आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

‘ब्रिटेन गट ट्यालेन्ट’ को फाइनलमा पुगेकी विनिताका लागि आज भोटिङ

शनिबार, १७ जेठ २०८२, १३ : ०१
शनिबार, १७ जेठ २०८२

समाचार सारांश

  • बेलायतमा आयोजना भएको 'ब्रिटेन गट ट्यालेन्ट'को फाइनलमा नेपाली मूलकी विनिता क्षेत्री पुगेकी छिन्।
  • फाइनलमा भोटिङका लागि बेलायती समयअनुसार बेलुका ७ देखि ९ बजेसम्म दुई घण्टा खुल्ला हुनेछ। विजेताले २ लाख ५० हजार पाउन्ड पुरस्कार पाउनेछन्।
  • भोटिङ आइटीभीको वेबसाइट र टेलिफोनमार्फत गर्न सकिनेछ, जसमा बेलायतको मोबाइल नम्बर आवश्यक पर्नेछ।

लन्डन । बेलायतबाट सञ्चालित विश्व प्रतिष्ठित रियालिटी शो ‘ब्रिटेन गट ट्यालेन्ट’को फाइनल राउन्ड पुगेकी भारतको आसाम घर भएकी नेपाली मूलकी विनिता क्षेत्रीको अन्तिम नतिजाको लागि आज साँझ भोटिङ लाइन खुला हुँदैछ । विनिता र उनका बाबु अमरले  बेलायतवासी नेपालीहरूलाई भिडियो सन्देश पठाउँदै उनको लागि भोटिङ गरिदिन अपिल गरेका छन् ।

विनितासँगै प्रतियोगिताको फाइनल पुगेका १० जना प्रतियोगीमध्येबाट एक जनालाई विजेता चयन गर्न आज (३१ मे) साँझ लन्डनमा फाइनल प्रतिस्पर्धा हुँदैछ। बेलायती समयअनुसार बेलुका ७ देखि ९ बजेसम्म मात्र दुई घण्टाका लागि पब्लिक भोटिङ खुला हुनेछ ।  २ घण्टाभित्र सबैभन्दा बढी भोट प्राप्त गर्नेलाई विजेता घोषणा गरिनेछ । विजेतालाई २ लाख ५० हजार पाउन्ड नगद पुरस्कार साथै अरू थुप्रै अवसर पनि प्रदान गरिनेछ ।

भोटिङका लागि आइटीभीकै वेबसाइट www.itv.com/vote मा गएर भोट गर्न सकिनेछ । भोट गर्नका लागि बेलायतको मोबाइल नम्बर अनिवार्य छ । आफ्नो मोबाइल नम्बर राखेर लग इन गरेपछि मात्रै सबै प्रतियोगीहरूको नाम रहेको लिस्टसम्म पुगिनेछ । र त्यही लिस्टबाट विनिता क्षेत्रीको नाम छनोट गरेर आफ्नो भोट दिन सकिनेछ। फाइनल शो लाइभ प्रसारण भएका बेला टिभी स्क्रिनमा सार्वजनिक गरिने टेलिफोन नम्बरमा सम्पर्क गरेर पनि भोट दिन सकिनेछ ।

एक भन्दा बढी प्रतियोगीले समान भोट प्राप्त गरेको अवस्थामा अन्तिम निर्णय लिने अधिकार निर्णायकहरुलाई जानेछ । निर्णायकहरूमा पनि मत बाझिए एक जना प्रमुख निर्णायकले रोजेको प्रतियोगीलाई विजेता घोषणा गरिनेछ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आइटीभी वान च्यानलबाट लाइभ प्रसारण हुनेछ । एउटा मोबाइल नम्बर राखेर लग इन गरेपछि बढीमा एउटै व्यक्तिलाई ५ वटासम्म भोट गर्न सकिनेछ ।

छोरीको प्रस्तुति हेर्न जाँदा उनका बाबु अमर क्षेत्री नेपाली ढाकाटोपी ढल्काएर ब्रिटेन गट ट्यालेन्टको मञ्चहरूमा पुग्ने गरेका छन् । भारतकी भए पनि जाति, भाषा, संस्कृतिमा भने विनितामा नेपालीपन देखिएको भन्दै प्रशंसा हुने गरेको छ ।

चार राउन्ड अनलाइन अडिसन भएपछि मात्र फिजिकल अडिसनका लागि छनोट भएकी विनिता गत जनवरी महिनामा बेलायतको ब्ल्याक पुलमा सम्पन्न अडिसनमा निर्णायहरुको मन जितेर अगाडि बढेकी थिइन् । सोही क्रममा गत शनिबारको सेमिफाइनल राउन्डमा समेत उनी  सबैलाई प्रभावित गर्दै फाइनलसम्म पुग्न सफल भएकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप