प्रमुख पार्टीमा नेतृत्व परिवर्तन कत्तिको सम्भव ? के भन्छन् नेताहरू ?

समाचार सारांश
- कांग्रेस नेता गगन थापाले शीर्ष नेताहरूले विश्राम लिए समस्या समाधान हुने दाबी गरे, जसले नेतृत्वमा बारम्बार दोहोरिने अनुहारमाथि प्रश्न उठाए।
- लेखमा नेपाली कांग्रेस र नेकपा एमालेमा नयाँ नेतृत्वको लागि विधान अनुसार महाधिवेशन हुनुपर्ने र नेताहरूले आफ्नो तयारी गरिरहेको उल्लेख छ।
- पार्टी नेतृत्वमा पुग्न एजेण्डा, समीकरण र अंकगणित महत्वपूर्ण हुने र पुराना अनुहार परिवर्तनका लागि महाधिवेशन कुर्नुपर्ने कुरा उठाइएको छ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलका शीर्ष नेताहरूले विश्राम लिए अहिलेको असन्तुष्टि हट्ने दाबी गरे । जेठ १७ गते ललितपुरको एक कार्यक्रममा थापाले शीर्ष नेतृत्वले विश्राम लिएको भोलिपल्टदेखि नै समस्याको हल हुने दाबी गरेका हुन् । थापाको टिप्पणीबाट लोकतन्त्रको सबैभन्दा ठुलो समस्या नेतृत्वमा एउटै अनुहार बारम्बार दोहोरिनु प्रस्ट बुझ्न सकिन्छ ।
‘अहिलेको समस्या भनेको राजनीतिक दलहरूमा विरलै मात्र हुन्छ होला । यति लामो समयसम्म समाजले अस्वीकार गरेको एउटै भूमिकामा, एउटै अनुहारमा देखिरहेका छौँ । हाम्रो डेमोक्रेसीको सबैभन्दा ठुलो समस्या यही हो,’ उनले भनेका थिए, ‘आजको दिनबाट हामीले आफ्नो आफ्नो तहबाट विश्राम लिन्छौँ भन्नुभएको दिनबाट आजै बेलुकाबाट यो आन्दोलन झर्छ । भोलिबाट सबै घर फर्किन्छन् । केही पनि बाँकी रहँदैन ।’
थापा उनै व्यक्ति हुन्, २०७९ साल पुस ६ गते नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवासँग ३९ मतान्तरणले पराजित भएका थिए । संसदीय दलमा ८९ सांसदमध्ये देउवाले ६४ मत पाउँदा थापाले जम्मा २५ मत पाएका थिए ।
२०७८ मंसिर २९ गते सम्पन्न कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशनबाट देउवा दोस्रोपटक निर्वाचित भए । सभापति पदमा उनलाई नेता डा. शेखर कोइरालाले टक्कर दिएका थिए । तर कोइराला आठ सय ७८ मतान्तरले पराजित भए । देउवाले दुई हजार ७३३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कोइरालाले एक हजार ८५५ मत पाएका थिए ।
नयाँ नेतृत्वको लागि विधान अनुसार कांग्रेसको १५ औँ महाधिवेशन आगामी मंसिरमा हुनुपर्छ । तर क्रियाशील सदस्य नवीकरण र वितरण नसुल्झिएकाले निर्धारित समयमा महाधिवेशन हुनेमा कांग्रेसकै नेताहरू आश्वस्त देखिँदैनन् । विशेष परिस्थितिमा एकवर्ष थप गर्न पाउने सुविधा विधानमा भएकाले २०८३ मंसिरमा महाधिवेशन गर्नै पर्ने संवैधानिक बाध्यता छ । दुई कार्यकाल सभापति बन्न पाउने प्रावधान विधानमा भएकाले संशोधन नभएसम्म सभापतिमा देउवा दोहोरिने सम्भावना देखिँदैन । अपवाद बाहेक पार्टी अध्यक्ष जसले जित्छ उनै संसदीय दलको नेता बनेको अभ्यास नेपालमा छ ।
दलको नेता राज्यको कार्यकारी पद प्रधानमन्त्रीको समेत दाबेदार हुने भएकाले संसदीय दल पार्टीको नियन्त्रणमा रहने गरेको छ । यिनै परिदृष्यका कारण कांग्रेसभित्र गगन पुस्ताले नेतृत्व लिने सम्भावना देखिँदैन । थापाले भनेजस्तै पार्टी नेतृत्वमा रहेका पुराना अनुहार हटाउनका लागि आगामी १५ औँ महाधिवेशन कुर्नै पर्नेहुन्छ ।
पार्टी नेतृत्वमा पुग्न एजेण्डा, समीकरणको साथै अंकगणित महत्वपूर्ण हुने हुँदा त्यहि अनुसार तयारीमा थापा लाग्नुपर्ने हुन्छ । यद्यपि अहिलेकै पार्टी संरचनामा उनी नेतृत्वमा पुग्न सक्षम छन् ? यस सम्बन्धमा दुईवटा अर्थमा बुझ्नुपर्ने कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीको विश्लेषण छ ।
