यवस्थापन गर्ने बजेटमा समेटिएको छ ।
बहुप्रतिक्षित बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना सार्वजनिक–निजी साझेदारी अवधारणामा निर्माण गर्ने र सरकारले गरेको लगानी सेयरमा परिणत गर्ने बजेटले सम्बोधन गरेको छ । तनहुँको तल्लो सेती आयोजना सरकारी लगानीमा निर्माण गर्ने घोषणा गरिएको छ भने उत्तर गंगा आयोजनामा लगानी ढाँचा तयार गरी निर्माण प्रक्रिया अघि सार्ने बताइएको छ ।
यता विवादित कालिगण्डकी तिनाउ नदी पथान्तरण आयोजनाको डीपीआर सकेर निर्माणको ढाँचा यकिन गर्ने अर्थमन्त्री पौडेलले बताए । उनकै अगुवाइमा यसअघि बुटवलमा आयोजनाको कार्यालय उद्घाटन भएको थियो । अदालतले पनि उक्त आयोजना अघि बढाउन क्लिन चिट दिएको छ । तर गण्डकी तर्फका जनप्रतिनिधि र नागरिकहरू उक्त आयोजनाको विरोधमा छन् ।
यसअघि नै डीपीआर बनाएर थन्किएको बीरेठाँटी–मुक्तिनाथ केवलकार निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति सरकारले लिएको छ ।
तनहुँको चुँदी रम्घामा भानु साहित्य उद्यान निर्माण गरिने बजेट भाषणमार्फत पौडेलले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण