आगामी आवको बजेटले लगानी प्रवर्द्धन गर्ने अपेक्षा छ : चेम्बर अध्यक्ष अग्रवाल

समाचार सारांश
- नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी आर्थिक वर्षको बजेट विकासमुखी र महत्त्वाकाङ्क्षी भएको बताए।
- अध्यक्ष अग्रवालले लगानी प्रवर्द्धन गर्ने बजेट, युवालाई सहुलियतपूर्ण ऋण र पर्यटन क्षेत्रका लागि राम्रो नीति आएको बताए।
- उनले निर्यात समस्या, राजस्व स्रोत र ठुला अनुदानमा कमी आउने विषयमा सुधार आवश्यक रहेको औंल्याए।
काठमाडौँ । नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष कमलेशकुमार अग्रवालले विषम परिस्थितिमा आएको आगामी आर्थिक वर्षको बजेट विकासमुखी र महत्त्वाकाङ्क्षी भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शनिबार काठमाडौँमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘आगामी आवको बजेट लगानी प्रवर्द्धन गर्ने खालको आएको छ,’ उनले भने, ‘आइटी र प्रविधिलाई ध्यानमा राखिएकोमा खुसी छु । तीन प्रतिशत ब्याजमा युवालाई २० लाख रुपैयाँसम्म ऋण दिने नीति स्वागतयोग्य भएको छ ।’
यो नीतिले बिदेसिने युवाको सङ्ख्यामा कमी हुने विश्वास लिइएको उनको भनाइ छ । यस्तै, पर्यटन क्षेत्रका लागि पनि बजेट राम्रो देखिएको उनले बताए । त्यसमा हवाई टिकटमा लाग्दै आएको कर हटाएको भए झन् राम्रो हुने बताउँदै यसमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
यस्तै, उनले चालु कर्जा उपलब्ध गरेकाले अर्थतन्त्रमा सुधार हुने विश्वास लिइएको बताए । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नदीजन्य उत्खननका विषयहरू पनि आएकोले यसमा निकै सहज हुनुपर्ने उनको भनाइ छ ।
भारततर्फ निर्यातमा पनि निकै समस्या भइरहेको बताउँदै उनले यसमा पनि सुधार गर्न आवश्यक रहेको बताए । यसैगरी राजश्वको स्रोतमा ध्यान दिन आवश्यक रहेका पनि उनले बताए ।
ठुला राष्ट्रबाट आउने अनुदानहरूमा कमी आउने देखिदा अर्थतन्त्रमा असर गर्ने पनि उनले बताए । यस्तै उनले व्यवसायमा सङ्कुचन भएको अवस्थामा पुनर्कर्जाका व्यवस्था गर्न आवश्यक रहेको बताउँदै उनले यसबारे मौद्रिक नीतिबाट सम्बोधन हुनुपर्ने बताए ।