बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सबै रोगको परीक्षण हुने वातावरण बनाउँदैछौँ : स्वास्थ्यमन्त्री पौडेल

आइतबार, १८ जेठ २०८२, १४ : ०६
आइतबार, १८ जेठ २०८२

समाचार सारांश

  • स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तार गरी सबै रोगको परीक्षण गर्ने बताए।
  • मन्त्री पौडेलले आफ्नो कार्यकालमा प्रयोगशालामा ५० प्रतिशत रोगको परीक्षण हुने अवस्था सिर्जना गरेको दाबी गरे, जसअघि २० प्रतिशत मात्रै हुने गरेको थियो।
  • उनले बिग्रिएका ५५ प्रतिशत उपकरण मर्मत गरी सञ्चालनमा ल्याइएको र अब मुलुक बाहिर पठाउनु नपर्ने गरी बजेट विनियोजन गरिएको जानकारी दिए।

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै रोगको परीक्षण गर्ने गरी क्षमता वृद्धिमा लागिरहेको बताएका छन् । नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित वृहत् स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले जनस्वास्थ्य प्रयोगशालामा आफू मन्त्री हुनु अगाडि २० प्रतिशत मात्रै परीक्षण हुने गरेको बताउँदै आफू मन्त्री बनेपछि ५० प्रतिशत रोगको परीक्षण हुने परिस्थिति बनेको दाबी गरे । उनले निजी अस्पतालहरूले पनि उक्त प्रयोगशालामै परीक्षण गर्ने वातावरण निर्माण भइरहेको बताए । 

स्वास्थ्य मन्त्री पौडेलले अब मुलुक बाहिर पठाउन नपर्ने गरी राष्ट्रिय जनसङ्ख्या प्रयोगशालामै सबै परीक्षण हुने व्यवस्था मिलाउन बजेट विनियोजन गरिएको जिकिर गरे । उनले बिग्रिएर फालिएका ५५ प्रतिशत उपकरणहरू राष्ट्रिय आविष्कार केन्द्रमा मर्मतपछि सञ्चालनमा आइरहेको जानकारी दिए। 

उनले भने, ‘हामीले राष्ट्रिय आविष्कार केन्द्रलाई बिग्रेका उपकरणहरू बनाउन लगायौँ । बिग्रियो भनेर फालिएका ५५ प्रतिशत उपकरणहरू बनेर काममा आइरहेको स्थिति छ । अहिले नेपालको राष्ट्रिय प्रयोगशाला, जहाँ म आउनुभन्दा अगाडी २० प्रतिशत मात्रै परीक्षण हुने गर्थ्यो । सबै बाहिर जान्थ्यो परीक्षणको लागि । अहिले त्यसले क्षमता अभिवृद्धि गरेर झन्डै ५० प्रतिशत नेपालको परीक्षण त्यहाँ हुने परिस्थिति बनेको छ । सरकारीको त अब करिब करिब त्यही नै हुन्छ, प्राइभेटले पनि त्यहाँ सम्झौता गर्नुपर्ने स्थिति हामीले बनाएका छौँ । अब बाहिरै जानै नपर्ने गरी केन्द्रीय प्रयोगशालामा सबै परीक्षण हुने व्यवस्था यो पटक बजेट ल्याएर हामीले गर्दै छौँ ।’

उनले पारदर्शी समाज निर्माण र सुशासन कायम गर्नको निम्ति पत्रकारिता जगतको उपस्थिति अनिवार्य रहेको बताउँदै यस जगतमा काम गर्नेहरूलाई उत्साहित बनाउन जरुरी रहेको बताए ।  –न्युज एजेन्सी नेपाल  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप