शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय
बजेट

कुकुर र बिरालोले खाने वस्तुमा १० प्रतिशत अन्तःशुल्क वृद्धि

छ्याङमा भन्सार शुल्क दोब्बर वृद्धि
शुक्रबार, १६ जेठ २०८२, १४ : २१
शुक्रबार, १६ जेठ २०८२

समाचार सारांश

  • सरकारले कुकुर र बिरालोको खानामा १० प्रतिशत अन्तःशुल्क बढाएको छ ।
  • आगामी आर्थिक वर्षदेखि कुकुर र बिरालोको खाना आयात गर्दा २० प्रतिशत अन्तःशुल्क लाग्नेछ ।
  • सरकारले सिमेन्ट, भेप, इलेक्ट्रिक चुरोट र चिनीमा पनि कर परिवर्तन गरेको छ, जसमध्ये चिनीको भन्सार १५ प्रतिशतले घटाइएको छ।

काठमाडौँ । सरकारले घरपालुवा जनावर कुकुर र बिरालोले खाने बस्तुमा १० प्रतिशत अन्तःशुल्क वृद्धि गरेको छ । बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेट मार्फत ल्याएको आर्थिक ऐनमार्फत उक्त वस्तुमा अन्तःशुल्क वृद्धि गरेका हुन् । 

चालु आर्थिक वर्ष २०८१/८२ मा घरपालुवा जनावर कुकुर र बिरालोले खाने बस्तुमा १० प्रतिशत मात्रै अन्तःशुल्क लाग्ने गरेकोमा आगामी आर्थिक वर्षमा विदेशबाट आयात गर्दा २० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ । 

घरपालुवा जनावर कुकुर र बिरालोका लागि नेपालमा हरेक वर्ष ३ अर्ब रुपैयाँ भन्दा बढीको खाना आयात हुने गरेको छ ।

बजेटमा सिमेन्टमा ५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ । प्रति मेट्रिक टन २२० रुपैयाँ रहेको अन्तःशुल्क बढाएर अब ५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको हो । 

अब पोर्टल्याण्ड सिमेन्ट, आलुमिनस सिमेन्ट, स्लयाग सिमेन्ट, सुपर सल्फेट सिमेन्ट सबैमा ५ प्रतिशत अन्तःशुल्क लाग्ने छ । प्रति मेट्रिक टन २२० रुपैयाँ अन्तःशुल्क हुँदा प्रतिबोरा ११ रुपैयाँ रहेकोमा अब बढाएर ५ प्रतिशत अन्तःशुल्क लगाउने भएको हो ।

त्यस्तै भेप, इलेक्ट्रिक सिगरेट, हुक्का फ्लेभर पान मसला, माउथ फ्रेसनरमा पनि स्वास्थ्य जोखिम कर लगाएको छ । हालसम्म बिँडी, चुरोट, सिगारमा मात्र कर लाग्दै आएकामा इलेक्ट्रिक सिगरेट, भेप, खाने सुर्ती, खैनी, गुट्खा, पान मसला, सुगन्धित सुपारी, माउथ फ्रेसनर र हुक्का फ्लेवरमा यस्तो कर लाग्नेछ । 

सासले तान्ने उद्देश्यले विद्युतीय चार्ज गर्न मिल्ने वा नमिल्ने गरी तयार पारिएका हिटेड टोबाकोमा भन्सार महसुल प्रयोजनको लागि कायम भएको मूल्यको १० प्रतिशत कर लाग्ने भएको छ । 

त्यस्तै, चिनीको भन्सार १५ प्रतिशत बिन्दुले घटाएको छ । चिनीको भन्सार ३० प्रतिशत रहेकोमा अब १५ प्रतिशत मात्रै बनाएको हो । चिनीसँगै सखर र मिस्रीको भन्सार पनि ३० प्रतिशतबाट घटाएर १५ प्रतिशत नै बनाएको छ ।

सरकारले छ्याङ आयात गर्दा लाग्ने भन्सार शुल्क दोब्बर वृद्धि गरेको छ । चालु आर्थिक वर्षमा छ्याङ आयात गर्दा लाग्ने ४० प्रतिशत भन्सार शुल्क वृद्धि गरी ८० प्रतिशत पुर्‍याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप