च्याम्पियन बन्न पञ्जाबले १ सय ९१ रन बनाउनुपर्ने

समाचार सारांश
- आईपीएल २०२५ को फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किंग्सलाई जितका लागि १९१ रनको लक्ष्य दियो।
- बेंगलुरुका लागि विराट कोहलीले सर्वाधिक ४३ रन बनाए भने पञ्जाबका कायल जेमिसन र अर्शदीप सिंहले ३/३ विकेट लिए।
- दुवै टोलीले आईपीएलमा अहिलेसम्म उपाधि जितेका छैनन्, बेंगलुरु तीन पटक फाइनलमा पराजित भएको छ भने पञ्जाब सन् २०१४ मा फाइनलमा पुगेर हारेको थियो।
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को फाइनल खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किंग्स सामु जितका लागि १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा मंगलबार जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९० रन बनाएको हो ।
बेंगलुरुका लागि विराट कोहलीले ३५ बलमा सर्वाधिक ४३ रन जोडे । उनले यसक्रममा ३ चौका प्रहार गरे । कप्तान रजत पाटिदारले १६ बलको सामना गर्दे १ चौका र २ छक्का हिर्काउँदै २६ रन जोडे ।
मयंक अग्रवालले १८ बलमा २४ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे । लियाम लिभिङ स्टोनले १५ बलमा २५ रन जोडेर पभेलियन फर्किए । उनले २ छक्का हिराए ।
विकेट जितेश शर्माले १० बलमा २४ रनको महत्त्वपूर्ण इनिङ्स खेले भने रोमारियो शेफर्डले ९ बलमा १ चौका र १ छक्का हिर्काउँदै १७ रन जोडे । खेलको सुरुवातमा ओपनर फिल साल्टले ९ बलमा १६ रन बनाएका थिए ।
पञ्जाबका लागि कायल जेमिसनले ४ ओभर बलिङ गर्दै ४८ रन खर्चेर ३ विकेट लिए । अर्शदीप सिंहले पनि ३ विकेट हात पारे । अजमतुल्लाहा ओमरजाई, युजवेन्द्र चहल र विजयकुमार वैशाकले १–१ विकेट लिए ।
सन् २००८ मा आयोजित पहिलो संस्करणदेखि नै आईपीएलमा सहभागी हुँदै आए पनि यी दुवै टोलीले हालसम्म उपाधि जित्न सकेका छैनन् । बेंगलुरु आईपीएलमा तीनपटक फाइनलमा पुगेर पराजित भएको छ । बेंगलुरु सन् २००९ मा पहिलो पटक फाइनलमा पुगेको थियो ।
त्यतिबेला फाइनलमा बेंगलुरुलाई डेक्कन चार्जर्सले ६ रनले हराएको थियो । सन् २०११ को फाइनलमा बेंगलुरुलाई चेन्नईले ५८ रनले हराएको थियो । सन् २०१६ को फाइनलमा बेंगलुरुको टोली सनराइजर्स हैदराबादसँग आठ विकेट पराजित भएको थियो ।
पञ्जाब किङ्सको टोली सन् २००८ मा आयोजित पहिलो संस्करणदेखि नै आईपीएलमा सहभागी हुँदै आएको छ । तर, पञ्जाब किङ्सले पनि हालसम्म आईपीएलको उपाधि जित्न सकेको छैन ।
सन् २०१४ मा पञ्जाब किङ्स फाइनलसम्म पुगेको थियो । तर, उपाधि भने जित्न सकेन । उक्त संस्करणको फाइनलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्सलाई तीन विकेटले हराएको थियो ।
आईपीएलले तीन वर्षपछि नयाँ च्याम्पियन पाउन लागेको हो । यसअघि सन् २०२२ मा गुजरात टाइटन्स पहिलो पटक च्याम्पियन बनेको थियो । त्यतिबेला गुजरात टाइटन्सले फाइनलमा राजस्थान रोयल्सलाई सात विकेटले हराएको थियो ।
रोयल च्यालेन्जर्स बेंगलुरु लिग चरणको खेलमा अंक तालिकामा दोस्रो भएर प्ले–अफ चरणमा प्रवेश गरेको थियो । लिग चरणमा बेंगलुरुले १४ मध्ये नौ खेलमा जित र चार खेलमा हारको नतिजा निकाल्यो । १९ अंक बटुलेको बेंगलुरुको एक खेल भने अनिर्णीत रुपमा सकिएको थियो ।
त्यसपछि बेंगलुरुले पञ्जाब किङ्ससँग प्रतियोगिताको पहिलो क्वालिफायर खेलेको थियो । पहिलो क्वालिफायरमा पञ्जाबलाई आठ विकेटले हराउँदै बेंगलुरुको टोली सिधै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
पञ्जाब किङ्सले पनि जारी सिजनको आईपीएलको लिग चरणमा अब्बल प्रदर्शन गरेको थियो । पञ्जाबको टोली लिग चरणको तालिकामा १९ अंकसहित पहिलो हुँदै प्रतियोगिताको प्ले–अफ चरणमा प्रवेश गरेको हो । लिग चरणमा पञ्जाबले नौ खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको थियो ।
पञ्जाबको एक खेल भने अनिर्णीत रुपमा सकिएको थियो । पञ्जाब र बेंगलुरुको अंक बराबरी भए पनि नेट रन रेटमा पञ्जाबले बेंगलुरुलाई पछि पारेको थियो । पहिलो क्वालिफायर भिडन्तमा पञ्जाबको टोली बेंगलुरुसँग आठ विकेटले पराजित भएको थियो ।
त्यसपछि पञ्जाबले मुम्बई इन्डियन्ससँग दोस्रो क्वालिफायर खेल्नु परेको थियो । दोस्रो क्वालिफायर खेलमा पञ्जाबले मुम्बईलाई पाँच विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । त्यसैले पञ्जाबले फाइनलमा पुग्न बेंगलुरुभन्दा एक खेल बढी खेल्नु पर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यूजिल्यान्डमा तीन माओरी सांसद निलम्बित
-
सर्पले डसेर डिभिजन वन कार्यालयका कर्मचारीको मृत्यु
-
टीभीकी चर्चित 'बुहारी'ले गरिन् गुपचुप बिहे, छक्क परे फ्यानहरू
-
स्वर्गीय कलाकार गौतमको परिवारलाई ५० हजार सहयोग
-
माधव नेपालसहित यी हुन् अख्तियारले पतञ्जलीमा प्रतिवादी बनाएका ९३ जना (नामसहित)
-
सरोकारवालाहरूको एकै स्वरः पहलगाम घटनालाई नेपालले गम्भीर लिएन