पहिलो कुरा प्रधानमन्त्री पाइने लोभमा महाधिवेशन आउन १५ महिना अगाडि नै चलखेल भयो भने नयाँ परिस्थिति हुन सक्ने उनी बताउँछन् । दोस्रो महाधिवेशनलाई प्रभावित पार्न संस्थापनसँग जोडिएका नेताहरू नै लागि परेमा परिणाम अर्कौ आउन सक्छ भन्ने सन्देशका रुपमा बुझ्नुपर्ने शिवाकोटीको भनाइ छ ।
महाधिवेशनलाई लिएर देउवा समूहका साथै शेखर समूहका नेताहरूले आ–आफ्ना तयारी गरिराखेका छन् । तर देउवाले आफ्नो उत्तराधिकारीका विषयमा अहिलेसम्म खुलिसकेका छैनन् ।
‘पहिलो कुरा १५ औँ महाधिवेशन अगाडि चलखेल भयो । प्रधानमन्त्री पाइन्छ भन्ने लोभमा अनेक खालका गतिविधि भएमा नयाँ परिस्थिति हुन सक्छ । ओलीपछि शेरबहादुरजी प्रधानमन्त्री हुनेछन् भनेर पहिले नै सुनिश्चित भएको अवस्थामा अस्वभाविक गतिविधि भए प्रधानमन्त्रीका सक्षम व्यक्ति पार्टीभित्र अरु पनि छन्,’ उनले भने, ‘दोस्रो कुरा महाधिवेशन प्रभावित पार्न खोजिएको संकेतको रुपमा पनि उनको अभिव्यक्ति आएको हुनसक्छ । निर्धारित समयमै महाधिवेशन हुन नदिने गरी संस्थापनसँग जोडिएका मान्छेले निष्क्रिय बसेको वा महाधिवेशन गर्न अनिच्छा देखाएको जस्तो देखिन्छ । यदि महाधिवेशलाई प्रभावित पार्न खोजिए परिस्थिति अर्कौ बन्न सक्छ भनेर सन्देश दिएको पनि हुन सक्छ ।’
महाधिवेशनलाई लिएर देउवा समूहका साथै शेखर समूहका नेताहरूले आ–आफ्ना तयारी गरिराखेका छन् । तर देउवाले आफ्नो उत्तराधिकारीका विषयमा अहिलेसम्म खुलिसकेका छैनन् ।
कांग्रेसमात्र होइन अहिले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेको २०७८ सालमा चितवनको सौराहमा भएको १० औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी ओलीविरुद्ध डा.भीम रावलले उम्मेदवारी दिए । महाधिवेशनबाट ओलीले एक हजार ८३७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी रावलले जम्मा २२३ मत पाए । अन्ततः २०८१ पुस ११ गते उनी पार्टीबाट निष्कासित भए ।
ओलीले अझै २०/२५ वर्ष आफू बिनाको एमाले कल्पना नगर्न नेताहरूलाई चेतावनी दिएका छन् । पार्टीको पार्टीको ११ औँ महाधिवेशनमा समेत अध्यक्ष पदमा उम्मेदवारी दिनेगरी ओलीले प्रथम विधान अधिवेशनबाट पारित गरेको ७० वर्षे उमेर हदलाई निलम्बन गरेको अर्थमा एमाले वृत्तमा विश्लेषण भइरहेको छ । तर युवा नेता तथा प्रतिनिधिसभाका मुख्य सचेतक महेश बर्तौला ओलीको विकल्प नभएको बताउँछन् । नेतृत्वको विषय उमेर भन्दापनि अनुभवले खारिने विषय भएकाले नकारात्मक रुपमा लिन नहुने उनले बताए ।
‘नेतृत्व उमेरभन्दा पनि अनुभवले लिने विषय हो । अध्यक्षले नेतृत्व लिनका लागि तयार रहनोस् भनेर नै सन्देश दिनुभएको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ,’ उनले भने ।
कांग्रेसमा जस्तै एमालेमा पनि हरेक पाँच/पाँच वर्षमा नयाँ नेतृत्वको लागि महाधिवेशन हुने गरेको छ । २०४६ को राजनीतिक परिवर्तनपछि एमालेमा मदनकुमार भण्डारी, माधवकुमार नेपाल, झलनाथ खनाल महासचिव/अध्यक्ष भइसकेका छन् । कांग्रेसमा कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाले नेतृत्व गरिसकेका छन् । यी दुई दलको तुलनामा नेकपा माओवादी केन्द्रमा फरक दृष्य देखिएको छ । २०४३ सालको सेक्टर काण्डपछि महामन्त्री भएका पुष्पकमल दहाल प्रचण्ड ३६ वर्ष अभिछिन्न रुपमा नेतृत्वमा छन् ।
