गाउँपालिकाको नामकरण गरिएको ताल नै सङ्कटमा

बर्दिया । बर्दियाको पर्यटकीय सम्भावनायुक्त बढैया ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ । यसको संरक्षणका लागि सरोकार भएकाहरूले ध्यान दिन सकेका छैनन्, जसको फाइदा उठाउँदै अतिक्रमण गर्दा तालको अस्तित्व नै सङ्कटमा पर्न थालेको स्थानीयको बुझाइ छ ।
बढैयाताल गाउँपालिका–५ मा अवस्थित यो ताल बर्दियाको पुराना र ठूला तालहरूमध्ये एक हो । वि.सं २०६५ मा नापी कार्यालय बर्दियाले गरेको सीमाङ्कनअनुसार १०७ बिघा चार कट्ठा १७.५ धुर क्षेत्रफलमा ताल फैलिएको छ । यही तालबाट गाउँपालिकाको नामकरण गरिएको हो । हाल सोही ताल सङ्कटमा पर्नु दुःखद भएको स्थानीय कर्णबहादुर थापाको भनाइ छ ।
गाउँपालिका–४ का पूर्ववडाध्यक्ष थापाका अनुसार यहाँ पछिल्ला छ/सात वर्षदेखि चराको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ । प्लास्टिक प्रदूषणसँगै लुकिछिपी गरिने चराचुरुङ्गीको सिकारले विदेशी चराहरूको आगमनमा कमी आएको छ ।
ताल वरपर प्लास्टिकका बोतल, सिसाका टुक्रा र अन्य फोहरजन्य सामग्री यत्रतत्र देखिन्छन् । एक समय सयौँ प्रजातिका चराचुरुङ्गीहरूको सुरक्षित बासस्थानका रूपमा चिनिने यो तालमा हाल साइबेरियादेखि आउने पाहुना चराहरू आउन छोडेका वडा नं ५ का पूर्ववडासदस्य रामकुमार विकले बताए ।
वडा नं ५ का अध्यक्ष तुलाराम चौधरी ताल वरपरको सार्वजनिक जमिन भूमाफियाले अतिक्रमण गर्न थालेका र यसविरुद्ध आवाज उठाउँदा आफूहरूलाई नै मुद्दा झेल्नुपरेको गुनासो गर्छन् । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लुम्बिनी प्रदेश सम्पर्क कार्यालय
नेपालगञ्ज, नापी कार्यालय र मालपोत कार्यालय बर्दियाले संयुक्त अनुगमन गर्दा दाबी गरिएको जग्गा ताल क्षेत्रमा नरहेको प्रमाणित भइसकेको छ’, उनले भने ।
वडाध्यक्ष चौधरीले तालको संरक्षण तथा प्रवर्द्धनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले स्पष्ट नीतिसहित काम गर्नुपर्ने बताए । ‘जुन तालको नामबाट गाउँपालिकाको नामकरण भएको छ, त्यही तालको संरक्षण गर्न नसकेको भनेर जनस्तरमा आलोचना भइरहेको छ ।
यो हामी सबैका लागि लाजमर्दो कुरा हो । अब गाउँपालिकाले नै संरक्षणका लागि पहल गर्नुपर्छ र यसमा अरू सबै सरोकार भएका निकायले सहयोग गरी पर्यापर्यटन विकासका लागि योजना अगाडि बढाउनुपर्छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परा धान्न पञ्चेबाजा बजाउँछन् पाल्पाका महिला
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा