आगामी बजेट अपेक्षाकृत छ, ९० प्रतिशत पुँजीगत खर्च हुनेगरी काम गर्नुपर्छ : अध्यक्ष सिंह

समाचार सारांश
- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आगामी आर्थिक वर्षको बजेट अपेक्षित रहेको बताए। उनले यसको कार्यान्वयनमा जोड दिए।
- उनले ८० प्रतिशत सम्पन्न आयोजनालाई प्राथमिकता दिनु र राष्ट्रिय गौरवका आयोजना २ वर्षभित्र सक्ने योजना सकारात्मक रहेको बताए।
- सार्वजनिक खरिद ऐनका कारण आयोजना सम्पन्न हुन नसकेको र रुग्ण आयोजनालाई बजेटले सम्बोधन नगरेकोमा उनले चिन्ता व्यक्त गरे।
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अपेक्षाकृत भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ नाफिजले शनिबार काठमाडौँमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘अघिल्लो बजेट कुनै एउटा समूहलाई लाभ दिने खालको आयो भनेर टिप्पणी हुने गर्थ्यो । तर यो बजेट त्यस्तो किसिमले आएको छैन,’ उनले भने, ‘यद्यपि, त्यसको कार्यान्वयनमा सफल हुनुपर्छ ।’ आगामी वर्ष कम्तीमा ९० प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने उनको भनाइ छ ।
साथै सरकारले ८० प्रतिशत सम्पन्न भएका आयोजनालाई प्राथमिकतामा राखेको र राष्ट्रिय गौरवका आयोजना २ वर्षभित्र सम्पन्न गर्ने गरी प्राथमिकतामा राख्नु सकारात्मक भएको बताए । निर्माण क्षेत्रका लागि केही राहतका कुराहरू पनि आएको उनले बताए ।
३ करोड भन्दा कमका आयोजना बनाउन नपाउने भनेको अवस्थामा यसले विकासमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ । तर सार्वजनिक खरिद ऐनमा भएको संशोधनले आयोजनाहरू सम्पन्न गर्न नसकिएकोले यसबारे सरकारले गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ छ ।
‘सार्वजनिक खरिद ऐन २०७४ मा संशोधन भएपछि कुनै पनि आयोजना सहज रूपमा सम्पन्न हुन सकेन,’ उनले भने, ‘यद्यपि, रुग्ण आयोजनालाई बजेटले सम्बोधन गर्न सकेको छैन ।’ रुग्ण आयोजनाहरूलाई नीति तथा कार्यक्रममा सम्बोधन गरे पनि बजेटमा त्यो आउन नसकेको उनको भनाइ छ । रुग्ण आयोजना सञ्चालनमा ल्याउन कर्मचारीहरूलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।
अहिले योजना आयोग र सरकारले सहकार्य गरेको अनुभूति भएको उनले बताए । निर्माण क्षेत्रका सुझावहरूलाई समेटेको भए लक्ष्य प्राप्त हुने र आम जनताले लाभ पाउने अवस्था रहने उनको भनाइ छ ।