२०४८ सालतिर विभिन्न स–साना कम्युनिस्ट घटकलाई मिलाएर एकता महाधिवेशन गरेका प्रचण्डले २०६९ सालसम्म विभिन्न बाहनामा महाधिवेशन टार्दै आए । पार्टीबाट मोहन बैद्य किरण समुह अलग भएपछि हेटौंडामा सातौं महाधिवेशन गर्यो । २०७८ पुसमा राष्ट्रिय सम्मेलनलाई अन्तिम समयमा आएर ८ औँ महाधिवेशनमा रुपान्तरण गरी सम्पन्न गरे । त्यतिबेला ६ महिनापछि विशेष महाधिवेशन गर्ने प्रतिबद्धता जनाएका प्रचण्डले नियमित महाधिवेशनको समय नजिकिँदासम्म मिति घोषणा हुन सकेको छैन । २०८० साल साउनमा सम्पन्न केन्द्रीय समिति बैठकमा उपमहासचिवद्वय वर्षमान पुन, जनार्दन शर्मा लगायत अधिकांशले नेतृत्वको विषय उठाएका थिए ।
गत वर्ष साउनको अन्तिम साता बसेको स्थायी समिति बैठकमा उपमहासचिव शर्माले पार्टी निर्माणको समस्या र समाधानको विषयमा १४ पृष्ठको फरक प्रस्ताव नै पेस गरेका थिए । नेतृत्व हस्तान्तरण वा पुस्तान्तरणको विषयमा तीन बुँदामा उल्लेख गरेका थिए । पार्टीभित्र निकै बहस र छलफलपछि गएको पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले जनताकेन्द्रित अभियान सञ्चालन गरेपछि महाधिवेशनको तयारी गर्ने निर्णय गर्यो । अब हुने नवौं महाधिवेशनले पनि नयाँ नेतृत्व आउनेमा शंका व्यक्त गर्छन् सचिव राम कार्की । बाहिर नेतृत्वको विषयमा हल्ला गरिएपनि भित्र त्यस्तो पहल नभएको उनको बुझाइ छ । विचारसहित नयाँ नेतृत्व आएमात्र समस्याको समाधान हुने कार्कीको विश्लेषण छ ।
‘विचार सहितको नयाँ नेतृत्व आएमा मात्र समस्या हल हुन्छ । यो उमेरले हुने कुरा होइन । १६ वर्ष पुरा भएपछि नागरिकता दिए जस्तो नेतृत्व दिने कुरा होइन । अहिलेकै पार्टी संरचनाबाट आगामी महाधिवेशनमा नयाँ नेतृत्व आउने सम्भावना म देख्दिन,’ उनले भने, ‘हुँदै नभएको त होइन विद्यार्थीबाट सुरु भएका छन् । वाइसीएलमा पनि होला । तर वैचारिक सहितको नेतृत्व आउने छाँटकाँट मैले कुनै पार्टीमा पनि देखेको छैन । बाहिरबाहिर हल्ला गरेका छन् । भित्र केही भएको छैन ।’
लामो समय एमालेमा सक्रिय राजनीति गरेर गतवर्ष नेकपा एकीकृत समाजवादीमा गएका महासचिव घनश्याम भुसाल संविधान बदलिने, कानुन बदलिने तर नेतृत्वको अनुहार र भूमिका नबदलिँदा समस्या देखिएको जिकिर गर्छन् । ज्ञानेन्द्र शाहप्रति चिन्तित हुनेभन्दा पनि गणतन्त्रवादी नेताहरूप्रति चिन्तित रहेको उनले बताए ।
एमालेको सौराह माहाधिवेशन नेतृत्वविरुद्ध उम्मेदवारी दिन तम्तयार भएका उनी एकीकृत समाजवादीको गतवर्ष आसरमा भएको १० औँ महाधिवेशनमा माधव नेपालविरुद्ध अध्यक्षमा उम्मेदवारी दिने आँट गरेनन् । अन्ततः महासचिवमै चित्त बुझाएका थिए । भुसालले दाबी गरे जस्तै राज्यको कार्यकारी प्रधानमन्त्री पदमा पटक/पटक देउवा, ओली र प्रचण्ड नै दोहोरिएका छन् ।
‘संविधान बदलिने, कानुन बदलिने, सबै कुरा बदलिने तर अनुहार र भूमिका नबदलिने । सिस्टमले अनुहार बदलिन्छ, फेरि शंकाको सुविधा दिन्छ । फेरि अनुहार बदलिन्छ फेरि शंकाको सुविधा दिन्छ,’ उनले भने, ‘ज्ञानेन्द्र शाहप्रति म त्यति चिन्तित छैन, त्यति म गणतन्त्रवादी नेतृत्वप्रति छु । अब हामी कहाँ नालायक भयौं भनेर गणतन्त्रवादीहरूले राष्ट्रिय सम्मेलन गरौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहसचिव भट्टराई तीन दिन अख्तियारमा उपस्थित, मन्त्रालयमा गर्छन् हाजिर
-
भारतको केन्द्रीय बैँकद्वारा अपेक्षाभन्दा बढी ब्याजदर कटौती
-
पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दा सम्मानपूर्वक निरुपण हुनुपर्छ : महामन्त्री थापा
-
तीन दिनदेखि भैरहवा भन्सारको सर्भर डाउन
-
रोयल च्यालेन्जर्स बेंगलुरुका मार्केटिङ प्रमुख निखिल पक्राउ
-
सांसदहरूले भने– नागरिकता विधेयकले विभेदको अन्त्य गर्नुपर्छ