मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय
सन्दर्भ: विश्व वातावरण दिवस

कांग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिन तयार छ : देउवा

आइतबार, १८ जेठ २०८२, १५ : २९
आइतबार, १८ जेठ २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वातावरण तथा जलवायु परिवर्तन सरोकार सम्बन्धमा नेपाली कांग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिन तयार रहेको बताएका छन् ।

विश्व वातावरण दिवसको सन्दर्भमा पार्टीको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले आइतबार पार्टी कार्यालय सानेपामा गरेको कार्यक्रममा सभापति देउवाले राजनीतिक दलहरूलाई एउटै साझा मञ्चमा ल्याई संवाद, सहमति, समन्वय र सहकार्यका माध्यमबाट अघि बढ्ने वातावरण तयार गर्न आफू प्रतिबद्ध रहेको बताए । 

‘वातावरण तथा जलवायु परिवर्तन सरोकार सम्बन्धमा आएको चुनौतिहरूको समाधान गर्न ठूलो दलको हैसियतले नेपाली कांग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिन तयार छ,’ देउवाले भने, ‘सबै राजनीतिक दलहरूलाई एउटै साझा मञ्चमा ल्याई संवाद, सहमति, समन्वय र सहकार्यका माध्यमबाट अघि बढ्ने वातावरण तयार गर्न हामी प्रतिबद्ध छौँ । यसका लागि पार्टी सभापतिको हैसियतले म स्वयं नेतृत्व लिन तयार छु ।’

देउवाले जलवायु संकट समधानमा अगाडिको बाटो चुनौतीपूर्ण भएपनि समाधानको सम्भावनाले भरिएको छ । 

नेपालले सामुदायिक वन,नवीकरणीय ऊर्जा, विद्युतीय सवारी र स्थानीय स्तरमा गरिएका अनुकूलन अभ्यासहरूमार्फत जलवायु संकट समाधानमा योगदान दिँदै आएको बताउँदै नेपाल पीडित मात्र नभई समाधान दिन सक्ने देशको छवि निर्माण गरिरहेको प्रष्ट्याए । 

सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्षको रूपमा पुष्टि हुनु स्वयंमा गहिरिँदो जलवायु संकटको चेतावनी भएको बताउँदै उनले अब ढिलो नगरी जलवायु परिवर्तनलाई गम्भीर रूपमा लिएर विश्वले कार्बन उत्सर्जनमा तीव्र कटौती गर्न आवश्यक रहेको बताए । 

नेपालले जलवायु न्यायको लागि विश्व समुदाय समक्ष आफ्नो स्पष्ट धारणा दृढताका साथ निरन्तर राखिरहनु पर्ने देउवाले बताए । स्रोत र क्षमताको सीमितता बीच पनि नेपालले वातावरण तथा जलवायु परिवर्तनको समस्यासँग जुध्न सधैं अग्रसरता देखाउँदै आएको देउवाको भनाइ छ ।

सन् १९९२ मा युएनएफसीसीसीमा आवद्धता जनाउनुदेखि सन् २०१५ को पेरिस सम्झौतासम्म, नेपालले जलवायुका जोखिमसँग जुध्न अनुकूलनका प्रयासहरू र कार्वोन उत्सर्जन घटाउन न्यूनीकरणका क्षेत्रमा प्रतिबद्धता जनाउँदै देउवाले बताए ।

बेलायतको ग्लास्कोमा सम्पन्न कोप २६ मा नेपालले सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य घोषणा गर्दा आफूले नेतृत्व गरेको देउवाको भनाइ थियो । जलवायु परिवर्तनले हाम्रो अर्थतन्त्रका आधार स्तम्भहरू— कृषि, पर्यटन, जलबिद्युत जस्ता क्षेत्रहरूमा गम्भीर असर पुर्‍याएको छ । 

यसले आर्थिक तथा सामाजिक विभेद बढाउनुका साथै समग्र अर्थतन्त्रमा जोखिम बढाएको देउवाले बताए । पेट्रोलियम पदार्थको प्रयोग घटाउँदै स्वदेशमै उत्पादन भएको स्वच्छ विद्युत् प्रयोग बढाउनु अबको आवश्यकता रहेको भन्दै वातावरण सुधार मात्र होइन, व्यापार घाटा कम गरी अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने देउवाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप