शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘जन्ते बाख्रो’बाट फर्किएका आशिफ भन्छन् – मेरो क्यारेक्टरजस्तै छ फिल्म

बुधबार, २१ जेठ २०८२, १८ : ००
बुधबार, २१ जेठ २०८२

काठमाडौँ । कार्यक्रम होस्टको रूपमा चर्चित अभिनेता आशिफ शाह ‘जन्ते बाख्रो’ मार्फत केही समयको अन्तरालपछि फिल्ममा फर्किँदै छन् । ‘मिसन पैसा’मा सानो भूमिका निर्वाह गरेका उनले ‘लभ सासा’ र ‘दुई रुपैयाँ’मा मुख्य भूमिका निर्वाह गरेका थिए । यी फिल्ममा अभिनय चर्चा भए पनि ग्याप बसेका उनी ‘जन्ते बाख्रो’को कथा राम्रो लागेर अभिनय गरेको बताउँछन् । 

फिल्मको चरित्र आफ्नो स्वभावसँग मिल्दोजुल्दो भएकोले पनि अभिनय गरेको उनको भनाइ छ । ‘सिनेमालाई सिमोस सुनुवारले निर्देशन गर्दै हुनहुन्छ र बन्दै छ भन्ने मैले थाहा पाएको थिएँ । किनकि हाम्रो सर्कल लगभग एउटै छ,’ शाहले भने, ‘निर्देशकले मलाई सुहाउला भनेर ढुक्क भएर अफर गर्नुभएको रहेछ ।’ फिल्म अफरको समय आफू काठमाडौँ बाहिर भए पनि फोनमार्फत क्यारेक्टरबारे जानकारी दिएर फिल्मका लागि राजी भएको शाहको भनाइ छ । फिल्मको अफर भएपछि आशिफले उत्साहित भएको स्मरण गरे ।

विशेषतः फिल्ममा सौगात मल्ल छन् भन्ने कुराले आफू उत्साहित भएको उनले बताए । टेलिभिजनभन्दा बाहिर फिल्ममा पनि आफ्नो कमाल देखाउन चाहने बताएका उनले त्यसका लागि यो फिल्म उपयुक्त हुने तर्क गरे । फिल्मको सार्वजनिक गीत र ट्रेलरले पनि राम्रो प्रतिक्रिया पाइरहेको छ । 

‘म सबैसँग सहज रूपमा खुल्न सक्दिनँ, तर एउटा साथी सर्कल छ, जहाँ म खुल्न सक्छु । त्यही सर्कलमा निर्देशक सिमोश हुनुहुन्छ । उहाँले त्यसकारण पनि मलाई यो फिल्ममा अफर गरेको हुन सक्छ,’ आशिफले थपे, ‘फिल्ममार्फत मेरो एउटा फरक रूप दर्शकसम्म आउँदै छ ।’ 

सौगातसँग काम गर्दा अभिनयको नयाँ आयामसँग परिचित हुने मौका पाएको उनी धारणा राख्छन् । ‘मेरो पात्रको भावनालाई बाहिर ल्याउन पनि सौगातले मद्दत गरेका छन् । उनले सिकाएको शैलीले हामीलाई पात्रलाई जीवन्त बनाउन मद्दत गरेको छ,’ उनी भन्छन्, ‘यो फिल्मको काम गराई मेरा लागि अभिनय शिक्षाजस्तो पनि भयो ।’

सौगातबाट फिल्म अभिनयमा शिक्षित भएको महसुस गरेका उनले फिल्मको नाम ‘जन्ते बाख्रो’ भए पनि नयाँ पुस्ताको सोधखोज रहेको विषय भएको बताए । 

फिल्ममा उनी, सौगातका साथै गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकार छन् ।

सन्तोष गौतमले निर्माण गरेको फिल्म मुइन इन्टरटेनमेन्टद्वारा प्रस्तुत गरिएको हो । फिल्म शुक्रबारबाट प्रदर्शनमा आउँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप